सन्तान लखेट्ने शिक्षा! सच्याउन जरुरी छ !! तर गर्ने कस्ले ?

सन्तान लखेट्ने शिक्षा! सच्याउन जरुरी छ !! तर गर्ने कस्ले ?

अमृतनाथ तिमल्सिना  |  शिक्षा  |  कार्तिक २८, २०८०

शिक्षा अर्थात् सिकाइको कुनै सीमा हुँदैन । विश्वविख्यात शिक्षाविद्हरुले ‘शिक्षा कोक्रोबाट सुरु भएर चिहानमा गएर अन्त हुन्छ भनेर भनेका छन् ।  तर पूर्वीय दर्शनशास्त्रले त्यो मान्यतालाई पनि अझ परिस्कृत गर्दै ‘शिक्षा ज्ञान जन्म पूर्व अर्थात गर्भावस्थामा नै सुरु भएर भौतिक देह समाप्त भएपश्चात युग युगसम्म अमर रहन्छ’ भन्ने मान्यता तथ्यपरक ढङ्गबाट प्रमाणित गरेका छन् ।अष्टवक्र देखि अभिमन्युले गर्भावस्थामा प्राप्त गरेको ज्ञानका सन्दर्भहरूलाई व्याख्या गरेर शिक्षा अर्थात् ज्ञान र सिकाइ क्रियाकलाप गर्भावस्थादेखि सुरु हुने मान्यता स्थापित गरेका छन् । पूर्वीय दर्शनशास्त्रले व्याख्या गरेका यी मान्यताहरुलाई आधुनिक विज्ञानले पनि पुन: पुष्टि गर्दै गर्भावस्थामा आमा र आमाको सन्निकट हुने भौतिक, सामाजिक र मनोवैज्ञानिक परिवेशहरूले गर्भमा भएको बालबालिकालाई असर गर्ने तथ्यलाई प्रमाणित गरेको छ । यसरी आमाबुबा र परिवारसँग यतिधेरै  जोडिएको सिकाइ क्रियाकलापको निरन्तरता र विकासमा पनि अभिभावकको महत्व र योगदान कति हुन्छ भन्ने कुरालाई कसैले व्याख्या गरेर सीमाङ्कन सक्ने अवस्था छैन । तर तथ्यहरुले के प्रमाणित गरेको छ भने अभिभावकको सद्व्यवहारमा रहेको बालबालिकाको मानसिक र मनोवैज्ञानिक स्वस्थताको कारण सिकाइ क्रियाकलापमा सकारात्मक असर पर्छ ।

बालबालिकाहरू जन्मेदेखि उसको शिक्षा प्राप्त गर्ने अधिकार संसारभर नै अहरणीय अधिकारको रूपमा परिभाषित भईरहेको विश्व परिवेशमा शिक्षालाई समाजको आवश्यकताअनुसार परिभाषित गर्ने काम भईरहेको छ । परिभाषित र व्याख्या गर्ने सन्दर्भमा शिक्षालाई औपचारिक, अनौपचारिक, सैद्धान्तिक, व्यावहारिक, प्राविधिक आदि आदि नामले सिमाङ्कन गर्ने गरिएको पाइन्छ । आधुनिक समाजमा सिकाइलाई शिक्षाको औपचारिक दायरालाई विस्तार गर्ने र शिक्षा प्राप्त अधिकारलाई आम नागरिकको आधारभूत अधिकारको रुपमा स्थापित गराउने अभ्यासहरु भईरहेका छन् ।

संयुक्त  राष्ट्रसंघको मानवअधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्रको धारा २६ शिक्षा सम्बन्धि हक व्यवस्था गरिएसँगै आधुनिक समाजमा विश्वव्यापी रूपमा शिक्षाको अधिकारको बहस सुरु भएको हो । कानुनी रुपमा शिक्षाको हकलाई मानवअधिकारको रुपमा सुनिश्चित गर्ने विश्वव्यापी अभियानमा आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६८, बाल अधिकारसम्बन्धी महासन्धि १९८९, सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि १९७९, आदिवासी तथा जनजाति सम्बन्धि महासन्धि १९८९ ले थप बल प्रदान गरेका हुन् ।

