हमासको आक्रमणमा १० नेपालीको निधन, ९ जना घाइते, सर्वसाधारणलाई बस्ती खाली गर्न  आदेश !

हमासको आक्रमणमा १० नेपालीको निधन, ९ जना घाइते, सर्वसाधारणलाई बस्ती खाली गर्न  आदेश !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २२, २०८०

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको हमलामा परी १० जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । यो हमलामा अन्य तीन जना घाइते भएका र एक जना अझै सम्पर्कमा नरहेको बताएको छ ।

हमासले शनिबार बिहान इजरायलमाथि शक्तिशाली आक्रमण गर्दा करिब ३ सय जना मारिएका छन् । यो हमलापछि इजरायलले पनि गाजा पट्टीमा जवाफी हमला गर्दा ३१५ जनाभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् । दुई दिनमा यो युद्धमा मारिनेको संख्या ६ सय नाघेको छ भने सयौं मानिस घाइते भएका छन् । इजरायलले हमासविरुद्ध युद्धको घोषणा गर्दै गाजापट्टीमा रहेका सर्वसाधारणलाई दुई दिनभित्र बस्ती खाली गर्न इजरालले आदेश जारी गरेको छ । शनिबार बिहानै आक्रमण भए पनि ९ जना नेपाली घाइते भएको बताइएको थियो ।

आइतबारसम्म पनि नेपालीको मृत्यु भएको पुष्टि भइसकेको थिएन । संसदमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको आक्रमणमा केही नेपाली सम्पर्कमा नरहेको र केहीको हताहती भएको हुनसक्ने बताएका थिए । तर आइतबार अबेर इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपालीको मृत्यु भएको पुष्टि गरिन् । 

मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायण न्यौपाने, जयपृथ्वी–६, बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह, मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् । 

सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा र भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेका नेपाली राजदूतावासले जनाएको छ । 

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रूपमा कार्यरत छन् भने २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यसरी गएका मध्ये १७ जना गाजा क्षेत्र नजिकै दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमा परेको भन्दै परराष्ट्र मन्त्री साउदले केही नेपाली हताहत भएको हुनसक्ने बताएका थिए । जुन आइतबार अबेर राजदूतले पुष्टि गरेकी हुन् । इजरायलमा हमासको आक्रमणपछि नेपाली पनि परेको सूचनापछि स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइबार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन गरेको छ । संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार सम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कार्यहरुको जिम्मा दिइएको छ । 

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ ।’ 

हमासको हमलापछि स्वदेश फर्किन इच्छुकलाई फिर्ता ल्याउन विमानस्थल खुला रहेको र अप्ठ्यारो भए दूतावासले समन्वय गर्ने परराष्ट्रमन्त्री साउदले बताए । द्वन्द्व सीमित ठाउँमा भएको देखिएकाले त्यहाँ रहेका अरु नेपाली स्वदेश नेपाल फर्किन चाहन्छन् वा चाहँदैनन् भन्ने यकिन गरेर सोही अनुसार कदम चाल्ने परराष्ट्रको योजना छ । मन्त्रालयले नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ ।

यता इजरायलमाथिको हमलासँगै त्यहाँ रहेका नेपालीका परिवारमा भने बढी त्रास देखिएको छ । उनीहरु तत्कालै इजरायलमा रहेका आफन्तलाई फर्काउनुपर्ने भन्दै ढिलाइ गरेकोमा सरकारको आलोचना गरिरहेका छन् । सरकारले भने इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति जारी गरेको छ । सरकारी तबरबाट उद्धारको लागि समन्वय र ठोस योजना नहुँदा त्यहाँ रहेका नेपाली र उनीहरुका नेपालमा रहेका आफन्तमा अर्को निराशा देखिएको छ ।