आठौँ संविधान दिवस : जन्मदाताको अभाव र रिक्ततै रिक्तता

आठौँ  संविधान दिवस : जन्मदाताको अभाव र  रिक्ततै रिक्तता

रत्न बहादुर रोकाय (आर.सी.)  |  दृष्टिकोण  |  आश्विन ७, २०८०

नेपालको संबिधान २०७२ साल असोज ३ गते जारी भयो । जुन समयमा संबिधान सभाका अध्यक्ष कानुनका ज्ञाता दिवंगत स्वर्गीय सुवास चन्द्र नेम्वाङ हुनुहुन्थ्यो । नेपालको संबिधान २०७२ बिगतका संबिधान हरु भन्दा  फरक भएको कुरा सर्वविदितै छ ।

यो संबिधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्नको लागी संबिधान सभाबाट जारी गरिएको संबिधान हो । यो संबिधान निर्माणका नायकको रुपमा दिवंगत नेता सुवास चन्द्र नेम्वाङलाई लिन्छ । जसको अनुपस्थितिमा असोज ३ गते संबिधान दिवस मनाई रहँदा एक प्रकारको रिक्तताको अनुभुति भएकै छ ।

देशको मुल कानुन संबिधानको पिताको आकस्मिक र अपत्यारिलो अवसानले आज देश नै शोकमा डुबेको छ । जहाँ–जहाँ संबिधान दिवसको उपलक्ष्यमा कार्यक्रमहरु गरिए त्यहाँ–त्यहाँ उहाँको अनुपस्थिति र रित्तताको अनुभूति गरियो । पटक–पटक प्रतिनिधि सभाको सभामुख भएर पनि र्नििर्बबादित भएका र जन जनको मन मनमा सुवास छरेर नाम जस्तै कामले परिचित जनताको प्रिय नेता संबिधान सभाका अध्यक्षको अनुपस्थितिले रिक्तता महशुश  भयो । अब सदाको लागी नै हुने भयो तर उहाँको मृत्युको घाउको खाटा नै नपुरिएको यो परिस्थितिमा यो बर्षको संबिधान दिवसमा उहाँको सारै ठूलो रिक्तता देखियो ।

राष्ट्रहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानीबाट सामन्ती, निरंकुश र केन्द्रिकृत राज्य ब्यवस्थाले सृजना गरेका बिबिध प्रकारका बिभेद र उत्पीडनको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको स्थापना भयो । नेपालको संबिधान २०७२ को प्रमाणितकर्ता, संविधानका ज्ञाता, नेपाली राजनीतिक आकाशको साझा चन्द्रमाको छबि बनाइसकेको संबिधान सभाका अध्यक्षको मुख्य अग्रसरतामा जारी भयो ।

नेपाली राजनीतिमा देखिएको राजनीतिक दुष्चक्रबाट नेपाली समाजलाई बाहिर निकाली नेपाल र नेपालीको उन्नती र प्रगतिको लागी नेपालको संबिधान २०७२ जारी भएको हो । जसमा दिवंगत संबिधान सभाका अध्यक्ष नेम्वाङको असाधारण भूमिका रहेको सर्वविदितै छ । उहाँको अकल्पनीय र असामयिक निधनले राष्ट्रले नै ठुलो रिक्तताको अनुभुती गरि राखेको छ र गरि राख्ने छ।

उहाँका अनुकरणीय गुणहरूलाई अनुकरण गर्दै उहाँका सपनाहरूलाई पुरा गर्ने अठोट गर्यौ भने र उहाँको अनुपस्थितिमा देखिएको रिक्ततालाई पूर्ति गर्ने अठोट गर्यौ भने मात्र उहाँ प्रतिको उच्च सम्मान हुनेछ । आफ्नो हरेक उपस्थितिमा मिठो सुवास छर्दै उदाउने चन्द आज अकल्पनीय र आकस्मिक रुपमा  अस्ताउन पुगेको छ तर सुवास छरिएकै छ र प्रकाश देखिएकै छ ।

