सात छोरीपछिको छोराे बचाउनै  धौ धौ

सात छोरीपछिको छोराे बचाउनै  धौ धौ

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ २३, २०७६

जुम्ला । जुम्ला जिल्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा हुनुहुन्छ । घरनजिकको स्कुल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उहाँ अस्पताल ल्याउनु भएको हो । अस्पतालमा उहाँले भन्नुभयो,–‘यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुुस डाक्टर’साब । यो छोरो रहेन भने म पनि रहनेछैन’ । 

बोगटीले  छोरा जन्माउनकै लागि सात छोरी जन्माउनुभयो । उहाँले छोराको आसमा सात छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दङ्ग परे । चिकित्सकले उपचार सुरु गरे । चिकित्सकको उपचारपछि उहाँका छोराको स्वास्थ्य अवस्था सुधारिँदै गइरहेको छ । ‘अहिले खेल्न र बोल् नसक्ने भएको छन्, बोगटीले भन्नुभयो,–‘कर्णाली अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो, छोरो नहुँदा म पनि यो संसारमा हुन्नथेँ होला, छोरो बाँचेकामा धेरै खुसी छु ।’

बोगटीका छोराको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उहाँका अनुसार छ छोरी जन्मिसकेपछि सातौँ पटक छोरा जन्मिएको हो । ‘छोराभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे’, बोगटीले भन्नुभयो,– यो समाज छोरा जन्मेकामा उत्सव मनाउँछ, छोरी जन्मेकामा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ । छोराकै आसमा सात छोरी भए । बिचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयन्त गर्दैछु ।’ 

अहिले उहाँका छ छोरीको विवाह भइसकेको छ । कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा रहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला । छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीनझैँ छु’।  कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले छोराको आसमा सात छोरी जन्माएका उहाँले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो,

‘जङ्गली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोइकराई गर्न थाले । तर बिहानै निको भएर छोरा बोल्न थालेपछि मुहारमा खुसी देखियो’ ।
सात छोरीको बिचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवाबासी चलेको उहाँ बताउहुन्छ । ‘निको भएर घर फर्कुँला भन्ने आस थिएन’, बोगटीले भन्नुभयो,–अब छोरा निको भएपछि खुसीसाथ घर फर्कँदै छु । छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ । अब खुसीका साथ फर्कन्छु, छोराले पुनः जन्म पायो’।