गैरआवासीय नेपालीलाई नागरिकता: प्रश्न, अन्योल र आशङ्काको घेरामा !?

लोकसंवाद टिप्पणी

गैरआवासीय नेपालीलाई नागरिकता: प्रश्न, अन्योल र आशङ्काको घेरामा !?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलनका क्रममा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरे ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गरेर नागरिकता वितरण सुरु गरेका हुन् ।

निकै लामो कानुनी रस्साकस्सी पछि औपचारिक वितरण सुरु भएको गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको अधिकारबारे भने अझै पनि अन्योलहरू कायमै छन् ।

गैरआवासीय नेपाली नागरिकता पाएका केसी नेपालमा मतदान गर्ने र उम्मेदवार हुने बाहेकका सबै अधिकार आफूहरूले पाउनुपर्ने बताउँछन् । 

यसको अर्थ गैरआवासीय नेपालीहरूले नेपाली राहदानी लिने, सरकारी सेवामा प्रवेश गर्नेजस्ता अवसर पनि पाउँछन् त भन्ने प्रश्न उठ्छ ।

गृह मन्त्रालय उनीहरुले यो अधिकार नपाउने बताउँछ । नेपालको संविधान २०७२ ले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ । अघिल्लो संसदले नै पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेपछि थन्किएको थियो ।

गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि बनेको नागरिकता कानुनमा पनि गैरआवासीय नेपाली नागरिकता लिएकाको अधिकारबारे धेरै विषय अस्पष्ट छन् । 

नागरिकता ऐनमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपालीले पाउने नागरिकता भनेको विदेशको नागरिकता लिएको प्रमाण बुझाएपछि मात्रै पाउने नागरिकता हो । त्यसैले गैरआवासीय नेपाली नागरिकता पाउनु भनेको कानुनी रुपमा विदेशी नागरिक भएको प्रमाणित हुनु पनि हो । त्यसैले एनआरएन नागरिकता पाएकाको अधिकारबारे अनेकौं प्रश्न, अन्योल र आशंकाहरु छन् ।

यो व्यवस्था अनुुसार हाल विदेशको नागरिकता लिएका यसअघि नेपाली नागरिक रहेका व्यक्तिहरूका नाति नातिनासम्मले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्छन् ।

नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्नेछ । 

त्यतिमात्रै होइन गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट ‘मैले नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन भनी यो प्रतिबद्धता व्यक्त गर्दछु’, भन्ने शपथ लिनुपर्ने पनि व्यवस्था छ । 

यसरी नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीत कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नागरिकता रद्द गर्न सक्ने छ । 

गैरआवासीय नेपाली नागरिकता लिन निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, सार्क राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण पेश गरी नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता गर्नुपर्नेछ । 

गैरआवासीय नेपालीहरुले नागरिकता पाएपछि नेपालमा सरकारी सेवामा प्रवेश गर्ने र नेपाली राहदानी प्रयोग गर्नेसम्मका अधिकार मागेका छन् । संविधानमा निर्वाचनमा भाग लिने र उम्मेदवार बन्ने बाहेकका सबै अधिकार हुनुपर्छ भन्ने व्यवस्था रहेकाले संविधानको मर्म अनुुसार पनि आफूहरुले सरकारी सेवा र राहदानी प्रयोगको अधिकार पाउनुपर्ने एनआरएनको तर्क छ । तर यसबारेमा कानुन कसरी अद्यावधिक हुन्छ, सोही अनुसार निर्भर हुनेछ ।

नेपाली राहदानी प्रयोग र सरकारी सेवामा प्रवेशको अधिकार नेपाली नागरिकहरूले मात्रै पाउने अधिकार हो । गैरआवासीय नेपालीले पाउने नागरिकता भनेको विदेशको नागरिकता लिएको प्रमाण बुझाएपछि मात्रै पाउने नागरिकता हो । त्यसैले गैरआवासीय नेपाली नागरिकता पाउनु भनेको कानुनी रुपमा विदेशी नागरिक भएको प्रमाणित हुनु पनि हो । त्यसैले एनआरएन नागरिकता पाएकाको अधिकारबारे अनेकौं प्रश्न, अन्योल र आशंकाहरु छन् ।

तर गैरआवासीय नेपाली नागरिकताले नेपालमा रहेको पैतृक सम्पत्ति, घरजग्गा र व्यापार व्यवसायमा गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्नेछ । किनकि यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइनेछ । जसलाई कानुनमा आर्थिक अधिकारका रुपमा व्याख्या गरिएको छ । 

अब गैरआवासीय नेपाली नागरिकता लिन आफ्नो वा आफ्नो आमाबुवा वा बाजे बज्यैको नेपाली नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिनेछ । गैरआवासीय नेपालीहरूले आफू बसिरहेको वा उक्त देश हेर्ने नेपाली राजदूतावास वा महावाणिज्य दूतावासबाट आफ्नो नाम थर, गैरआवासीय नेपाली परिचयपत्र नम्बर, विदेशी मुलुकको नागरिकताको विवरण खुलाएर निवेदन दिएर नागरिकता लिन सक्छन् ।