यही संबिधानको छत्र छायामा रमाइरहेका हामी समग्र नेपालीहरुले न्यायमूर्तिले गुमाएको नमिठो अनुभुति गरेका छौ । संबिधान दिवसको पेरिफेरीमा सदैब मुस्कुराउँदै आफ्नो नाम झै सबैतिर सुवास छर्ने अलबिदा संबिधान सभाका अध्यक्ष स्वर्गीय नेम्वाङको अनुपस्थितिमा यो बर्ष उहाँको निर्जिब फोटोमा पुष्प गुच्छा चढाउँदै समवेदनाको घडीमा श्रद्धाका केही नमिठा शब्दहरु ब्यक्त गर्न विवश र बाध्य छौ । नेपालको संबिधान २०७२ ले आफ्नो आठौँ जन्मोत्सव गरिरहदा बिगतका वर्षहरु जस्तो हर्सोल्लासको कुनै अनुभुति गरेन किनभने उसले आफ्नो जन्मोत्सवको आठ दिन अघि मात्र आफ्नो जन्म दातालाई गुमाएको पीडादायक अवस्था छ । 

नेपालको राष्ट्रिय राजनीतिमा समन्वयकर्ताको भूमिकामा देखिने स्वर्गीय नेता नेम्वाङले अत्यन्तै कठिन परिस्थितिमा पनि नेपालको संबिधान २०७२ लाई निर्विवाबादित रुपमा घोषणा गर्ने बाताबरण सिर्जना गर्नु भएको थियो । जसले गर्दा पनि होला उहाँको अवसान पछि आफुलाई अब्बल साहित्यकार र अभियन्ता भन्दै हिड्ने तारा बराल अनि खगेन्द्र गिरी कोपिला जस्ता पागल मनोबृति भएका समाज भँडुवा बाहेक समग्र देशवासीले श्रद्धाले शिर निहुराएर आफ्ना नयन भरी आँसु टिलपिल पार्दै उहाँलाई बिदाइ गरे  अर्थात गर्न बाध्य भए ।

सबैतिरबाट स्वतस्फूर्त रुपमा देखिएको उहाँ प्रतिको यो माया र सद्भाव उहाँको कार्यशैली, क्षमता, कार्यकुशलता, जिम्मेवारी पन, भद्र ब्यवहार साथै समन्वयकारी भुमिकाको परिणाम नै हो । तत्कालिन समयमा बिभिन्न ध्रुवतिर फर्किएर बिभिन्न बिचार धारा बोकेर फरक–फरक चाहना सहित आवाज उठाइरहेका नेपालका बिभिन्न राजनीतिक दल र दलका नेताहरुलाई एउटै मुख बनाएर संबिधान घोषणा गर्नु भनेको सामान्य कुरा थिएन । जसरी गायक शिशिर योगीले आफ्नो गीत मार्फत खोजिरहेका छन् 'छाडेर काम सारा एक काम रोजिरहेछु /यो देशमा एउटा मानिस खोजि रहेछु' ।

संबिधान सभाका असहमतिका दर्जनौ बुँदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने संयम र धैर्यताका धनी नेम्वाङको बिचार र शैलीका कारणले नै संबिधान निर्माण भएको कुरा स्पष्ट छ । एमालेको नेता भएकोले एमालेबाट सभामुख र संबिधान सभाको अध्यक्ष भए पनि उहाँले संसदीय मर्यादा र शैलीलाई कहिल्यै नकुल्चेको गौरवपूर्ण ईतिहास हाम्रो सामु उभिएको छ । यही गौरव गाथाका अनि गौरवपूर्ण इतिहासले आज संबिधान दिवसको पेरिफरीमा उहँको रिक्तताको अनुभुति भइराखेको छ ।

