पुर्ननिर्माणका जटिलता: जाजरकोटका ९१ विद्यालयक भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त

पुर्ननिर्माणका जटिलता: जाजरकोटका ९१ विद्यालयक भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २०, २०८०

शुक्रबार राति गएको भूकम्पको क्षतिको विवरण संकलन करिब सकिएको छ । भूकम्पबाट ७ वटा जिल्लामा ३ हजार ७७० घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पबाट सबैभन्दा बढी जाजरकोटमा ९०५ घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ । 

सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ भने रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ । दैलेखमा एक घर पूर्ण रुपमा र एक घरमा आंशिक क्षति पुगेको छ भने नवलपरासी पूर्व र बैतडीमा एक एक घरमा क्षति पुगेको छ । 

गृह मन्त्रालयले दिएको विवरण अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ । शुक्रबार मध्यराति गएको भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै जाजरकोटका १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमा १३२ जना, जाजरकोटमा ११२ जना, सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन् । 

‘तीन दिन राहतका निम्ति अधिकतम पहल गरौं र प्रभावकारी रुपमा पुनस्र्थापनाको काम गरौं । भइरहेको ऐन, विधि र संरचनाले पुर्ननिर्माणको काम प्रभावकारी देखिएको छैन । २०७२ मा पनि कुरा त भयो, तर प्रभावकारी भएन, त्यो हो– भूगोलको अध्ययन गर्ने । कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ । त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ । यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्ने तिर सोच्नुपर्छ ।’

जाजरकोटका २१३ विद्यालय भवनमा क्षति

भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । जसमा ९१ वटा विद्यालय भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

भूकम्पका कारण ३६६ वटा कक्षा कोठाहरु पूर्ण रुपमा र ४७६ वटा कक्षा कोठाहरूमा आंशिक रुपमा क्षति भएको छ । भूकम्पमा परी एक जना शिक्षक र ११ जना विद्यार्थीको मृत्यू भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भए भएको छ । यद्यपि यी स्वास्थ्य संस्थाको सेवा सुचारु छ । 

पुर्ननिर्माणको के भन्छ सरकार ?

शुक्रबार मध्यराति भूकम्प गएपछि शनिबार बिहानै प्रधानमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर खोजी तथा उद्दारमा जुट्यो । प्रधानमन्त्री गएकै हेलिकोप्टर घाइतेहरुलाई अस्पताल लैजान प्रयोग गरियो । प्रधानमन्त्री आफू गएको हेलिकोप्टर उद्दार कार्यका लागि परिचालित गरे आफू नियमित उडानमार्फत काठमाडौं फर्किए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

उनले नियमित प्रक्रियाबाट पुनर्निर्माण कठिन रहेको भन्दै विशेष व्यवस्था गरेर भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यलाई अघि बढाउने पनि बताएका छन् । उनले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउने बनाउन गम्भीर हुन पनि मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । उनले भूकम्पपछि राजनीतिक दलहरु, सबै तहका सरकारले खोज, उद्दार र उपचारका लागि लिएको पहलका लागि धन्यवाद दिँदै अब राहत र पुनःस्थापनातर्फ केन्द्रित हुन आग्रह गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘तीन दिन राहतका निम्ति अधिकतम पहल गरौं र प्रभावकारी रुपमा पुनस्र्थापनाको काम गरौं । भइरहेको ऐन, विधि र संरचनाले पुर्ननिर्माणको काम प्रभावकारी देखिएको छैन । २०७२ मा पनि कुरा त भयो, तर प्रभावकारी भएन, त्यो हो– भूगोलको अध्ययन गर्ने । कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ । त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ । यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्ने तिर सोच्नुपर्छ ।’