‘बिर्सूँ  कसरी–बिर्सौँ कसरी ?’

‘बिर्सूँ  कसरी–बिर्सौँ कसरी ?’

ज्ञानेन्द्र विवश  |  साहित्य  |  कार्तिक ३, २०८०

प्रकृतिले जस्तै सधैँ खुसी दिइराख्ने भए ...!? हेरौँ कतिञ्जेल हेरि रहौँ प्रकृतिका यी बिछट्ट सुन्दरताका दृश्यहरूलाई । सोचेका कुरा सबै पूरा हुने भए । सुनेका कुरा सधैँ सत्य हुने भए । चित्रकलाले जस्तै सधैँ कलात्मक सौन्दर्य बाँडिरहने भए ! रङहरूले जस्तै सधैँ मुस्कान दिइरहने भए ..!? 

अरू त अरू मान्छेले अजर र अमर जुनी पाउने भए । के मात्रै गर्न बाँकी राख्थे होला । सबै स्वाहा पार्थे । आफू मात्रै, आफ्नो मात्रै भकारी भर्थे । गुमाउनुभन्दा कमाउनुमा दिलो ज्यान दिइरहन्थे । आफ्नो गल्ती सबै बिर्सिन्थे र प्रगति पथमा मरि मेटेर लागिरहन्थे । 

एकै नजरमा मोहनी लगाउन आउने भए । एकछिनमा माया प्रीति गाँसिने भए ।

म बिर्सूँ  कसरी ? सम्झौँ कसरी ? हामी बिर्सौँ कसरी ? बिर्सेर विर्सन नसकिएका सम्झनाहरू ! कति–कति बग्रेल्ती छन् । सम्झेर बिर्सिएका सम्झनाहरू पनि झन् धेरै होलान्, हुन सक्लान् !

जीवन छउन्जेल हो जे गर्नु छ गर्ने । कसैसँग रिसाए पनि खुसाए पनि । बोले पनि नबोले पनि आफ्नै इच्छा हो जे गरे पनि ।

भगवान गौतम बुद्धले संसारमा असल मित्र पाउनुलाई सबैभन्दा ठूलो उपहार हो भनेका छन् । असल मित्र प्राप्तिको सम्भावना दुर्बल हुने रहेछ ।

कोहीसँग रिसाइन्छ । कोहीसँग खुसाइन्छ । धेरैसँग रमाइन्छ । थोरैलाई हँसाइन्छ । कसैले रूवाउँछन् पनि । कसैले उत्साहको खुसी दिन्छन् । कोहीले सताउँछन्, हैरान पार्छन् । जिन्दगीलाई सपार्ने र बिगार्नेहरू यहीँ छन् ।

जे होस् यति हुन्छ र न केही न केही अनुभूति गर्न पाइन्छ । खुसी मात्रै हुने भए, दुःख मात्र आइरहने भए, आँसु झरिरहने भए, हाँसो नभइ दिने भए के जीवन !? त्यो जीवन हुँदैन कदापि । अनुभव सँगाल्न पाइदैन केही पनि ।

मान्छेको मनभित्र को पस्न सक्छ र ! मान्छेलाई चिन्न सकिँदैन रहेछ । जतिसुकै नजिक र घनिष्ट भए पनि । जति माया र प्रेम गरे पनि । मनका सारा कुरा खोले पनि पराइ भनेको परकै हुने रहेछ । आफ्नो कहिल्यै हुन नसक्ने, हुन नचाहने । काम प¥यो भने नजिक हुने काम परेन भने कुनै मतलव नै नगर्ने । चिनेकै छैन जस्तो गर्ने । बोलीचाली नै बन्द गरेर बस्न सक्ने । तर्केर पर–परै हुने । 

कस्तो निष्ठुरी मन र मुटु होला ! कसरी चटक्कै टाढिन जानेको होला ! किन यति कठोर व्यवहार गर्न सकेको होला ! कसैलाई एउटा सानो र सामान्य शब्दले पनि घोच्ने, पोल्ने र पिरोल्ने रहेछ । कसैलाई प्रेरणा मिल्ने र जीवन दान नै पाए जस्तै हुने रहेछ । 

अचम्म लाग्छ, मानिसका स्वभाव, संस्कार र सद्भाव सम्झिँदा । फरक अनुहार जस्तै फरक हुने रहेछ चाल चरित्र पनि । मानिसलाई कहिले सानै कुराले पनि मन दुख्ने । कहिले ठूलो चोटले पनि केही नहुने हुँदोरहेछ । 

कसैको ज्यानै मार्ने ‘धम्की’ । कसैको ज्यान दिने ‘प्रीति’ । समानतामा पनि कति असमानताका पर्खालले घेरिएको दुई दिनको ‘जिन्दगी’ । माया गरेर पनि सुख छैन । घृणा गरेर त झन् सास्ती भोग्न तयार हुनुपर्छ । यस्ता कैयौँ विरोधाभासहरूलाई मेटाएर, बिर्सिएर हामी त्यसमा मिठास खोजौँ, मिठास भेटौँ र त्यसको रसास्वादन गर्दै जीवन्त जीवनको यात्रामा हिँडौँ, हिँडि रहौँ अनवरत ।

वस्तुतः हरेक समस्यालाई समस्या देख्न छाडेर अवसरमा रूपान्तरण गर्न सक्नु पो सक्नु हो । हरेक दुःखलाई सुखमा आमन्त्रण गर्न सक्नु पो सक्नु हो । दुःखलाई दुखी रूपमै ग्रहण गरिरहनु किन र ! दुःखपछिको सुख आहा रमाइलो हुन्छ । जिन्दगीकै सर्वाधिक उत्सव उदाउँछ त्यहाँ बिहानको कलिलो घाम भएर ।

कुनै पनि सुखमा दुखी जनलाई पीडा दिनु नजाती हो । पाप लाग्छ, धर्म भाग्छ त्यहाँ । कदापि पनि कसैलाई हेप्नु, हेला गर्नु, घिनाउनु, चिढ्याउनु गलत हो भन्ने कुरा मनन–महसुस गर्नुपर्ने रहेछ । बुझेर पनि बुझ पचाउनु अथवा कोमल मनलाई जानीजानी कठोर बनाउनु मन दुख्ने कुरा लाग्दोरहेछ । 

नजिकको मानिसले टाढाको ठान्नु र टाढाको मानिसले नजिकको मान्नु अनौठो र अचम्मको लाग्ने रहेछ । विश्वास नै गर्न नसकिने । अविश्वास पनि गर्न नसकिने रहेछ ।

जीवनमा अनेक मान्छे आउँछन्, जान्छन् । टाढा भए पनि कोही मन जितेर मनभित्र बसिरहन्छन् । कसैले हेपेर मन दुखाएर जान्छन् । नक्कली व्यवहार देखाउनेहरू यहीँ छन् । असली औकातले आत्मीयता गाँस्नेहरू पनि यहीँ छन् । बिर्सूँ  कसरी–बिर्सौँ कसरी

यी सबैलाई बिर्सूँ कसरी–बिर्सौँ कसरी ?! सम्झेर पनि सम्झनाका पानाहरू कति–कति । बिर्सेर पनि बिर्सनेलाई मनबाट मेटिनु कसरी ? 

को कस्तो हो, को के हो ? कसैको मनभित्र कोही पस्न सक्दैन । बोली र व्यवहारले हो मान्छे चिनिने । मनको कुरा बुझिने पनि ।

लड्दै मा उठ्नै नसक्ने भन्ने हुँदैन । उठ्दै मा कहिल्यै नलड्ने हुँदैन । हाँस्नेहरूले रुन विर्सन सक्लान् तर रुनेहरूले हाँस्न विर्सन्नन् । वस्तुतः आफ्नो धरातल नबिर्सिनु नै ठूलो कुरा हुने रहेछ ।

हिमाल पग्लिँदै मा हिउँ सकिँदैन । प्रकृति रूझ्दैमा सुन्दरता पखालिँदैन । ‘सम्बन्ध विच्छेद’ हुँदैमा ‘मन विच्छेद’ हुन सक्दैन । माया न गर्दैमा ‘अविश्वास’ गर्न मिल्दैन । माया गर्दैमा जिन्दगी नै ‘बलिदान’ दिनुपर्दैन । 

थोरै माया पनि धेरै हुन्छ । माया भन्नु भावनात्मक कुरा हो । यो सानो हुन्छ, देखिँदैन, देखाउन सकिँदैन । कसैले पनि सानो भनेर थोरै मानेर मायालाई तिरस्कार गर्नु, उपेक्षा गर्नु हुँदैन । थोरै माया झन् धेरै हुन्छ । कसैको मायालाई ‘खेलाँची ठान्नु’ र त्यसमा ‘स्वार्थ देख्नु’ हुन्न । माया त हिमाल जस्तै अटल र प्रकृति जस्तै सुन्दर हुन्छ । साँचो विश्वास र पवित्र प्रेम सबैभन्दा ठूलो कुरा हो ।

सबैलाई आ–आफ्नै जीवन प्यारो लाग्छ । आफ्नो दुःख सबैभन्दा ठूलो लाग्छ । आफ्नो गल्ती सानो लाग्छ । अरूको गल्ती ठूलो ठानिन्छ । गल्ती नगर्ने कोही हुँदैन । गल्तीलाई सच्याउने अवसर दिनुपर्छ । माफी दिएर सुध्रिने मौका दिनुपर्छ ।

आफ्नो सुख छोडेर कोही पनि कहिल्यै अरूको दुःखमा साथ दिँदैन रहेछ । आफ्नो सुख छोडेर कसैले पनि सहयोग, शुभेच्छा दिन गाह्रै हुने रहेछ । परन्तु कतिपय अवस्थामा भने विरोधाभाष परिस्थिति पनि निम्तिने रहेछ । आफ्नो गाँस कटाएर पनि अरूलाई खुवाउने धर्मात्माहरू पनि यहाँ भेटिन्छन् । अरूका भाग खोसेर आफू मात्रै खाने ‘साइँदुवा खन्चुवा’ पनि हुन्छन् ।