उहाँको सार्थक, कुशल बहस मार्फत प्रभावकारी नेतृत्व गर्दै चित्तबुझ्दो उपाय खोज्न सक्ने अद्भुत क्षमताको कारणले नै संबिधान जारी भएको हो । उहाँमा भएको सुक्ष्म व्यवस्थापकीय कौशल नभएको भए शायद नेपालको संबिधान २०७२ जारी नहुन पनि सक्थ्यो । उहाँ ब्यक्ति एक, गुण अनेकन  कारणले नै आज उहाँको अनुपस्थितिमा ठुलो रिक्तताको अनुभुति गरिएको छ ।

उहाँको साझा ब्यक्तित्व र समन्वयकारी भुमिकाले होला आफ्नो निर्वाचन क्षेत्रबाट कुनै पनि पराजयको अनुभव नै नगरेर नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा र संबिधान सभाको निर्वाचनमा गरी पाँचौ पटक सम्म निर्वाचित हुनुभएको थियो । यो भनेको जनता प्रतिको उहाँको सच्चाइको परिणाम हो जसका कारण उहाँको यात्रा आफ्नो जिवन कालसम्म अपराजित नै रह्यो । त्यति मात्र नभएर उहाँले  पटक पटक गरेर सभामुख र संबिधान सभाको अध्यक्षको रुपमा पाँच कार्यकाल कुशलता पूर्वक पुरा गरिसक्नुभएको थियो । आफ्नो पार्टीका बिभिन्न तहमा काम गर्दै शिर्ष नेतृत्व सम्म पुग्न सफल नेम्वाङ पार्टीको उपाध्यक्ष अनि संसदिय दलको उपनेताको जिम्मेवारी सम्हाली राखेको बेलामा नै सबैतिर सुवास छर्दै २०८० साल भाद्र २६ गते बिहान करिब १ बजेतिर सदा सदाको लागी अस्ताउनुभयो ।

संबिधान दिवस आफैमा संबिधानको जन्मदिन हो जुन नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको गौरवको दिन हो । यो दिनलाई प्रत्येक बर्ष राष्ट्रिय दिवसको रुपमा हर्षोल्लास पुर्वक मनाउने गरिन्छ तर यो बर्षको संबिधान दिवसको दिनमा एक प्रकारको सन्नाटा र रिक्तता महशुस भयो  । जसरी एउटा बच्चा जन्मिन्छ, हुर्कदै जान्छ र हुर्किदै जाँदा प्रत्येक बर्ष उसले आफ्नो जन्मदाताको उपस्थितिमा हर्सोल्लासका साथ जन्मदिन मनाउन चाहन्छ र मनाउँछ ।

जब आफ्नो जन्म दाता नै जन्मदिनमा अनुपस्थित हुन्छ तब बच्चाले रिक्तताको अनुभुति गर्छ र कुनै प्रकारको हर्षोल्लासको अनुभुति गर्न सक्दैन । त्यसरी नै नेपालको संबिधान २०७२ का जन्म दाता संबिधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको अवसान पछि आठ बर्षको संबैधानिक बच्चाले आफ्नो जन्म दाताको अनुपस्थितिमा आफ्नो आठौं जन्मोत्सवमा कुनै प्रकारको हर्साेल्लासको अनुभुति गरेन । बास्तबमा नेपालको संबिधान २०७२ बच्चा नै छ, हुर्किने क्रममै छ र भर्खर आठौ बसन्त पार गर्दै छ । यो संबिधान लाई भ्रुण मै हत्या गर्ने प्रयास पनि नगरिएको होईन तर यसलाई जन्म दिनको लागी दिवंगत सुवास चन्द्र नेम्वाङले सामान्य खालको पिडा भोग्नुपरेन ।