सन् २००० को संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको घोषणापत्रद्वारा प्रतिबद्धता गरिएको सहस्राब्दी विकास लक्ष्यले २०१५ सम्ममा गरिबी उन्मुलनका लागि ८ वटा विशेष सङ्कल्पहरू गरेको थियो । त्यसको अधिकांश पक्ष गुणस्तरीय, समान, प्रविधियुक्त र व्यावहारिक शिक्षालाई नै बढी प्राथमिकतामा राखिएको थियो । २०१५ को संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलनको प्रतिबद्धता अनुसार २०३० सम्ममा गरिबी निवारणका लागि निर्धारण गरिएका दिगो विकास लक्ष्य  अन्तर्गत गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाइलाई गरिबी निवारणको आधारको रुपमा हेरिएको छ । यसरी मानव जीवनको एउटा अभिन्न पक्षको रुपमा शिक्षालाई औपचारिक रुपमै स्थापित गरिएको छ ।

यस्तो महत्वपूर्ण शिक्षा कस्तो हुनुपर्छ त ? आमाको गर्भ र बाबुको सामिप्यतासँगै सकारात्मक र सिर्जनात्मक स्तरवृद्धि हुने शिक्षालाई कसरी जीवनोपयोगी, विकासको महत्वपूर्ण पक्ष हो । संसारभर आधुनिक समाज विकासको जगको व्यावहारिक र समाज सापेक्ष बनाउन सकिन्छ भन्ने खोज अहिलेको शैक्षिक भूमिका खेले शिक्षा मूलतः वैज्ञानिक, प्रतिष्पर्धा नवप्रवर्तनात्मक  प्रविधिमैत्री रोजगारमूलक र अनुसन्धानमूलक हुनैपर्छ भन्नेमा विश्व एकमत छ ।

विश्वभर प्रतिस्पर्धी र सामाजिक आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने  प्रणाली संस्थागत विकास र अन्वेषणहरू भईरहेका छन् । व्यक्तिको व्यक्तिगत, आर्थिक पेशागत प्रवर्द्धनलाई आधार मान्दै समाजको व्यवस्थापनका लागि वर्गीकरण गरिएको मानिन्छ । आधुनिक शिक्षामा पनि सामाजिक व्यवस्थापन सहित दिगो शिक्षाका लागि पेशाको वर्गीकरण र पेशामा आधारित शैक्षिक प्रणाली निर्माण गर्ने अभ्यास छ । शैक्षिक प्रणालीहरु यही अधारमा विकास गरिएका छन् । 

वि.सं. १९१० मा दरबार हाइस्कुलको स्थापना सँगै नेपालमा आधुनिक सुरुवात भएको हो । शिक्षा क्षेत्रलाई सरकारी तवरबाट व्यवस्थापन गर्ने निकायको रुपमा वि.सं १९१५ मा शिक्षा विभागको स्थापना, १९७५ मा त्रिचन्द्र कलेजको स्थापना र १९९० मा एसएलसी बोर्डको गठन भएको पाइन्छ । हाम्रो आधुनिक शिक्षा परम्परागत समाजलाई थोरै शैक्षिक र आधुनिक बनाउने, सभ्य र सुसंस्कृत बनाउने हुँदै विस्तारै प्राविधिक र व्यावसायिक एवम् प्रतिष्पर्धा बन्दै गएको छ । नेपालको संविधान २०७२ सम्म आइपुग्दा संवैधानिक र कानुनी हिसावले शिक्षा नागरिकको आधारभूत र मौलिक हकको रुपमा परिभाषित गरिएको अवस्था छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय सरकारको जिम्मेवारी वा अधिकार क्षेत्रमा राखेको छ ।

