पोल्याण्डका नेपाली कन्सुलर डा. बोधराज सुवेदी मानव ओसारपसारको आरोपमा पदमुक्त गर्न माग !

पोल्याण्डका नेपाली कन्सुलर डा. बोधराज सुवेदी मानव ओसारपसारको आरोपमा पदमुक्त गर्न माग !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ३०, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा हालेर गृहमन्त्री तथा संसद पद खारेज गराएर चर्चामा आएका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले पोल्याण्डको वार्सा क्षेत्रका अवैतनिक वाणिज्यदूत (कन्सुलर) रहेका डा. बोधराज सुवेदीलाई पदमुक्त गर्न माग गर्दे आज परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएका छन्।

परराष्ट्र मन्त्रालयको १०६० नम्बरमा दर्ता भएको निवेदनमा सुवेदीमाथि मानव तस्करी तथा ओसारपसारको आरोप लागेकाले उनलाई तत्काल वाणिज्यदूतबाट निलम्बन गरेर  निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा अनुसन्धानको लागि पत्र पठाउन सफलले माग गरेका छन्।

मानव तस्करी तथा ओसारपसारमा संलग्न व्यक्ति वाणिज्यदूत जस्तो पदमा बस्दा नेपालको स्वाभिमान ,इमानमा गम्भीर चोट परेको साथै त्यस्तो खराब आचरण भएका व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्ने कुरा सोच्न समेत नसकिने निवेदनमा उल्लेख छ । साथै विभिन्न प्रलोभनमा परी सुवेदीलाई वाणिज्यदूतमा सिफारिस गर्ने जर्मनस्थित नेपाली राजदूतलाई समेत कारबाहीको माग गरिएको छ।

सुवेदीमाथि एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा सन् २००९ को नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै ८ जना नेपालीलाई अवैधानिक तरिकाले पोल्याण्ड ल्याएर मानव ओसारपसारमा संलग्न भएको आरोप छ । यद्यपि उनले भने प्रेस विज्ञप्तिमार्फत ८ जना नभई २ जनालाई मात्र आफूले पोल्याण्ड ल्याएको बताउॅदै आएका छन् । 

सुवेदीले आफू एनआरएनए पोल्याण्डको अध्यक्ष भन्दै काठमाडौंका रमेशकुमार मल्ल र म्याग्दीका टीका पुनलाई ११ डिसेम्बर २००८ मा भिसाको लागि दूतावासलाई लेखेको पत्रसमेत सार्वजनिक भएको थियो।

सुवेदीलाई कन्सुलर नबनाउन भन्दै नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति पोल्याण्डका सभापति नारायण चालिसेले पोल्याण्डका संघसंस्थाको तर्फबाट परराष्ट्र मन्त्रालय र नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा २०७९ फागुन ४ गते उजुरी दर्ता गराएका थिए। तत्कालीन केपी ओलीको सरकारले सुवेदीको वाणिज्यदूत नियुक्ति विवादित छवि भएको भनादै रोकेको थियो।तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद बैठकले २०७९ साल साउन ९ मा डा सुवेदीलाई पोल्याण्डको वारसा क्षेत्रमा कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो।