नेपाल प्रज्ञा-प्रतिष्ठान: अनुवाद दिवसका अवसरमा 'अनुवाद विमर्श'

नेपाल प्रज्ञा-प्रतिष्ठान: अनुवाद दिवसका अवसरमा 'अनुवाद विमर्श'

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन १३, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा 'अनुवाद विमर्श' कार्यक्रम  देवकोटा सभाकक्षमा आयोजना गर्यो ।  

यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले 'अनुवाद गर्न'  आफैँमा जटिल काम  हो ।अनुवाद जस्तो अन्तर्राष्ट्रिय आयामले  देश-देशान्तरमा रहेका राष्ट्रहरूको भूराजनीति र सांस्कृतिक कुटनीतिलाई बुझ्ने अवसर दिन्छ । हाम्रो रैथाने बहुभाषिक अनुवाद प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्न सकेमा मात्र सांस्कृतिक रूपले राष्ट्रियता थप  बलियो हुनेछ ।अनुवाद कार्यलाई  प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छु भन्ने कुरामा जोड दिए ।

यसै गरी स्वागत मन्तव्यका क्रममा  प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषा बिच आपसी अनुवाद जरुरी रहेको बताए ।

यस कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (अनुवाद)विभागका प्रमुख हंसावती कुर्मीले  सम्पूर्ण भाषाका अनुवादकलाई एकै ठाउँमा सुव्यवस्थित गरेर अनुवाद कर्मलाई सुगम बनाउन लागिपर्ने कुरा समापन मन्तव्यमा  बताइन् । 

यस दिवसका अवसरमा  डा.शिव रिजालले 'परिवर्तनशील नेपाली समाजिक सन्दर्भ र बदलिँदो अनुवाद सङ्कथन' शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।यस कार्यपत्र भित्र अनुवादको नेपाली सन्दर्भ र इतिहास, अनुवाद र अनुवाद सिद्धान्त ,अनुवाद श्रम शिल्प र अनुवादका बारेमा व्याख्या गरिएको छ । यसमा अनुवादको आवश्यकता र  औचित्यलाई प्रस्ट पारिएको छ । यस कार्यपत्रको टिप्पणी भीमनारायण रेग्मी, अनुराधा  र दलबहादुर आङ्बुहाङले गरे ।

यस कार्यक्रममा सहभागीका तर्फबाट विक्रम त्रिपाठी ,विष्णु सिञ्जाली मगर ,शशी थापा पण्डित र सञ्जोग लाफा मगरलगायतले जिज्ञासा राखे।यस कार्यक्रमको सहजीकरण सकुन जोशीले गरे ।