पर्यटन दिवसको अवसर पारेर १०० जना ‘राइडर’ निस्किँदैछन् ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’

पर्यटन दिवसको अवसर पारेर १०० जना ‘राइडर’ निस्किँदैछन् ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन ४, २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुने भएको छ ।

नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटीपी मल्टिमिडिया ग्रुपले  एक्सपल्स राइडर्स क्लबसँग मिलेर पहिलोपटक ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ आयोजना गरेको हो । बाइक टूरको सह–आयोजकमा मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडिया छन् ।

नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एफएनसीसीआई लगायत संघ संस्थासँगको समन्वय तथा सहकार्यमा पत्रकार, कलाकार, साहित्यकार, बाइकरसहित १०० जनाको राइडर्स टिमले काठमाडौँ–हेटौंडा–चितवन–लुम्बिनी–पाल्पा–पोखरा रुटमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ गर्न लागिएको हो ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टूर सफलतापूर्वक सम्पन्न गरेको एनटीपी मल्टिमिडिया ग्रुपले यसपटक कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्ने उद्धेश्यले  काठमाडौँ–चितवन–लुम्बिनी–पोखरालाई केन्द्रमा राखेर १०० जना राइडर्ससहितको गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको संयोजक विष्णु विवेकले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको राइडर्स टिमसहित हामी पत्रकार, कलाकार, केही साहित्यकार र बाइकर मिलेर गोल्डेन ट्रयाङ्गल बाइक टूर गर्न लागेका हौँ’ उनले भने, ‘यसले नेपालमा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बाइक टूरिङ र त्यसबाट नेपालका विविध पर्यटकीय गन्तव्य एक्सप्लोर तथा प्रवद्र्धन गर्न सहयोग पुग्छ । यसपटक हामी गोल्डेन ट्रयाङ्गलमा फोकस छौँ ।’

अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन सेटेम्बर २७ अर्थात असोज १० गतेदेखि सुरु हुने बाइक टूरको टिम पहिलो दिन चित्लाङ, दामन हुँदै पर्सा राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि विरगञ्ज पुग्नेछ । सोही दिन निकुञ्ज परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर पर्सा निकुञ्जको भ्रमण तथा पत्रकार, कलाकार, साहित्यकार र राइडर्सले पर्यटन प्रवद्र्धन गर्नेछ ।

यसका लागि नाट्टा मधेस प्रदेश, भरतपुर महानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय तथा सहकार्य भइरहेको छ ।

दोस्रो दिन असोज ११ गते पर्सादेखि हेटौंडा, सौराहा हुँदै राइडर्सको टिम भरतपुर पुग्नेछ । भरतपुर महानगरपालिकाको ‘भिजिट भरतपुर २०२४’ भ्रमण वर्ष कार्यक्रमलाई सहयोग तथा प्रवद्र्धन गर्न १०० जनाको राइडर्स टिमले नारायणी किनारमा ‘बीच क्रिकेट’ पनि खेल्नेछ । भरतपुरमा मेयर रेणु दाहाल लगायत सरोकारवालासँग अन्तरक्रिया गर्नेछ । 

तेस्रो दिन असोज १२ गते राइडर्स टिम लुम्बिनी पुगेर शान्तिदीप प्रज्ज्वलन गर्नेछ । त्यसको भोलिपल्ट ऐतिहासिक जितपुर गढी किल्ला पुगेर त्यसको प्रवद्र्धन गर्नेछ । यसका लागि नाट्टा लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका र लुम्बिनी विकास कोषसँग सहकार्य तथा समन्वय भइरहेको संयोजक विवेकले जानकारी दिए ।

चौथो दिन असोज १३ गते राइडर्स टिम पाल्पा रानीमहल पुग्नेछ । रानीमहलको पर्यटन प्रवद्र्धन तथा कार्यक्रमका लागि नाट्टा पाल्पा च्याप्टरको समन्वय तथा तानसेन नगरपालिकासँग सहकार्य हुनेछ । रानीमहलमा पर्यटन प्रवद्र्धनका साथै कालीगण्डकी किनारमा अन्तरक्रिया कार्यक्रमका साथै भलिबल र डोरी तान्ने खेल अर्थात ‘टग अफ वार’ खेल पनि हुनेछ ।

यस्तै पाँचौ दिन १०० जनाको राइडर्स टिम पोखरा पुग्नेछ । पोखरामा आउँदो मंसिरमा हुने नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको तयारी तथा ब्राण्डिङका लागि बाइक टूर टिमले लेकसाइडमा समापन कार्यक्रम गर्नेछ ।

यसका लागि पोखरामा पर्यटन महिला व्यवसायी संघ, टेवान र नाट्टा गण्डकी प्रदेश लगायतका संघ संस्थासँग सहकार्य हुनेछ । पोखरामा फेवातालसँगै बेगनासताल र रुपातालको पनि पर्यटन प्रवद्र्धन गरेर राइडर्स टिम असोज १५ गते काठमाडौँ फर्किनेछ ।