एनआरएनए सह-कोषाध्यक्षमा कतारका मोहम्मद मुक्तदाको ६ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

एनआरएनए सह-कोषाध्यक्षमा कतारका मोहम्मद मुक्तदाको ६ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०८०

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा कतारका मोहम्मद मुक्तदा मुसलमानले सह–कोषाध्यक्ष पदमा उमेदवार घोषणा गरेका छन्। सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा सँगै मुक्तदाले आफ्ना ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

आगामी अक्टोबर १७–२०सम्म काठमाडौमा हुन लागेको महाधिवेशनका लागी बिगत १४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील मुक्तदाले ६ बुँदे प्रतिबद्धता र हालसम्मका योगदान खुलाएका छन्।मुक्तदाले सार्वजनिक गरेको अपिल जस्ताको तस्तैः

गैरआवासीय नेपाली संघको सह-कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी :

आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता ज्यूहरु, एघारौं महाधिवेशनका प्रतिनिधि ज्यूहरु  तथा सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू सबैमा सादर नमस्कार अस्सलामोअलैकुम !

विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७(२० अक्टोबर २०२३ काठमाडौमा हुँदैछ । 

२००३ मा स्थापित संस्थाले दुई दशक पार गर्दै गर्दा हाल सम्म अनेकौं आरोह, अवरोह पार गर्दै गैरआवासीय नेपालीहरुका हकहितका लागि ठुलो सम्भावना र केहि उपलब्धी समेत हासिल गरेको छ ।

 संघको ११ औं महाधिवेशन  हुन अब केही दिन मात्र बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो इच्छा जाहेर र दावी गर्ने क्रम पनि चलिरहेको छ । 

म आफैं पनि बिगत १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिवालय सदस्य, सल्लाहकार हुँदै २ कार्यकाल अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु । 

संघ प्रतिको मेरो लामो अनुभव, प्रतिवद्धता, क्रियाशीलता र थप  केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन् २०२३(२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह(कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । 

संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र शुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु ।

सह-कोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा केही प्रतिवद्धता र प्रयासहरु निम्न बमोजिम रहने छन् :

 १० सबल र सफल  एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ । 

 २० संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहनेछ ।

 ३० आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह(कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु । 

४०वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्नेछु । यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्नेछु । 

५० विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसँग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल रहनेछ । 

 ६० 'नेपालीका लागि नेपाली'  भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु । 
धन्यवाद !

मोहम्मद मुक्तदा मुसलमान
सह-कोषाध्यक्षको उम्मेदवार
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद