मनका चाहनाहरू

मनका चाहनाहरू

ज्ञानेन्द्र विवश  |  साहित्य  |  आश्विन १९, २०८०

सम्पूर्ण प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार सङ्कल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति नै ‘मन’ हो भनी नेपाली शब्दकोषले उल्लेख गरेको छ । पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गरी मनका तीन अवस्था बताएको छ । तर फ्रायडले  सचेतन, अचेतन र अर्धचेतन वा पूर्व चेतनका रूपमा मनलाई विभाजन गरेको छ ।

वास्तवमा मन के हो र के होइन । तर यसको उत्तर सजिलो छैन । किनभने मन सबैथोक हो र होइन पनि । 

मन शरीरभित्रको अदृश्य भाग जहाँबाट विचारको उत्पत्ति हुन्छ । मस्तिष्कको कार्य शक्तिलाई निर्देशन गर्छ । मनले चिन्तन, स्मरण, निर्णय, बुद्धि, आदि शक्तिलाई नियन्त्रण गर्छ । कुनै पनि जीवनका लागि मन नै सर्वोपरि शक्ति हो । प्रत्येक प्राणीको मुटुभित्र मन हुन्छ । मन र मस्तिष्कको सम्बन्ध घनिष्ट हुन्छ । 

त्यसैले मनमा आएका कुरा मस्तिष्कमा सञ्चार हुन्छ । भनिन्छ, दुःख, सुख, दया माया आदिको संवेग पनि मन नै हो । मन शरीरभित्रको अदृश्य भाग हो । मनले सङ्कल्प र अठोट गर्छ । विचार उत्पन्न गराउँदै र अनेकौँ भावना जागृत गर्छ । र, मन चलायमान बन्छ ।

प्रथमत : मनको चाहना नै धेरै ठूलो कुरा हो । कुनै पनि कार्यक्षेत्रमा सफलता हासिल गर्न मनै देखिको चाहना हुनुपर्छ । मनमै चाहना छैन भने केही पनि प्राप्ति र कुनै पनि परिणाम आउँदैन । ‘हातलाग्यो शून्य’ मात्रै हुन्छ ।

हुन त कहिलेकाहीँ मनले चाहँदैमा पनि केही हुँदैन । मनले नचाहँदैमा पनि केही नहुने त होइन । मूलतः मनकै चाहनाको प्रतिफल कति असम्भव काम सम्भव र कस्ता ठूला–ठूला काम पूरा भएका दृष्टान्तहरू छन् ।

त्यसो त चाहना पवित्र र महान् हुनुपर्छ । जस्तो कि, उद्देश्यसहित समर्पित चाहना । अरूलाई दुःख दिने नियतको र कसैलाई सताउने, धम्क्याउने चाहना गलत हो । असल र फलदायी कर्मको, प्राप्तिको चाहना उत्तम हुन्छ ।

विकासको मूल फुटाउन, मनको चाहना पूरा गर्न मानिसमा इच्छाशक्ति पनि प्रवल हुनुपर्छ । यदि मनमा चाहना नै केही राखिँदैन भने पाउने कुरा के र गुमाउने कुरा के ?

मनले चाह्यो भने, मनले आँट्यो भने जस्तोसुकै काम पनि गर्ने थालनी हुन्छ । मनले ‘निच मारे’ मा केही पनि हुँदैन । त्यसैले मन कति शक्तिशाली छ, थाहा हुन्छ । 

अतः मनले चाहेको, ‘हाकेताकेको’ पूरा गरिदेऊ भनी हामी भगवानसँग प्रार्थना गर्छाैँ । ‘मनले चिताए पुग्छ–पुग्छ’ भन्ने बूढ्यौली भनाइ छ ।

