बिमस्टेकलाई सक्रिय बनाउने रणनीति: भारतकाे पाकिस्तानसँग बढ्दो दुश्मनीका कारण सुस्ताउँदै सार्क

बिमस्टेकलाई सक्रिय बनाउने रणनीति: भारतकाे पाकिस्तानसँग बढ्दो दुश्मनीका कारण सुस्ताउँदै सार्क

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्र मन्त्रीहरुको बैठक यसपटक पनि नहुने भएको छ ।

नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि लामो समयदेखि सार्कलाई क्रियाशील बनाउने विषयमा नेपालको निर्णायक पहल हुन सकेको छैन ।

सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत पछिल्लो समयमा सार्कलाई निष्कृय पारेर बिमस्टेकलाई सक्रिय बनाउने रणनीतिमा देखिन्छ । बिमस्टेकलाई बढी महत्व दिनुका पछि त्यो संगठनमा पाकिस्तान छैन ।

भारत अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानलाई निषेध गर्न चाहन्छ । त्यसो त भारत सार्कको स्थापनाकालमा नै पनि यो संगठन प्रति उति धेरै उत्साहित र समर्पित थिएन । तर दक्षिण एसियाली राष्ट्रहरुको संगठन बन्दा भारत सामेल नहुने हो भने सार्कमा आबद्ध देशहरुबाट घेरिने भएका कारण भारत यो संगठनमा सामेल हुन बाध्य भएको थियो । तर पछिल्लो समयमा पाकिस्तानसँगको बढ्दो दुश्मनी पूर्ण सम्बन्धको मारमा सार्क परेको छ । सार्कमा ८ सदस्य राष्ट्र छन् । 

सार्कका कुनै पनि बैठक बस्नका लागि सबै सदस्य राष्ट्रको अनिवार्य उपस्थिति हुनु आवश्यक छ । तर यसपटक पछि सार्कका केही देशले परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको परराष्ट्रमन्त्री एनपी साउदले जनाएका छन् । सन् २०१४ मा नेपालमा १८औं सार्क शिखर सम्मेलन भएको थियो । त्यसयता सार्कको शिखर सम्मेलन रोकिँदा नेतृत्व हस्तान्तरण समेत हुन सकेको छैन । 

नेपालपछि १९औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुनुपर्ने थियो । तर सन् २०१६ मा जम्मु काश्मीरको उरीमा भारतीय सेनामाथि भएको विद्रोहीको हमलामा पाकिस्तानलाई दोष लगाउँदै भारतले सार्क शिखर सम्मेलनमा सहभागी हुन अस्वीकार गरेको थियो । भारतसँगै भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सले सार्क शिखर सम्मेलनमा नजाने घोषणा गरेपछि पाकिस्तानमा हुनुपर्ने शिखर सम्मेलन रोकियो । त्यसयता सार्क करिब करिब निष्प्रभावी बनेको अवस्था छ । 

सार्क सुस्ताउँदै जाँदा सार्कका तीन सदस्य राष्ट्रहरु पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान नरहेको दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन बिमस्टेक सक्रिय बन्दै गएको छ । बिमस्टेकको बडापत्रलाई सदस्य देशहरुले अनुमोदन गरिरहेका छन् । 

यसअघि सन् २०१९ राष्ट्रसंघको महासभाका क्रममा सार्कका मन्त्रीहरूको बैठक भएको थियो । त्यसपछि कोभिड महामारीको बहानामा बैठक भएको छैन । अन्य कारणलाई सार्कको गतिविधि ठप्प हुने कारकका रुपमा मानिए पनि भारत र पाकिस्तानबीचको असमझदारीका सार्क निष्क्रिय बन्नुको मुख्य कारण हो । कोभिड महामारीका समयमा सार्कमार्फत् भारतले आयोजना गरेको सरकार प्रमुखस्तरीय भर्चूअल बैठकमा पाकिस्तानले पनि प्रधानमन्त्रीका सल्लाहकारलाई सहभागी गराएको थियो ।

एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा आपसी हितमा आधारित हुने, सहयोग दुईपक्षीय तथा बहुपक्षीय सहयोगको बदलामा नभई त्यसको पुरकको रूपमा हुने, यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय दायित्व विपरित नहुने र यस्तो सहयोग खराब नियतले नगर्ने सार्कको सिद्धान्त हो । तर साएका यी सिद्धान्तलाई पूर्णतः बेवास्ता गर्दै भारत–पाकिस्तानबीचको तनावले सार्कलाई निष्प्रभावी बनाउँदै लगेको छ । 

विश्वमा एउटै अन्तर्राष्ट्रिय संगठनमा रहेका दलहरुबीच मतभेद प्रशस्त हुन्छन् । तर उनीहरु अन्तर्राष्ट्रिय संस्थाका बारेमा एक ठाउँमा उभिने गर्छन् । तर सार्क पटक पटक भारत र पाकिस्तानबीचको तनावको सिकार बन्दै आएको छ । पछिल्लो समयमा त सार्क करिब निष्क्रिय जस्तै बनेको छ । सार्कको अध्यक्षका हैसियतले सार्क राष्ट्रहरूका परराष्ट्रमन्त्री स्तरीय बैठकका लागि नेपालले प्रयास यसपटक पनि असफल भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री साउदसहितको टोली अमेरिकामा छ । सोही क्रममा सार्कका परराष्ट्रमन्त्रीहरुको बैठक राख्ने कोशिस भएको हो । तर यसपटक पनि प्रयास सफल नहुने देखिएको हो । यसले दक्षिण एसियाली राष्ट्रहरुको साझा संगठन निष्क्रिय बन्दा यसले गर्ने साझा कार्यक्रमहरु पनि प्रभावित बनेका छन् । 

सार्कको बडापत्र अनुसार यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीव्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमान साथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु, देशहरूबीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्नु, आपसी विश्वास, एक अर्काका समस्याहरूप्रति समझदारी बढाउनु, आर्थिक, सांस्कृतिक, प्राविधिक, समाजिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहयोग र आपसी सहायता प्रबद्र्धन गर्नु जस्ता साझा उद्देश्यले सार्कको स्थापना भएको हो । 
संगठनको ढाँचाभित्र गरिने सहयोग एक अर्काको सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा आपसी हितमा आधारित हुने, सहयोग दुईपक्षीय तथा बहुपक्षीय सहयोगको बदलामा नभई त्यसको पुरकको रूपमा हुने, यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय दायित्व विपरित नहुने र यस्तो सहयोग खराब नियतले नगर्ने सार्कको सिद्धान्त हो । तर साएका यी सिद्धान्तलाई पूर्णतः बेवास्ता गर्दै भारत–पाकिस्तानबीचको तनावले सार्कलाई निष्प्रभावी बनाउँदै लगेको छ ।