हरेक पल स्वार्थले ग्रसित जीवन । कुनै स्वार्थ नभई कोही पनि कसैसँग नजिक आउने बहाना गर्दैन रहेछ । अनायासै कोही नजिकिन आउँछ भने उबाट सचेत रहनु उत्तम हुने रहेछ । अन्यथा बर्बादीको खाडलमा नपरिएला भन्न सकिँदैन । विश्वासको सङ्कटले थला पर्दै गइरहेको वर्तमानमा ‘आफू भलो त जगतै भलो’ भन्ने भनाइ थाहा छैन, कति सत्य हो ।

केही पाउन केही गुमाउनुपर्छ । तर गुमाएर होइन त्यत्तिकै पाउन सबैलाई हत्तार हुन्छ । यही हतारले पाउनुको प्रतिफलमा अनेकौँ झमेला र झन्झटहरूका चाङ्गै चाङ ।

कसैको ज्यानै मार्ने ‘धम्की’ । कसैको ज्यान दिने ‘प्रीति’ । समानतामा पनि कति असमानताका पर्खालले घेरिएको दुई दिनको ‘जिन्दगी’ । माया गरेर पनि सुख छैन । घृणा गरेर त झन् सास्ती भोग्न तयार हुनुपर्छ । यस्ता कैयौँ विरोधाभासहरूलाई मेटाएर, बिर्सिएर हामी त्यसमा मिठास खोजौँ, मिठास भेटौँ र त्यसको रसास्वादन गर्दै जीवन्त जीवनको यात्रामा हिँडौँ, हिँडि रहौँ अनवरत ।

कतिका कुरामा विश्वास गर्ने नठानौँ । कसको बोलीलाई सत्ण्ठ ठान्ने ? को मान्छे सही र को चाहिँ गलत हो कसरी थाहा पाउने ? चिनेर पनि चिन्न सकिँदो रहेन छ मानिसलाई । सजिलो भन्नु मात्रै हो । मानिसको मनभित्र पसेर बुझ्न मुस्किल हुन्छ । आफूले आफैँलाई त चिन्न–बुझ्न सकिँदैन भने अरूको मनको कुरा कसरी बुझेर बुझिन्छ र !

वास्तवमा मानिस जस्तो अप्ठयारो, अपजसी र अवगुणी अरू कोही हुँदैन, हुनै सक्दैन रहेछ । डराउनुपर्छ भने मानिससँगै डराउनुपर्ने रहेछ । खुसी पाउनु छ भने पनि मानिससँगै पाउन सकिने रहेछ । आखिर मानिसबाहेक अरू कोही छैन ‘प्रिय जन’ पनि ‘दुष्ट मन’ पनि ।

किनभने आफू जतिसुकै राम्रो भए तापनि । आफूले कसैप्रति नराम्रो नसोँचे पनि । सद्भाव र शुभेच्छा प्रकट गरिरहे पनि प्रतिफल निकै नमीठो हुन सक्ने रहेछ । मायामा कहिलेकाहीँ आघात पनि आउने रहेछ । घातमा कहिले माया पनि जाग्ने रहेछ । प्रेममा विश्वासघात भए जस्तै त्यस्तै हुने रहेछ कहिलेकाहीँ नराम्रो महसुस, नमीठो अनुभूति ।

मानिसको सबैभन्दा सुन्दर वस्तु नै मन हो । अनुहार मात्र सुन्दर भएर हुँदैन मन सुन्दर हुनुपर्छ । घिन लाग्दो अनुहारले पनि मान्छेमा हार्दिकता पूर्ण सद्भाव हुन्छ । कुनै मान्छे कति सुन्दर चेहरा कि अप्सरा जस्तै तर तिनको बोली र व्यवहार कति अप्रिय हुन्छ । मान्छेका निर्दोष मनलाई रुवाएर हैरान पार्छन् ।

तथापि धेरै राम्रो हुनु पनि ठीक हुँदैन रहेछ । असल हुनु पनि उचित हुँदैन रहेछ । किनभने यसको प्रशंसा गर्नुसँगै कसैको प्रयोगमा परेर फँसिने डर हुने रहेछ । त्यसैले हामी अरूको लाभका लागि प्रयोग हुनु, गरिनु भनेको दुर्भाग्य हो ।

हामीले दुर्भाग्यमा सुभाग्य खोज्नुपर्ने रहेछ । बिर्सेका कुरा बिर्सिँदै, सम्झेका कुरा सम्झिँदै बाँच्नु नै जीवन रहेछ । नठानौँ कष्ट अतिशय दुःख पनि ‘बिर्सूँ  कसरी–बिर्सौँ कसरी ?’ ‘सम्झूँ कसरी, सम्झौँ कसरी ?’ भनी !