‘मनले खाएको, मनले जितेको, मन मिलेको’ जस्ता कुराहरू मनकै चाहना र प्रभावका पहिचान हुन् । ‘मनमा लिएको, मनले दिएको मनमा भएको कुरा’ पनि मनकै चाहना र मनका महत्वका कुरा हुन् । यदि मनमै कुनै चाहना छैन भने केही हुन्न । ‘मनै परेको’ भनिन्छ नि यही कारण हो । जस्तो कि ‘मन मारेर’ वा ‘मन लगाएर’ गरिएको काम र ‘मनको चाहना’ ले गरिएको काममा ठूलो अन्तर आउछ ।

त्यसर्थ सर्वप्रथम मनमा चाहना हुनुपर्छ, मनमा लेखिएको हुनुपर्छ । मनमै छैन भने केही पनि हुँदैन । त्यसकारण मनको चाहना र मनकामना धेरै ठूलो कुरा हो ।

मन तर्सिनु, झस्किनु, भड्किनु, आत्तिनु, मात्तिनु, पात्तिनु आदि कमजोर मनको कुरा हो । मन दुख्नु, मन मिल्नु, मन जित्नु जस्ता कुराहरू मनकै चाहनाका कुराहरू हुन् । ‘अर्काको मनको कुरा हो । मनभित्र पसेर हेर्न को सक्छ र !’  भनिन्छ नि यही हो कारण ।

अतः जीवनमा ‘सानो मन’ को सर्वाधिक ‘ठूलो महत्व’ छ । साँच्चै भनौँ भने ‘मन छ भने छ, मन छैन भने केही पनि छैन ।’

कतिपय गरिब मानिस पनि मनले धनी हुन्छन् । कति धनाढ्य चाहिँ मनले साह्रै गरिब । मनको विशालता र व्यापकता अथाह ! कसैसँग कसैको मिल्दैन मनको गहिराइ, उचाइ, सोचाइ, बुझाइ र गराइ ! सबै भिन्न, विभिन्न ।

मन सधैँ पवित्र र चोखो रहन चाहन्छ । ‘मनले चाहेपछि हुन्छ’, ‘मनले चिताएपछि पुग्छ’ भन्छन् । त्यसैले चोखो मनले चाहनुपर्छ, चिताउनुपर्छ, काम बन्छ । मनले चिताएन भने, मनले चाहेन, कुनै चाहना राखेन भने मन मर्छ । मरेको मनबाट आशा, अपेक्षा सबै सिद्धिन्छ । निराशामय जीवन, कुनै चाहनै नबोकेको मन अर्थहीन बन्छ । बाँच्नु नै निरर्थक बन्छ । बासी, उदासी, निरासपन मनलाई सुहाउँदैन ।

‘मन’ रोचक र रहस्यमय । आदि न अन्त । मूर्त न अमूर्त । नास्तिक न आस्तिक । कति खोजमय, कति सोचमय, कति गम्भीर पनि । ‘मनका चाहनाहरू’ पनि त्यस्तै ।

मनमा के–के हुन्छ, चाहनाहरू के–के हुन्छ । पीडा हुन्छ, पिर र दुःख हुन्छ । त्यही मनमा खुसी हुन्छ । हर्ष र उमङ्ग, उल्लास पनि हुन्छ । चोट र खोट, आँसु र हाँसो हुन्छ । मैलिन्छ, धमिलिन्छ फेरि सँलिन्छ पनि ।

सानो मनभित्र हुन्छ सिर्जनशीलता, कल्पनाशीलता, उत्सुकता, उत्प्रेरणा, जोश र जाँगर सबै । मनैभित्रबाट जाँगर मरेर आयो भने केही गर्न सकिँदैन । जे हुन्छ सबै कुरा मनभित्रै हुन्छ ।

मन कहिले भाह्री हुन्छ, कहिले हलुको । कहिले सञ्चो, कहिले विसञ्चो । मन कत्ति पनि नचिढिएको, नआत्तिएको, नडराएको, नहराएको र अबुझ, अज्ञानी कदापि नभई देओस् । मनको फुर्ती र शक्ति कति ? स्पष्ट भइरहोस् । मन कति शक्तिशाली र महत्वपूर्ण छ ? सबैलाई अवगत भएको होस् ।

