फल्स बटम बनाई  लैजाँदै गरेको ९ सय २० के.जी. गाँजासहित दुई जना नियन्त्रणमा

फल्स बटम बनाई  लैजाँदै गरेको ९ सय २० के.जी. गाँजासहित दुई जना नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १, २०८०

मकवानपुर ।   भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव ९ सय २० के.जी. गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई
नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने अन्दाजी ४५ वर्षिय दुलारे यादव र ३६ वर्षिय योगेश वर्मा छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। १४ गण मकवानपुरले उनीहरुलाई मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बसपार्क स्थित
पूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

चितवनको खुरखुरेबाट बिरगंज तर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी.२१४५ नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा ड्राईभर साइडको भित्तामा
झण्डै दुई फिट चौडाई र ६ फिट लम्बाईको फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित गाँजा फेला पारेको हो । नियन्त्रणमा लिइएकाहरु सो
कन्टेनरको चालक तथा सहचालक रहेका छन् ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको छ ।