राजेशपायल राईद्वारा अमेरिकाको कोलम्बसमा मच्चाए लगातार ३ घण्टासम्म धमाका

राजेशपायल राईद्वारा अमेरिकाको कोलम्बसमा मच्चाए लगातार ३ घण्टासम्म धमाका

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २६, २०८०

अमेरिका ।  नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक प्रस्तुतिको लागि अमेरिकामा रहेका छन्। मेगा स्टार गायक राईले अमेरिकाको कोलम्बसमा साङ्गीतिक धमाका मच्चाएका छन्। 

हिजो अमेरिकाको कोलम्बसमा आयोजित 'राजेश पायल राई लाइभ कन्सर्ट'  कार्यक्रममा गायक राईले आफ्नो लगातार ३ घण्टासम्म धमकेदार सांगीतिक प्रस्तुती दिएका थिए।

गायक राईले मायाको लागि आइपरे ज्यान पनि बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका थिए।त्यसपछि उनले क्रमश: मैले मायाले दिएको चिनो, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार लगायतका गीतद्वारा दर्शकलाई ३ घण्टासम्म मन्त्रमुग्ध बनाएका थिए।गायक राईको सांगितिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए।

'कोलम्बसमा यो स्तरको कार्यक्रम कहिले भएको थिएन, यो पहिलो ऐतिहासिक कार्यक्रम हो'आयोजक राजा प्रधानले बताए।अनुमान गरिए भन्दा ३ गुणा दर्शक उपस्थित भयको कारणले गर्दा दर्शकलाई फर्काउनु परेकोले आफूलाई दुःख लागेको उनले बताए।

द भ्वाइस अफ नेपालको कोचसमेत रहेका गायक राई  'राई इज किङ' को उपनामले चर्चित छन् भने विदेशमा रहेका नेपालीले आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि सर्वाधिक माग हुने गायकमा पर्छन्। आयोजकका अनुसार अमेरिकाको कोलोराडो, कोलम्बस लगायत राज्य एवं शहरहरुको कार्यक्रम पछि आज अमेरिकाको बाल्टिमोरमा गायक राईको भव्य कार्यक्रम रहेको छ।