सगरमाथावाट चार हजार ५ सय ५ केजी मलमूत्र संकलन

सगरमाथावाट चार हजार ५ सय ५ केजी मलमूत्र संकलन

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २३, २०७६

काठमाडौ ।  सगरमाथा सफाइ अभियानले सगरमाथा हिमाल क्षेत्रबाट संकलित फोहरजन्य सामग्री ‘ब्लु वेस्ट टु भ्याल’ संस्थालाई हस्तान्तरण गरेको छ ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको १४ बाहिनी परिसरमा २०७६ साल जेठ २२ गते आयोजित एक समारोहमा सगरमाथाको आधार शिविरदेखि ‘साउथ कोल’ सम्मबाट सङ्कलन गरिएको प्रशोधन गर्न मिल्ने फोहरजन्य सामग्री उक्त संस्थालाई हस्तान्तरण गरिएको जानकारी दिएको थियो । सगरमाथा हिमाल सफाइ अभियानका संयोजक एवं खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निम दोर्जेले दरबारमार्गस्थित ब्लु वेस्ट टु भ्यालुका कार्यकारी निर्देशक नवीनविकास महर्जनलाई विश्व वातावरण दिवसका अवसरमा हिमालबाट संकलन गरिएको ती फोहरजन्य सामग्री हस्तान्तरण गर्नुभएको हो । 

२०७६ साल वैशाख १ देखि जेठ २१ गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा सगरमाथाको आधार शिविरदेखि साउथकोलसम्म सफाइका क्रममा ११ हजार किलो फोहरजन्य सामग्री संकलन गरिएको अभियानका संयोजक दोर्जेले बताउनुभयो । 

संकलन गरिएकोमध्ये नसड्ने र नगल्ने फोहरजन्य सामग्री मात्र काठमाडाँै ल्याइएको छ भने गल्ने र सड्ने फोहर भने स्थानीय रुपमा नै व्यवस्थापन गरिएको जानकारी दिइयो । 

सगरमाथा हिमाल सफाइका क्रममा हिउँले पुरिएको अवस्थामा फेला परेका चार वटा शवसमेत संकलन गरेर काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । 

पैँतालिस दिनको उक्त सफाइ अभियानमा परिचालित १२ मध्ये आठ जना शेर्पा क्याम्प दुईमा बसेर पालैपालो साउथकोलसम्म पुगेर फोहर संकलन गरेको संयोजक दोर्जेले बताउनुभयो । 

यस वर्षको आरोहण दलका सदस्यबाट सगरमाथाको आधार शिविरदेखि साउथकोसम्म भएको चार हजार ५ सय ५ केजी मलमूत्रसमेत संकलन गरी व्यवस्थापन गरिएको सो अवसरमा जानकारी दिइयो । 

अभियान बाहेक पनि आधार शिविरबाट १४ हजार किलो फोहर संकलन भएको दाबी गरिएको छ । अन्यको तुलनामा दोस्रो आधार शिविरमा फोहरको परिमाण बढी रहेपनि सफाइ अभियानपछि उक्त शिविर स्वच्छ र सफा भएको संयोजक दोर्जेले बताउनुभयो ।

 सगरमाथा हिमाल सफाइ अभियानले आज आयोजना गरेको हस्तान्तरण कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले सफाइ अभियानका क्रममा अरोहण दलका सदस्यले प्रयोग गरेको भ¥याङ, अक्सिजनका खाली सिलिण्डर, बियरका बोतल, डोरी र प्लाष्टिकलगायतका सामग्री संकलन गरेर काठमाडाँै ल्याइएको जानकारी दिनुभयो । 

अभियानका संयोजक दोर्जेले अहिले सगरमाथा आरोहणका क्रममा देखिएको भिड्ले त्यहाँ कुनैपनि बेला हुनसक्ने ठूलो मानवीय क्षतिको पक्षलाई विचार पु¥याएर आरोहणलाई केही हदसम्म कटौती गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो,–‘सगरमाथा आरोहण गर्न पाउन हुन्न भन्ने नभइ एकै पटकमा हिमाल चढ्ने संख्या अहिले अली बढी भयो, अहिलेको चापलाई अर्काे मौसममा लगेर मिलाउन सकिन्छ त्यसतर्फ सरकारले सोच्नुपर्छ, अहिलेको चापलाई घटाउन अक्टोबर महीनामा आरोहण गर्न प्रोत्साहन गर्न सकिन्छ ।’

 यसवर्ष सगरमाथाको आरोहणका लागि स्वदेशीसहित ६०० को संख्यामा आरोहण दलका सदस्यलाई अनुमति दिइएको थियो । त्यसलाई घटाएर यो मौसममा ३०० को संख्यामा सीमित तुल्याउन सुझाव दिइएको छ । नेपाली सेनाका प्रवक्ता पाण्डेले प्रधानसेनापतिको सातवटा लक्ष्यमध्ये एउटा वातावरण र पर्यावरण सरक्षण अन्तर्गत हिमाल सफाइमा योगदान दिने पहल भएको हुँदा आगामी दिनमा पनि संगठनले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । नेपाली सेनाको समन्वयमा उक्त कार्य भएको हो । यस वर्षको सगरमाथा हिमाल सफाइ अभियानका लागि रु दुई करोड ६८ लाख सात हजार रकमको प्रतिबद्धता र सम्झौता भएको सो अवसरमा जानकारी दिएको कुरा राससमा नारायण न्यौपानेले लेख्नुभएको छ ।