भोको पेट भर्न र शरिर ओताउने ओतको खाेजीमा भूकम्प पीडित

भोको पेट भर्न र शरिर ओताउने ओतको खाेजीमा भूकम्प पीडित

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक १९, २०८०

शुक्रबार राति मध्य निद्रामा रहेका जाजरकोट र रुकुम पश्चिममा जनताका लागि नमीठो सपनाजस्तै बनेर आयो, भूकम्प । बेलुका सधैं जस्तै खाना खाएर सुतेका उनीहरुलाई भूकम्पले ब्युँझायो ।

जुन भूकम्पमा परेका १५७ जना बढी सधैंका लागि निदाएको निदायै भए । जाजरकोट र रुकुम पश्चिम यतिबेला शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

एकातिर उनीहरुले आफन्त गुमाउनुको पीडा छ भने अर्कोतिर घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट माटो र ढुंगाले बनेका अधिकांश घरहरु ध्वस्त बनेका छन् । जसका कारण मध्यरातमा घरमा सुति रहेकाहरु भूकम्पमा परेका छन् । प्रहरीका अनुसार भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पपछि २५० भन्दा बढी परकम्प गएका छन् । 

एकातिर भूकम्पले घरबार बिहीन बनेको र अर्कातिर खाद्यन्न पनि घरसँगै पुरिँदा धेरै भूकम्प पीडित भोकै खुला आकाशमुनि रात बिताउन बाध्य भए । भूकम्पले जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा बढी भौतिक क्षति भएको छ । जहाँ माटो र ढुङ्गाबाट बनेका धेरैजसो घर क्षतिग्रस्त बनेका छन् । कतिपय पुराना बस्तीहरु माटोको धुप्रो जस्तो देखिएका छन् । नढलेका घरहरुमा पनि आंशिक क्षति भएको छ । 

भूकम्पले आधुनिक र सिमेन्टेड घरहरुमा खासै क्षति नभए पनि परम्परागत घरहरुमा धेरै क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पका कारण तत्कालीन जाजरकोट दरबारमा समेत चिरा परेको छ । प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरिरहेको छ ।

गृह मन्त्रालयले शनिवार साँझ जाजरकोट र रुकुम पश्चिम जिल्लाका विपद् व्यवस्थापन कोषमा तत्कालै पाँच करोड रुपियाँ पठाउने निर्णय गरेको थियो । साथै खोज तथा उद्धारका लागि विशेष टोली खटाउने पनि निर्णय गरेको थियो । भूकम्प लगत्तै दुःख व्यक्त गर्दै भारत, चीन, अमेरिका, रुससहितका देशहरुले भूकम्प प्रभावितहरुका लागि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्

घरहरु भत्किएका र चिरा परेका कारण भूकम्प पीडितले खुला आकाशमा र पालमुनि कष्टकर रात बिताएका छन् । भोको पेट भर्न र शरीर ओताउने ओतको खोजीमा भूकम्प पीडितको मुख्य समस्या देखिएका छन् । चिसो मौसम सुरु भएको समयमा घरबाहिर बस्दा चिसोका कारण झनै धेरै समस्या भएको स्थानीय भूकम्प पीडितहरुले बताएका छन् । 

शुक्रबार राति शक्तिशाली भूकम्प गएपछि धेरैजसो स्थानमा सरकारी स्तरबाट पालको व्यवस्था गरिए पनि चिसोमा पुलमुनि बस्न कठिन भएको छ । जाजरकोटका भूकम्प प्रभावितहरुको उद्धारको काम अन्तिम चरणमा पुगेको प्रहरीले जानकारी दिएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावित भएकाहरुको उद्दारका लागि संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो शक्ति परिचालन गरेका छन् । शनिबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतका लागि आवश्यक निर्देशन दिएका थिए । भूकम्प प्रभावितलाई स्थानीय, प्रदेश र संघीय सरकारले शनिबारदेखि नै राहत सामग्री वितरण सुरु गरिसकेका छन् । 

नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा राखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन हेलिकोप्टर सुर्खेतमा राखिएको छ । राहत दुरुपयोग हुन नदिन गृह प्रशासनको नेतृत्वमा राहत वितरणको काम अघि बढाइने तयारी छ । गृह मन्त्रालयले शनिवार साँझ जाजरकोट र रुकुम पश्चिम जिल्लाका विपद् व्यवस्थापन कोषमा तत्कालै पाँच करोड रुपियाँ पठाउने निर्णय गरेको थियो । साथै खोज तथा उद्धारका लागि विशेष टोली खटाउने पनि निर्णय गरेको थियो । भूकम्प लगत्तै दुःख व्यक्त गर्दै भारत, चीन, अमेरिका, रुससहितका देशहरुले भूकम्प प्रभावितहरुका लागि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।