नबिल बैंक: ज्ञान र सिप लिएर स्वदेश फर्कने सन्देशसहितको दशैं भिडियो सार्वजनिक

नबिल बैंक: ज्ञान र सिप लिएर स्वदेश फर्कने सन्देशसहितको दशैं भिडियो सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक ३, २०८०

काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देश मूलक दशैं भिडियो सार्वजनिक गरेको  बैंकले जनाएको छ ।

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनुका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । 

यस भिडियो मार्फत् उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ । 

नेपालको अग्रणी बैंकका रूपमा स्थापित नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

देशभरका २६६ शाखा र ३१० एटिएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल, नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको सुरुवात गर्ने बैंकको रूपमा परिचित छ ।

ज्ञान र सिप लिएर स्वदेश फर्कने सन्देशसहितको दशैं भिडियो यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।