मन नभए केही हुँदैन, कोही हुने छैनन् । मनले नचाहेमा केही पनि हुँदैन । अतः मनको चाहना धेरै ठूलो हुन्छ ।

जे भए पनि मनले परिवर्तन खोज्छ । सकारात्मकपन रोज्छ । त्यसैले मन नयाँपन, नवीकरण र नवीकृत भइरहन रुचाउँछ । नयाँ–नयाँ चाहनाहरूले चलायमान मन सधैँ जागृत भइरहन्छ । मनले सोचेको कुरा पूरा हुनैपर्छ, पूरा गर्नैपर्छ । 

अतः मनले आकाश छुने सपना देख्न सकोस् । स्वर्गीय सुख, सुविधाको चाहना राख्न सकोस् । चन्द्रमासम्मको यात्राको कल्पना उडान गर्न सकोस् ।  मन सधैँ असल कर्ममा दत्तचित्त भइरहोस् । नयाँ कुरामा मरिमेटेर लाग्न प्रेरित होस् । सबैको प्रिय रहन, प्रेम र हार्दिकताले सुशोभित भइरहन सकोस् । 

मन जबर्जस्तीको हुन्छ । मन अनेक चाहनाहरूले वशीभूत । तिनै चाहनाहरूको परिपूर्तिमा सक्रिय, फुर्तिलो र सुन्दर भइरहोस् । मनले अरू कसैको मन दुखाउने कोसिस नगरोस् । मनले कसैलाई नरूवाओस् । कसैलाई नसताओस् ।

मनले नराम्रो सोँच्दैन । नराम्रो देख्न र बोल्न मन गर्दैन । राम्रो, सुन्दर, असल र नयाँ काममा मन लगाएर रमाउन मन लागिरहोस् । 

मन सधैँ पवित्र र चोखो रहन चाहन्छ । ‘मनले चाहेपछि हुन्छ’, ‘मनले चिताएपछि पुग्छ’ भन्छन् । त्यसैले चोखो मनले चाहनुपर्छ, चिताउनुपर्छ, काम बन्छ । मनले चिताएन भने, मनले चाहेन, कुनै चाहना राखेन भने मन मर्छ । मरेको मनबाट आशा, अपेक्षा सबै सिद्धिन्छ । निराशामय जीवन, कुनै चाहनै नबोकेको मन अर्थहीन बन्छ । बाँच्नु नै निरर्थक बन्छ ।
बासी, उदासी, निरासपन मनलाई सुहाउँदैन । फुर्तिफार्ती पृथक कामतमाममा मन अग्रसर भइरहन्छ । मौनतामा चुपचाप मन बसिरहनै सक्दैन । मुटुको धड्कनसँगै सधैँ गतिशील भइरहन्छ । मन यस्तै यसरी नै चलिरहोस् ।

आशा, अपेक्षा, आग्रह, अनुनयका विरूद्ध उपेक्षा उपस्थित हुँदा मनलाई के हुन्छ ? मनले सधैँ प्रेम खोज्छ, माया र साथ रोज्छ । मुस्कानमय बोली बचन, व्यवहार चाहन्छ । सानै कुराले मन कति खिन्न, कति भिन्न हुन्छ । यस्तो कदापि कहिल्यै, कसैलाई नहोस् ।

उत्सुकता र जिज्ञासाले भरिभराउ मन उन्नतिशील यात्रामा हुन्छ । निराशाका विरूद्ध मीठो आशा । घृणाका विरूद्ध मायालु स्पन्दन । प्रणय–प्रकम्पन, अनुनय–समर्पण र समुन्नति सोचाइमा मन लागिरहन्छ । जहाँ प्रगतिमा ‘बाधा–अड्चन’ नआइ दिएको राम्रो । हिँडाइमा ‘ठेस’ र बोलीमा छुचो ‘वचन’ नलागेको झन् कति राम्रो । 

कोमल, कमनीय प्रिय मनले कठोरपन, अप्रियपन रूचाउँदैन । सकारात्मक सोँच र शैलीमा नकारात्मक परिणामको प्रमाणपत्र खोज्नु हुँदैन हामीले ।