हजारौ पिडा सहेर पनि संविधानलाई जन्म दिई नै छाड्नुभयो तर दुर्भाग्य आज संबिधान दिवसको समिपमा उहाँको देहावसान भयो । नेम्वाङको साझा ब्यक्तित्व, समन्वयकारी भुमिका र उहाँमा भएको कानुनी र संबैधानिक बिज्ञताको कारणले संबिधानको स्थापना भएकौ हो । तत्कालिन समयमा देखिएका आन्तरिक तथा बाहृ चलखेल निस्तेज पार्दै संबिधान जारी गर्नु सामान्य कुरा थिएन तर एउटा सबल र सक्षम नेतृत्वकर्ता, संबिधानबिद एवं संबिधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको समन्वयकारी भुमिकाको कारणले नेपालको संबिधान २०७२ जारी भएरै छाड्यो । उहाँले हरेक प्रकारका प्रतिकूलतालाई अनुकुलतामा बदलेर सचेतना पुर्बक चाल्नु भएको कदम कै कारणले नै संबिधान जारी भयो । परिणाम स्वरुप आज हामी नेपाली शिर ठाडो पार्दै स्वतन्त्र पुर्बक बाँच्न पाइरहेका छौ तर पनि संबिधानको परिकल्पनाकार र साक्षात्कार जन्म दाता दिवंगत नेम्वाङको अनुपस्थितिले अन्त्यन्तै ठुलो रिक्तता अनुभूति भएको छ ।

वास्तवमा नेपालको संबिधान २०७२ लोकतन्त्र र समाबेसी चरित्रमा आधारित संबिधान हो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यवस्थाका माध्यामबाट राज्यमा ब्याप्त शोशण,उत्पीडन,अन्याय र अत्याचारको अन्त्य गर्दै सम्पुर्ण नेपाली जनतालाई समान तरिकाले अधिकारको सुनिश्चितता गर्नका लागी यो संबिधानको स्थापना भएको हो । यो संबिधान जारी गर्ने नायकको रुपमा संबिधान सभाका अध्यक्ष दिवंगत सुवास लाई लिइन्छ जसले हरेक प्रतिकूलतालाई चिर्दै असहजता लाई पति सहजताको रुपमा लिएर संबिधान जारी गर्ने अवस्था सिर्जना गर्नुभयो । उहाँको अनुपस्थितिमा संबिधान दिवस मनाइरहँदा कुनै रौनक देखिने कुरा त भएन नै सबैतिर रिक्तता छायो ।

संबिधान आफैमा रोयो र हामी संबिधान पालन कर्ता शोकमा डुब्यौ । परिवारले एउटा परिवारको मूली गुमायो, देशले एउटा साझा नेता गुमायो, व्यवस्थापिकाले पूर्व सभामुख गुमायो, कार्यपालिकाले पूर्व मन्त्री गुमायो, न्यायपालिकाले बरिष्ठ कानुनबिद एवं अधिवक्ता गुमायो, संबिधान सभाले संबिधान सभाको अध्यक्ष गुमायो,  पार्टी नेकपा (एमाले) ले शिर्ष नेता गुमायो, बिभिन्न पार्टीले एक प्रकारको साझा नेता एवं समन्वय कर्ता गुमाए र सबैभन्दा ठुलो कुरा त देशको मुल कानुन नेपालको संबिधान २०७२ ले आफ्नो जन्मदाता गुमायो ।

दिवंगत नेम्वाङको अनुपस्थितिले राष्ट्रलाई अपुरणीय क्षति भएको छ र उहाँका सपनाहरू पनि अपुरो नै रहे । उहाँका अनुकरणीय गुणहरूलाई अनुकरण गर्दै उहाँका सपनाहरूलाई पुरा गर्ने अठोट गर्यौ भने र उहाँको अनुपस्थितिमा देखिएको रिक्ततालाई पूर्ति गर्ने अठोट गर्यौ भने मात्र उहाँ प्रतिको उच्च सम्मान हुनेछ । आफ्नो हरेक उपस्थितिमा मिठो सुवास छर्दै उदाउने चन्द आज अकल्पनीय र आकस्मिक रुपमा  अस्ताउन पुगेको छ तर सुवास छरिएकै छ र प्रकाश देखिएकै छ । गह भरी आँशु मन भरी पिडा हुँदाहुँदै पनि तपाईका अनुकरणीय गुणहरूलाई अनुकरण गर्ने प्रतिबद्धताका साथ श्रद्धाका केही शब्द सहित उच्च सम्मान छ अलविदा कमरेड सुवास चन्द्र नेम्वाङ ।