सुरेश राई | साहित्य | कार्तिक १६, २०८०
छ्या !
कस्तो रोचक हीन स्वभाव भए छु म त
केही रोचक तै छैन जिन्दगीमा १
रिस कहिल्यै यति सारो उठेन कि
ऐनामा मुड्की बजारूँ
र रगताम्मे हात पारेर
सताऊँ घरकाहरूलाई
तब आवस् कोही डराई डराई
मेरो छेऊ मल्हम पट्टी लिएर
मलाई फकाउनुलाई
धत् !
कस्तो साधारण कथा पो भएछु म त
सुन्दर र आकर्षक हुनै सकिएन,
कि म हिँड्दा हावा चलोस् वातावरणमा
र फर्की फर्की मलाई हेरून् मान्छेहरु
प्रेम पत्रहरूको आदत लागोस्
प्रशंसाहरूको दैनिकी रहोस्
कोही किन नआओस् पेस्तोल लिएर
कुनै बडा घरकी प्यारी छोरी
र ताकोस मेरो निधारमा
र रुँदै किन नमागोस् मेरो प्रेमको भिख
कोही किन नउठाओस् मलाई अपहरणकै शैलीमा
र हाक्का हाक्की भनोस् 'आई लव यू ड्यामिट'
अहँ, त्यस्तो कै भएन
अचम्म !
कस्तो शितल केटो भएछु म त
एउटै पनि दुश्मन कमाउन सकिएन
कि कहिल्यै लागेन कसैलाई निर्मम प्रहार गरुँ
यात कसैलाई होच्याउँ
या सानो ठूलो झगडा परोस्
कहिल्यै आफूलाई अग्लो देखाउन
अरुलाई पुड्को देखाइएन
आफ्नो पहिचान सर्व श्रेष्ठ हो भनेर
अरु कसैलाई दमन गर्न आएन
प्रिय !
तिमी अक्सर गुनासो गर्ने गर्छ्यौ कि
म कस्तो 'बोरिङ' मान्छे भएँ भनेर
तर आज सोच्छु कि
म जस्ता केही थान मान्छेहरूका हातमा
यो दुनियाँको शासन र शक्ति भइदिएको भए
यो विश्व यति रोचक त हुन्न थियो होला
तर हुन्नथ्यो कुनै इजरायल-प्यालेष्टाइन युद्ध
हुन्नथ्यो कुनै मणिपुर लज्जा
अथवा रसिया-यूक्रेन विध्वंस
न इतिहासमा घट्थ्यो कुनै 'रेप अफ नानकिंग'
न जल्थ्यो हिरोसिमा-नागासाकी
न हुन्थ्यो कुनै रक्तपात या नरसंहार
अरु त अरु हुन्नथ्यो कुनै धोका धडी समेत
यो संसार अरु बेसी सुरक्षित हुने थियो
अझ असल शान्त र बाँच्न लायक हुने थियो
साँच्चै नै !
म जस्तै रोचक हीन मान्छेहरुको जत्थाले
यो विश्व सम्हालेको भए
प्रिय !
भौतिक विकास थोरै हुन्थ्यो होला
तर धेरै धेरै जाति दुनियाँ हुने थियो
न युद्ध हुन्थ्यो न त पाप
न कुनै कुकर्म हुने थियो न अपराध नै !