कोशीमा एमाले सरकार टिकाउन दल अस्वीकार गरेको एकीकृत समाजवादीबाट समर्थनको खोजी !

कोशीमा एमाले सरकार टिकाउन दल अस्वीकार गरेको एकीकृत समाजवादीबाट समर्थनको खोजी !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २, २०८०

कोशी प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धन सरकार ढाल्न न्वारान देखिको बल निकालेर लागेको एमाले अब आफ्नो पार्टीको सरकार जोगाउने कसरतमा जुटेको छ । कुनै पनि दलको एकल बहुमत नभएको कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको सरकारले विश्वासको मत नपाए पछि सर्वोच्चको परमादेशमा सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा सरकार बनेको थियो । 

प्रदेशसभाको बैठक बोलाएर बिरामीको बहाना बनाएर उपसभामुख अनुपस्थित र अन्य ८ जना एमाले र राप्रपाका सांसदहरुलाई पनि घर बिदा दिएर थापा नेतृत्वको सरकारलाई विश्वासको मत लिन अवरोध खडा गरेको एमाले आफ्नो सरकार टिकाउन अब अन्य दललाई फकाउन थालेको छ । सोही क्रममा एमाले स्थायी कमिटि सदस्य शेरधन राईले एकीकृत समाजवादीका सचिव राजेन्द्र राईसँग छलफल गरेका छन् ।

एमालेबाट विभाजित भएको एकीकृत समाजवादीलाई जन अनुमोदित भइसक्दा पनि राजनीतिक दलका रुपमा स्वीकार गर्न आनाकानी गरिरहेको एमालेले कोशीको सरकार जोगाउने प्रमुख विकल्पका रुपमा एकीकृत समाजवादीलाई देखेको छ । एकीकृत समाजवादीसँग कोशी प्रदेशमा ४ सांसद छन् । संविधानको धारा १६८ को उपधारा (३) अनुसार बनेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले असोज २० गतेभित्र विश्वासको मत लिइ सक्नु पर्ने संवैधानिक बाध्यता छ ।

तर एमालेसँग ४० र राप्रपाले साथ दिएको अवस्थामा ४६ सांसद मात्रै हुनेछन् । त्यसमा पनि सभामुख नभएका कारण उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्नुपर्ने छ । त्यस्तो अवस्थामा एमालेसँग राप्रपाको समेत साथ पाउँदा ४५ सांसद हुनेछन् । उसलाई विश्वासको मत लिन अझै २ सांसद अभाव देखिन्छ । त्यसैले एमालेले राप्रपासहित एकीकृत समाजवादीलाई साथमा लिन सकेमात्रै सरकार जोगिनेछ । अन्यथा विश्वासको मत नपाई कार्की नेतृत्वको सरकार दोस्रो पटक ढल्नेछ । 

एकीकृत समाजवादीका सचिव समेत रहेका राईसमक्ष एमाले स्थायी कमिटी सदस्य राईले कोशीमा एमाले, राप्रपा र एकीकृत समाजवादी मिलेर विश्वासको मत हासिल गर्ने र मुख्यमन्त्रीमा आलोपालो गर्ने वा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका दलहरु मिलेर सर्वदलीय सरकार बनाउने प्रस्ताव राखेका थिए । 

एमालेले आफ्नो सरकार ढल्नुभन्दा आफैंबाट विभाजित भएको एकीकृत समाजवादीको साथ लिएर भए पनि सरकार टिकाउने एमाले खेलले कोशीमा भने नयाँ तरंग सिर्जना गरेको छ । सरकारको स्थायित्वका विषयमा दुई पूर्व मुख्यमन्त्री राईद्वयको भेटले कुनै सार्थक निष्कर्ष भने निकाल्न  सकेन । एकीकृत समाजवादीका सचिव समेत रहेका राईसमक्ष एमाले स्थायी कमिटी सदस्य राईले कोशीमा एमाले, राप्रपा र एकीकृत समाजवादी मिलेर विश्वासको मत हासिल गर्ने र मुख्यमन्त्रीमा आलोपालो गर्ने वा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका दलहरु मिलेर सर्वदलीय सरकार बनाउने प्रस्ताव राखेका थिए । 

एकीकृत समाजवादीका नेता राईले भने एमालेको प्रस्ताव अस्वीकार गरेका छन् । उनले जालसाजीबाट यो सरकार बनेकाले विश्वासको मत दिन नसकिने र उपधारा ५ मा पुगेपछि भने छलफल गर्न सकिने जवाफ एमाले नेता शेरधन राईलाई दिएका छन् ।

केन्द्रदेखि प्रदेशमा समेत एउटा गठबन्धन रहेकाले कोशीमा मात्रै नयाँ गठबन्धन बनाउन सहज पनि देखिदैन । एमालेले विश्वासको मत पाउन पनि अहिले गठबन्धन भित्रकै दललाई आफूतिर तान्ने वा मत क्रस गराउन सक्नुपर्नेछ । त्यसो नभएमा सरकार गठन धारा १६८ को उपधारा ५ मा पुग्नेछ । जसमा बहुमत जुटाउन सक्ने कुनै पनि सांसदको नेतृत्वमा सरकार बन्न सक्छ । उपधारा ५ मा पनि दलहरुबीच सर्वदलीय सरकार बनाउने, आलोपालो गर्ने नै विकल्प हुन् । यो उपधारा अनुसार पनि सरकारले विश्वासको मत पाउन नसके कोशी प्रदेशमा  मध्यावधि चुनावमा जानबाट रोक्न कठिन अवस्था सृजना हुँदै गएको छ ।