सबैको मन उही र उस्तै हो कसैको मनलाई पनि तड्पाउनु, भडकाउनु, फकाउनु र कराउनु, कज्याउनु हुँदैन । हँसाउन सकिन्छ तर रूवाउन मिल्दैन । मनले जितेपछि खुसी मिल्छ । मन हारेपछि परिणाम अर्कै निस्किन्छ । अर्को परिणामले नाफा गराउँदैन, घाटा गराउँछ । त्यसैले नसोचेको परिणामलाई आह्वान नगरेकै जाती । 

मन स्वस्थ, शान्त र सुन्दर भइरहोस् । धैर्य र सहनशील भई मनका कामनाहरू पूरा गर्न, गराउन तत्पर रहोस् ।

मनले के देख्छ, के सोच्छ । यौटाले के सोच्छ, अर्काेले के ? कति फरक, कति भिन्न । तर छिन्न–भिन्न छैन । बैमनस्य होइन । एकता, एकरूपता, मित्रता र सद्भावयमय सौहाद्र्धता नै मनको चाहना । यी चाहना पूरा होस् ।

मन एकतमासको र एकनासको नभई रहोस् । प्रगतिको बेग हान्दै उन्माद तोड्न सकोस् । उल्लास निम्त्याएर उमङ्गले आनन्दित पारोस् । उत्साह उमारेर उन्नतिपथमा हिँडाओस् । गल्ती कमजोरी, उत्तेजना नियन्त्रण गर्न मनले विवेक दिइरहोस् । 

असीमित चाहनाहरूको छाल, तरङ्ग र छायाँ, छविमा तैरिँदै, डुब्दै लक्ष्य खोज्दै, पछ्याउँदै, पहिल्याउँदै जीवनको जीवन्त लय समाउन कति हत्ते र हैरानी । कति सास्ती र सजाय !? यिनमा मनले साहस दिलाओस् । होस्टेमा हैसे थपिदेओस् । 

कोही पनि कसैको मनभित्र पस्न सक्दैन । कसैको मनको कुरा कसैले बुझ्दैन । अबुझ मनलाई बुझाउन पनि सकिँदैन । बरू नबुझेकोलाई बुझाउन सकिन्छ । त्यसैले मन लगनशील, कर्मशील र धर्मशील हुन्छ । कोही धर्मभीरू, कामचोर, यौनपिपासु पनि । 

मान्छेभित्रको मनको चालचरित्र र चाहनाहरूको उपस्थितिका कारण मान्छे असल र खराब हुने रहेछ । स्वभाव र स्वरूप फरक हुँदोरहेछ । मान्छेको मनको सङ्कल्प र सोँच, बुद्धि र विवेकको सही सदुपयोग भइदिँदा सुरम्य जीवन, समाज र संसार हुने रहेछ । 

वस्तुतः मनले खोजेको यही । मान्छेले चाहेको यही । कामना–प्रार्थनाको अनुनय, आग्रह पनि यही ।

मनको कुरा, मनले बुझ्छ, बुझ्नुपर्छ ।  बुझाइमा बौद्धिकता झल्किन्छ । त्यसमै आ–आफ्नो मौलिकता स्थापित हुन्छ । मान्छेको आफ्नोपन र पहिचान खुल्छ । त्यसले मानिसलाई मनबाट माथि उठाउँछ र अरूभन्दा भिन्न देखाउँछ । यही फरक हुन खोज्नु मानवीय चाहना र स्वभाव पनि हो ।

मनको सुन्दरता र स्पष्ट छवि अनि दुखेको मनलाई पनि आराम दिने ओखती गरिदिने क्षमता चाहिन्छ ।

मन मैलिनु हुन्न । मैल्याउनु हुँदैन मन । सफा सिनित्त र चिटिक्क मन प्रगतिमा बाधक हुनु हुँदैन । घात गर्नु, आघात पार्नु र विष्मातको किनारामा छोड्नु हुन्न । निरन्तर यात्रामा नयाँपनको खोजीमा पर्खाल नाघ्दै, बाधा पन्छाउँदै, फड्को मार्न सक्नुपर्छ । सुस्त, शून्यता, मौनता र सुहाउँदैन कदापि । 

