राजेशपायल राईले अमेरिकाको कोलोराडोमा मच्चाए धमाका

राजेशपायल राईले अमेरिकाको कोलोराडोमा मच्चाए धमाका

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक २१, २०८०

अमेरिका । नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक प्रस्तुतिको लागि अमेरिकामा छन्। मेगास्टार गायक राईले अमेरिकाको कोलोराडोमा साङ्गीतिक धमाका मच्चाएको खवर छ । 

बडा दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानको अवसरमा रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालद्वारा हिजो कोलोराडोमा आयोजित सांस्कृतिक  कार्यक्रममा गायक राईले आफ्नो धमाकेदार सांगीतिक प्रस्तुती दिएका थिए।

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा गायक राईले मैले मायाले दिएको चिनो बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका थिए।त्यसपछि उनले क्रमशस् दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार लगायतका गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।गायक राईको सांगितिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए भने रकी माउन्टेण्डका अध्यक्ष अर्जुन बगालेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

द भ्वाइस अफ नेपालको कोचसमेत रहेका गायक राई  'राई इज किङ'  को उपनामले चर्चित छन् भने विदेशमा रहेका नेपालीले आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि सर्वाधिक माग हुने गायक हुन्। आयोजकका अनुसार अमेरिकाको बाल्टिमोर, कोलम्बस लगायत विभिन्न आधा दर्जन राज्य एवं सहरहरुमा गायक राईको सांगीतिक कार्यक्रमहरु  रहेका छन्।