इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमको पासोमा कसरी पर्छन् नेपाली विद्यार्थी !

इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमको पासोमा कसरी पर्छन् नेपाली विद्यार्थी !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०८०

स्वदेशमा पर्याप्त रोजगारी र अवसरहरु नहुँदा युवाहरु विदेशिन बाध्य छन् । नेपालीका घरआँगनमा दसैं आउँदा विदेशिनेको भीडले विमानस्थल भावुक छ । यसरी विदेशिने मध्ये कतिपय बाकसमा फर्किन्छन् भने कतिपयले त्यो सौभाग्य पनि पाउँदैनन् ।

कृषिप्रधान देश नेपाली कृषि कामकै लागि दक्षिण कोरिया, इजरायलजस्ता देशमा गइरहेका छन् । यी दुवै देश विगतमा एउटै भएका र दोस्रो विश्वयुद्धपछि विभाजित बनेका हुन् र एक हिसाबले युद्ध मुलुक पनि हुन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच पनि युद्धविराम भए पनि शान्ति सम्झौता भएको छैन ।

इजरायलमा हमासले ७ अक्टोबरमा गरेको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उनीहरुको शव अझै नेपाल ल्याउन सकिएको छैन । हमासको आक्रमणपछि इजरायल पठाइने विद्यार्थीहरूको सुरक्षाबारे प्रश्न उठेको छ भने सरकारले पनि इजरायलमा श्रम स्वीकृति हाललाई रोकेको छ । इजरायल पुगेका एक नेपाली विद्यार्थीको अझै अवस्था स्पष्ट छैन ।

लर्न एन्ड अर्न योजनामा इजरायल गएका विद्यार्थीको अवस्थाबारे विश्वविद्यालय र सरोकारवाला निकायले समेत बेवास्ता गर्ने गरेको त्यहाँ पुगेर फर्किएका विद्यार्थीको गुनासो छ । कृषि विषयमा अध्ययनरत विद्यार्थीहरूका लागि इजरायलको यो योजना कृषि प्रविधि सिक्न जाने अवसरको रूपमा हेरिने गर्छ । जुन कार्यक्रममा जान काठमाडौंस्थित इजराली दूतावासले समन्वय गर्छ भने विश्वविद्यालयसँगको सहकार्यमा सहभागीहरूको छनौट गर्ने गरेको छ ।

'लर्न एन्ड अर्न'  कार्यक्रममा जानका लागि छानिएका विद्यार्थीहरूले इजरायलमा ११ महिना काम सिक्ने र अभ्यास गर्ने अवसर पाउँछन् । यो कार्यक्रम अन्तर्गत नेपालसहित अन्य धेरै देशबाट इजरायलमा विद्यार्थीहरु जाने गरेका छन् । 

त्यहाँ पढ्न पनि पाउने र प्रयोगात्मक सीप पनि हुने भएकाले विद्यार्थीहरु जाने गर्छन् । यसरी गएकाहरुले केही आम्दानी समेत गर्नसक्छन् । इजरायलको यो कार्यक्रममा यसअघि किसानहरु पनि जाने गरेका थिए । तर पछिल्ला वर्षमा कृषि अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई अन्तिम सेमेस्टरको पढाइ सकिएपछि पठाइने गरिएको छ ।

यसरी जाने नेपालीहरूले हप्तामा एक दिन कक्षाकोठामा पढ्ने र बाँकी समय कृषि फार्ममै काम गर्ने गर्छन् । यसअघि इजरायल जानेहरुको छनोट पनि साना किसानले गर्दैै आएको थियो । अहिले कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले दूतावासको समन्वयमा इजरायल जाने विद्यार्थीहरु छनौट गर्ने गरेका छन् ।

इजरायलबाट फर्किएका विद्यार्थीहरु विश्वविद्यालयले आफ्ना विद्यार्थीहरू कुन ठाउँमा छन् र के काम गर्छन् भन्नेबारे समेत सामान्य जानकारी नराख्ने गरेको आरोप लगाउँछन् । इजरायलबाट फर्किएका एक विद्यार्थी भन्छन्, ‘सामान्य जानकारीबिना नै विद्यार्थीहरूलाई इजरेल पठाउँछ । अघिल्लो वर्ष हामी इजरायलमा हुँदा एक पटक पनि विश्वविद्यालयले के छ भनेर पनि सोधेन ।’ ७ अक्टोबरमा हमासको आक्रमणको निशानामा परेको क्षेत्रमा गत वर्ष पनि नेपाली विद्यार्थी कामका लागि गएका थिए । 

इजरायलका नागरिकहरुले अनिवार्य रुपमा सैनिक सेवा दिनुपर्छ । त्यसैले त्यहाँका युवाहरुले खेतिपातीमा समय दिन सक्दैनन् । खेतीपातीमा काम गरे बापत इजरायललाई कृषि क्षेत्रमा योगदान पुग्ने र नेपालबाट जाने विद्यार्थीले पनि ११ महिनामा करिब १० लाख कमाउँछन् । हरेक वर्ष नेपालबाट २५० देखि २६० जनासम्म 'लर्न एन्ड अर्न' कार्यक्रममा इजरायल जाने गर्छन् ।

इजरायलमा विद्यार्थी पठाउने विश्वविद्यालयहरु भने यसअघि नेपाली विद्यार्थीहरूको सुरक्षाबारे समस्या नदेखिएको दाबी गर्छन् । इजरायल कृषि प्रविधिमा निकै अघि बढेको देश मानिन्छ । नेपाल पनि कृषि प्रधान देश भएका कारण इजरायलले त्यहाँका कृषि फार्महरूमा नेपालबाट पनि विद्यार्थी र किसानहरू लैजाने गरेको छ । 

इजरायलका नागरिकहरुले अनिवार्य रुपमा सैनिक सेवा दिनुपर्छ । त्यसैले त्यहाँका युवाहरुले खेतिपातीमा समय दिन सक्दैनन् । खेतीपातीमा काम गरे बापत इजरायललाई कृषि क्षेत्रमा योगदान पुग्ने र नेपालबाट जाने विद्यार्थीले पनि ११ महिनामा करिब १० लाख कमाउँछन् । हरेक वर्ष नेपालबाट २५० देखि २६० जनासम्म 'लर्न एन्ड अर्न' कार्यक्रममा इजरायल जाने गर्छन् । नेपालसहित अन्य देशबाट पनि इजरायलमा जाने विद्यार्थीहरू त्यहाँका दुर्गम क्षेत्रका कृषि फार्महरूमा काम गर्न जान्छन् ।