मिसन ८४ नारा लिएर जिल्ला गाउँ होमिएको एमाले : दुई प्रदेशका बहुगुट प्रतिस्पर्धाबाट नै थिलथिलो !?

लोकसंवाद टिप्पणी

मिसन ८४ नारा लिएर जिल्ला गाउँ होमिएको एमाले : दुई प्रदेशका बहुगुट प्रतिस्पर्धाबाट नै थिलथिलो !?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ९, २०८०

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले मिसन ८४ भन्दै चुनावी अभियान अहिलैबाट सुरु गरिसकेको  हरेक मञ्चबाट जानकारी दिइरहेको  छ ।

संसदको दोस्रो ठूलो दल एमालेले संगठन सुदृढिकरण अभियानपछि यतिबेला सबै प्रदेशमा अधिवेशनहरूकाे चटारोमा छ । एमालेमा यतिबेला अध्यक्ष केपी शर्मा ओली निर्विकल्प नेताका रुपमा देखिएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएपछि ओलीलाई चुनौती दिने त्यही उचाईका नेता पनि अब एमालेमा बाँकी छैनन् । त्यसैले पनि ओली निर्विकल्प देखिएका हुन् । तर एमालेको प्रदेश अधिवेशनले भने एमालेभित्र ओलीको घट्दो पकड र ओली पछिका नेताहरुबीच देखिएको चर्को गुटबन्दी सतहमा छताछुल्ल भइरहेको छ । 

गत भदौमा भएको लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली नै गएर सर्व सहमतिमा अध्यक्ष छान्ने प्रयास असम्भव भएको थियो । यसरी असम्भव नभएपछि सचिव पद्मा अर्याललाई लुम्बिनीको नेतृत्व छान्ने जिम्मा दिएर ओली काठमाडौं फर्किए । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच कडा टक्कर देखियो । ओली फर्किएपछि भएको निर्वाचनमा पोखरेल पक्षका हरि रिजाललाई २ मतले हराउँदै पौडेल पक्षका राधाकृष्ण कँडेल विजयी भए । कँडेलले ४ सय ७९ मत ल्याएर विजयी हुँदा रिजालले ४ सय ७७ मत ल्याएका थिए । पदाधिकारीमा पनि अधिकांश पौडेल समूहकै कँडेल प्यानलका विजयी भए । 

प्रदेशको अध्यक्षका लागि केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, रामशरण बस्नेत, राजीव पहारी प्रतिस्पर्धामा छन् । गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ । केन्द्रीय सदस्य बस्नेत, थापा र पहारी स्थायी कमिटी सदस्य अधिकारी निकट मानिन्छन् । उपमहासचिव गुरुङ पक्षबाट भने हालका अध्यक्ष नवराज शर्मा, रश्मी आचार्य, धनन्जय दवासी अध्यक्षका दाबेदार छन् । 

कर्णालीमा पछिल्लो समयमा अध्यक्ष ओली निकट भएर पनि मुख्यमन्त्री नपाएका र पार्टीको माथिल्लो जिम्मेवारी पनि नपाएर असन्तुष्ट भएका यमलाल कँडेल पक्षधरले प्यानलै उम्मेदवारी दिने तयारी गरेको छ । कँडेल समूहले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ । प्रदेश अध्यक्षका अर्का आकांक्षी ध्रुब शाहीलाई सचिवको उम्मेदवार बनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी छ । उपाध्यक्षमा टेकराज पछाई, दुई उपसचिवको उम्मेदवार रवीन्द्र शर्मा र कौशिला खत्री वा दानसिंह परियार उम्मेदवार बन्नेछन् । अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका कँडेलले अलग्गै प्यानल खडा गरेपछि अरु आकांक्षीहरुले पनि छलफल अघि बढाएका छन् । 

कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाही पनि आकांक्षी छन् । जसमध्ये शाही उम्मेदवार बन्ने करिब निश्चित देखिएपछि कँडेल पक्षधरले अलग समूह तयार पारेको हो । 

एमालेको प्रदेश अधिवेशनमा विष्णु पौडेल र शंकर पोखरेल समूह बीचको संघर्ष सतहमा नै  देखिएको छ । तर बागमतीमा भने अध्यक्षका लागि ५ जना दाबेदार देखिएका छन् । प्रदेश अध्यक्षका लागि मकवानपुरका कृष्ण दाहालले दाबी गरेका छन् । उनलाई काभ्रेका नेता गोकुल बास्कोटाले समर्थन गरेका छन् । दाहाललाई चुनौती दिन अर्का नेता कैलाश ढुंगेल पनि अघि सरेका छन् । एमाले नेता महेश बस्नेतको साथ पाएका उनी प्रदेश अध्यक्षको उम्मेदवार हुने लाइनमा छन् । 

अर्का नेता केशव पाण्डे पनि अध्यक्षमा दोहोरिन चाहेका छन् । उनले आफूले लामो समयसम्म काम गर्न नपाएका कारण फेरि सर्वसम्मत नेतृत्व पाउनुपर्ने उनको भनाई छ । तर उनलाई सर्वसम्मत अध्यक्ष मान्न एमाले नेताहरु नै तयार देखिँदैनन् । 

सचिव विजय सुवेदी पनि नेतृत्वमा दोहोर्‍याउन नसकिने भन्दै आफैं अध्यक्षको दाबी गरिरहेका छन् । बागमती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठ, केन्द्रीय सदस्य रचना खड्का पनि अध्यक्षको आकांक्षी छन् । 

ता गण्डकीमा पनि असोज १५ र १६ गते प्रदेशको प्रथम अधिवेशन हुँदैछ । प्रदेशको अध्यक्षका लागि केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, रामशरण बस्नेत, राजीव पहारी प्रतिस्पर्धामा छन् । गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ । केन्द्रीय सदस्य बस्नेत, थापा र पहारी स्थायी कमिटी सदस्य अधिकारी निकट मानिन्छन् । उपमहासचिव गुरुङ पक्षबाट भने हालका अध्यक्ष नवराज शर्मा, रश्मी आचार्य, धनन्जय दवासी अध्यक्षका दाबेदार छन् । 

एमालेका लुम्बिनी र बागमती प्रदेशमा जस्तै  बहुगटहरुको अस्वस्थ र  प्रतिष्पर्धा हुने मिसन ८४ मा होमिनु पर्ने पार्टी पंक्ति विजय र पराजयको मानसिकतामा एकले अर्कोलाई सिद्याउने खेल र अन्तरघातको आधार तय गर्ने निश्चतप्रय छ भने टिकट वितरणमा नै प्रदेश अधिवेशन प्रमुख आधार बन्ने निश्चित जस्तै देखिएको  छ ।