एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो हार, भारतसँग ६ विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो हार, भारतसँग ६ विकेटले पराजित
दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्दै भारतका युजबेन्द्र चहल । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २३, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पराजय भोग्ने क्रममा दक्षिण अफ्रिका बुधबार भारतसँग ६ विकेटले पराजित भएको छ ।

दक्षिण अफ्रिकाले पेश गरेको २२८ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर १५ बल अगावै पूरा गर्यो । टिमलाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अभिजित रहँदै १२२ रनको योगदान दिए । यस्तै, महेन्द्रसिंह धोनीले ३४, केएल राहुलले २६, विराट कोहलीले १८ रन जोडे । हार्दिक पाण्ड्याले अभिजित रहँदै १५ रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो रवाडाले दुई, क्रिस मोरिस र एन्डिले फेहलुकवायोले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २२७ रनको सामान्य स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाका क्रिस मोरिसले सर्वाधिक ४२ रन जोडे । यस्तै, कप्तान फाप डु प्लेसिसले ३८, एन्डिले फेलुकवावोले ३४, डेभिड मिलरले ३१, रसी भेन डर डुसेनले २२ रन जोडे । कागिसो रवाडाले अभिजित रहँदै ३१ रनको योगदान दिए ।

बलिङतर्फ भारतका युजबेन्द्र चहलले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ५१ रन खर्चिए । यस्तै, जसप्रित बुमराहले २ विकेट लिए । भारतका तर्फबाट सबैभन्दा बढी किफायती बलिङ गरेका उनले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चिए । भुवनेश्वर कुमारको नाममा पनि दुई विकेट रह्यो । उनले खेलको अन्तिम ओभरमा दुई विकेट चट्काए । कुलदीप यादवको नाममा १ विकेट रह्यो ।

खेलको प्लेअर अफ दि म्याच रोहित शर्मा घोषित भए ।

यसअघि साउथ अफ्रिका इग्ल्याण्ड र बंगलादेशसँग पराजित भएको थियो ।