छन्दसाधना पुरस्कार भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान

छन्दसाधना पुरस्कार भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०८०

काठमाडौँ । सम्माननीय सभामुख देवराज घिमिरेले छन्द–तरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान गर्नुभएको छ ।

कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा गत वर्षदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना अग्रज कवि र एक जना अनुज कविलाई पुरस्कृत गर्ने गरेको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि सम्माननीय सभामुख घिमिरेले दुई पुस्ताका कविहरू सिग्देल र पौडेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । 

प्रमुख अतिथि सम्माननीय सभामुख घिमिरे र विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले जोरपानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरेले छन्दसाधक द्वय सिग्देल र पौडेलले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'छन्द वेदको एउटा अङ्ग हो । अहिले पूर्वीय गजत्का ज्ञानगौरवहरू दिनदिनै हराउँदै जान थालेका छन् । कुनै समयमा गणित, इतिहास, अर्थशास्त्र आदि समेत लेखिने र तत्काल कण्ठ गर्न र लामो समयसम्म स्मरणमा राख्न सकिने हुनाले छन्दको विशिष्ट भूमिका रहने गरेको छ । डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्नुका साथै सिर्जना एवम् प्रशिक्षणका माध्यमबाट नेपाली छन्द कवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आउनुभएको छ । उहाँहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युुवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ ।

आजको आवश्यकता राजनीतिकर्मी र साहित्यकर्मी बिचको भावनात्मक र उद्देश्यमूलक अन्तरसम्बन्ध कायम गरी विकृत पक्षलाई हटाउनु नै हो । त्यसैले साहित्यकारहरूले देशको राजनीतिलाई उचित दिशानिर्देश गर्नुपर्छ । यही भावनालाई बुझेर नै ज्ञवाली र नेपालले चेतना र जागरणमुखी, समाजमुखी एवम् जीवनमुखी छन्दकविता लेखनको अभियानलाई निरन्तरता दिएकामा खुसी लागेको छ ।” 

प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले छन्द–तरङ्गले गरेका ऐतिहासिक कामहरूको स्मरण गर्दै ज्ञवाली र नेपालको सत्कर्ममा आफ्नो सदैव साथ रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजक मध्येका एक प्रा.डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेर कोभिड–१९ का कारण स्थगित भएपछि फेरि सञ्चालन गर्ने अवसर नमिलेको तर अनुकूल समयमा पुनः सञ्चालन गरिने जानकारी दिनु हुँदै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिनुका साथै गत वर्षदेखि पुरानो पुस्ता र युवा पुस्तालाई जोड्ने उद्देश्यले छन्दसाधना युवा प्रतिभा पुरस्कार पनि थप गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी दुई संयोजकका अतिरिक्त विभिन्न दाताहरूबाट प्राप्त रकमबाट हामीले सात लाख पचासी हजारको अक्षयकोष स्थापना गरेका थियौँँ, यस वर्ष त्यसमा वृद्धि गरी दश लाख पुर्‍याउने योजना रहेको, जसको ब्याजबाट आएको रकमले २५००० नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र १५००० नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएकोमा यस वर्षदेखि बढाएर ४०,००० र २०,००० बनाइएको छ भने अर्को वर्ष ५०,००० र २५,००० बनाउने योजना रहेको छ । साथै हामीले पुरस्कृत स्रष्टालाई सम्मान–पत्र पनि कवितामा नै प्रदान गर्ने परम्परा बसाएका छौँ ।'

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि भुवनहरि सिग्देलले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्नुभएको थियो भने ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि कविराज पौडेलले संस्कृत छन्दविधान र अङ्ग्रेजी छन्दविधानसम्बन्धी आफ्नो अत्यन्त प्राज्ञिक मन्तव्य प्रस्तुत गर्दै आजका दिनबाट आफूमा गहन जिम्मेवारी थपिएको हुनाले सकेसम्म छन्द कविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा छन्द साधना पुरस्कारका लागि अक्षयकोषको स्थापना र वृद्धिमा योगदान दिनु हुने रमेश खकुरेल, नेत्रकला ज्ञवाली, मिना ज्ञवाली र प्रभा पोखरेललाई प्रमाण पत्र प्रदान गरिएको थियो भने हाल विदेशमा रहनुहुने भोला शिवाकोटी (अमेरिका), निशा अर्याल (इजरायल), प्रा. मोहन सिटौला (अमेरिका), खेम रिजाल (अमेरिका), हरि काफ्ले ‘शैव’ (अमेरिका), सुदीपभद्र खनाल (अमेरिका) र रमेश गौतम (नर्वे) को प्रमाण पत्रको डिजिटल प्रति सम्बन्धित व्यक्तित्वहरूलाई पठाउने घोषणा गरिएको थियो । साथै अक्षयकोषलाई दश लाख पुर्‍याउनका लागि अपुग रहेको रु. १६००० रकम कार्यक्रम स्थलमा नै प्रदान गर्नुहुने नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग केवल छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गर्नुभएको थियो । अक्षयकोषका संस्थापकमध्येका एक डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’को स्वागत मन्तव्य र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा गायक दामोदर अधिकारीको नेतृत्वमा पाठशाला नेपालका विद्यार्थीहरूबाट सुरुमा छन्द–तरङ्ग गान प्रस्तुत गरिएको थियो । 

पाठशाला नेपालको सभाकक्ष खचाखच भरिएर आमन्त्रित पाहुनाहरू सिँडीमा पनि बस्नुपरेको अवस्थालाई देखेर आयोजकमध्येका एक डा. नेपालले आमन्त्रितहरूलाई उचित स्थान सम्मान गर्न नसकेकामा दुःख व्यक्त गर्नुभयो भने सहभागीहरूले साहित्यिक कार्यक्रममा यस्तो गुणात्मक र मात्रात्मक दुवै प्रकारको उपस्थिति आजसम्म नदेखेको प्रतिक्रियासमेत दिनुभयो । सोही सभाकक्षमा दोस्रो चरणमा गरिएको कृति लोकार्पण कार्यक्रममा विशिष्ट छन्दसाधना पुरस्कारद्वारा पुरस्कृत भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ कृतिको लोकार्पण पनि गरिएको थियो ।