अमेरिकास्थित ड्यालस काउन्टी कमिशनर कोर्टद्वारा दीपावली पर्वलाई मान्यता: सार्वजनिक बिदा दिइने

अमेरिकास्थित ड्यालस काउन्टी कमिशनर कोर्टद्वारा दीपावली पर्वलाई मान्यता: सार्वजनिक बिदा दिइने

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक २४, २०८०

अमेरिका ।अमेरिकामा नेपाली तथा भारतीय समुदायको बाक्लो बसोबास रहेको टेक्सस स्थित ड्यालस काउन्टी कमिशनर कोर्टद्वारा दीपावली पर्वलाई मान्यता दिएको छ ।

ड्यालस काउन्टी कमिशनर कोर्टले नोभेम्बर ७ मङ्गलवार दीपावली पर्वलाई मान्यता दिने निर्णय गरेको हो ।

नेपाली तथा भारतीय समुदायका अभियन्ताहरूले दीपावली पर्वलाई काउन्टी स्तरमा मान्यता दिइनु पर्ने सङ्कल्प प्रस्ताव काउन्टी कमिशनर कोर्टमा दर्ता गराएका थिए ।

ड्यालस काउन्टी कमिशनर कोर्टले नेपाली तथा भारतीय समुदायका अगुवाहरूको उपस्थितिमा उक्त निर्णय गरेको नेपाली समुदायका अगुवा मोहन ज्ञवालीले जानकारी दिनु भयो । 

उक्त अवसरमा नेपाली समाज टेक्सस, नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) , ब्लड डोनर्स अफ अमेरिका, एलाइन्स फर अमेरिका फरवार्ड, डिएफडब्लु श्री कृष्ण प्रनामी हिन्दु समाज टेक्सस, एभरेस्ट फेडरल क्रेडिट युनियन, लुम्बिनी सेवा समाज, गैर आवासीय नेपाली सङ्घ टेक्सस च्याप्टर, डेभलपमेन्ट फर पिस इन्टरनेशनल लगायत नेपाली तथा भारतीय समुदायका अगुवा अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

ज्ञवालीका अनुसार दीपावली पर्व सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएपछि ड्यालस काउन्टी अन्तरगतका १६ वटा सिटीमा दीपावली पर्वमा सार्वजनिक बिदा दिइने समेत जनाइएको  छ । दीपावली पर्वलाई टेक्सस राज्यका निकायहरुबाट मान्यता दिइनु पर्ने भन्दै टेक्ससका नेपाली तथा भारतीय समुदायका अगुवा अभियन्ताले लामो समय माग देखि पैरवी गर्दै आएका थिए ।

ड्यालस काउन्टी कमिशनर कोर्टबाट दीपावली पर्व सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएपछि नेपाली तथा भारतीय समुदाय हर्षित भएका छन् । सङ्कल्प प्रस्ताव कमिशनर कोर्टबाट पारित भएपछि खुशी व्यक्त गर्दै नेपाली तथा भारतीय समुदायको लोकप्रिय पर्व दीपावलीलाई सिटी, काउन्टी तथा राज्य स्तरबाट पनि मान्यता दिलाउन पहल गर्नुपर्ने नेपाली समुदायका अगुवा ज्ञवालीले बताउनु भयो ।