मन माफिकका कुराहरू मन पर्छ सबैलाई । मन नपर्ने र मन दुख्ने कुरा कसैलाई मन पर्दैन । मन पर्ने कुराहरू धेरै हुन्छन् । मन पर्ने मान्छे । मन पर्ने ठाउँ । मन पर्ने खानेकुरा । मन पर्ने अनेक कुराहरू हुन्छन् । ती मन पर्ने कुराहरूले मानसिक आनन्द दिन्छ ।

मन सधैँ खुसीले रमाइरहेको भइरहोस् । मन कहिल्यै दुःखी नहोस् । जे होस्, मन अरूको मनमा बस्न मन पराउँदोरहेछ । मन अरूको मनमा बस्न नसक्दा कस्तो उकुसमुकुस हुँदोरहेछ । अनि मन दुख्दोरहेछ । मन रूँदोरहेछ । मन एक्लै तड्पिँदोरहेछ । मनले अर्को सच्चा मन खोज्दोरहेछ ।

त्यसैले मनभित्र कसैलाई ‘राख्न सक्नु’ र कसैले आफ्नो मनलाई ‘राख्ने ठाउँ दिनु’ निकै ठूलो कुरा हुने रहेछ । 

मन कति सानो हुन्छ ? मन कति ठूलो हुन्छ ? भन्न, अनुमानसम्म पनि गर्न सकिँदैन । मन आकाश जत्तिकै विशाल र आँखाले नियाल्नै नसकिने सूक्ष्म पनि हुन्छ ।

भनिन्छ– ‘मान्छे बूढो हुन्छ, मन बूढो हुँदैन । मान्छे मर्छ, मन मर्दैन । बन डढेको सबैले देख्छन् मन डढेको कसैले देख्दैनन् । पिठ्यूको भाह्री विसाउन सकिन्छ तर मनको भाह्री बिसाउन सकिँदैन ।’

कतिपय मान्छेहरू मन दुखेको छ,  मन छिया–छिया भएको छ, मन खुसीले रमाएको छ भन्छन्  । यी सबै मनको विविधताको परिणाम हो । 

रिस उठ्नु र मन दुख्नु धेरै फरक कुरा रहेछ । रिस उठेपछि मनलाई शान्त राख्नु सबैभन्दा उत्तम उपाय । उठेको रिस मरेपछि भने माया लाग्दोरहेछ । मन दुखे नराम्ररी दुख्ने रहेछ । दुखेको मनलाई खुसी पार्न समय लाग्ने रहेछ । त्यसैले मनलाई सकेसम्म नदुखाउनु राम्रो हुँदोरहेछ ।

रातभरिको अनिद्रा र छटपटीले निद्रा कचल्टिए पनि बिहान हुँदा ‘मन चङ्गा’ हुनु मनकै चमत्कार मान्नुपर्छ । मन ‘फ्रेस’ हुँदा काम पनि ‘तेज’ गतिमा हुन्छ । विमारी मन र मानसिकताले केही गर्न, सोच्न सक्दैन । 

मनले सोचेका कुरा र चाहनाहरू अनेक हुन्छन् । कति पूरा हुन्छन्, कति अधुरै रहन्छन् । मनका चाहनाहरू पूरा हुँदै–हुँदै जाँदा झन् बढ्ने रहेछ खुसी र सन्तुष्टिहरू । थपिने रहेछ उत्साह, मिल्ने रहेछ प्रेरणा र पाइने रहेछ जीवनमा सुखद सफलताहरू ।

अन्ततः मन जहिल्यै स्वस्थ स्वरूपमा तन्दुरूस्त भइरहोस् । मन जागिरहोस् । मन लागिरहोस् । मनका चाहनाहरू पूरा भइरहोस् ।