प्रतिस्पर्धी र गुणात्मक शिक्षाको प्रतिस्पर्धीले गर्दा प्रारम्भिक तहमा विद्यार्थीहरुलाई परिवारबाट टाढा गराउने र क्रमश टाढा गराउदै किताबी ज्ञान र विश्वस्तरीय प्रतिस्पर्धीको दौडमा दौडाउँदा व्यावहारिकता सामाजिक भावनात्मकता लगायतका पक्षहरु कमजोर बन्दै गएको विषयमा अनुसन्धाता मनोविद् तथा शिक्षाविद्हरुले पनि चिन्ता व्यक्त गर्न थालेको अवस्था छ । पूर्वीय दर्शनले व्याख्या गरेको र आधुनिक शैक्षिक विकासको नमूना फिनल्याण्डको शैक्षिक प्रणालीलाई हेर्ने हो भने बालबालिकाहरुलाई ८ वर्षसम्मको  अवस्था पूर्णतः बालमैत्री वातावरण र खेल तथा पारिवारिक वातावरण साथी भाइमा घुलमिल हुन दिनुपर्छ । त्यसपछिको अवस्थामा बालबालिक रुची, उसको सामाजिक परिवेशको आवश्यकताका आधारमा प्राविधिक जीवनोपयोगी शिक्षा दिनुपर्छ । तर हाम्रो अभ्यास बाल्यावस्था मै कक्षा कोठामा  सीमितता पाठ्यक्रम र पाठ्यपुस्तक केन्द्रित शिक्षा थोपरिएको छ। परिवारदेखि विद्यालयसम्म पुस्तक नै पढ्न बाध्य पार्ने, त्यही पुस्तक स्टानलाई नै योग्यताको आधार बनाउने र त्यसकै फ्रेमबाट हेरेर विशिष्ट क्षमता भएकालाई अयोग्य ठहर गर्दै वाल मानसिकतामा असर पार्ने काम भईरहेको छ। यो कालीन र जीवन ज्ञानका दृष्टिबाट अत्यन्त बेठिक अभ्यास हो ।

माध्यमिक तहको शिक्षादेखि नै बालबालिकामा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने कुराले मानसिक छाप पारिरहेको हुन्छ। नेपालमा उच्च शिक्षाको व्यावहारिकता अभावका कारण बढेको शैक्षिक बेरोजगारी र अव्यवहारिक डिग्रीहरूको अन्योलले गर्दा पनि विद्यार्थीहरूमा शिक्षाबाट भाग्ने खालको अवस्था देखिन्छ ।

नेपालको पछिल्लो शैक्षिक तथ्याङ्क (२०७८ को) हेर्ने हो भने २० हजार ७ सय सामुदायिक र ५ हजार ८ सय १३ संस्थागत गरी कूल ३५ हजार ५ सय ३१ विकास केन्द्रहरु छन् । तिनमा १० लाखभन्दा बढी बालबालिकाहरु प्रारम्भिक विकास केन्द्रमा अध्ययनरत छन् । यी बालविकास केन्द्रहरु अधिकांशमा विश्वस्तरीय ब्राण्डका भनिएका स्कुलहरुमा नाम निकाल्ने कुरालाई प्राथमिकता दिएर प्रचार प्रसार गर्ने गरिएको पाइन्छ । उनीहरुको ध्यान बालमैत्री व्यवहार, खेल र वातावरण अनुसारको जीवनशैली विकासतर्फ गएको पाइँदैन । ४ वर्ष मुनिको बालबालिकालाई शिशु विकास केन्द्रमा राखेरै किताब कापीका झोलाको अभ्यास गराइन्छ । २ देखि अढाइ वर्षबाट शिक्षाका लागि घरबाट खेदिएको महसुस गरेको बालबालिका शिशु विकास केन्द्र, प्रारम्भिक बालविकास केन्द्र हुँदै प्राथमिक तहका कक्षाहरूमा जहिल्यै होमवर्क, क्लास वर्क, प्रोजेक्ट वर्कको तनावले थिचिएको हुन्छ । अभिभावक र शिक्षक शिक्षिकसँग भाग्दै पुस्तकबाहेक अन्यत्र कतै ध्यान दिन नसक्ने बनिरहेको हुन्छ ।

आधारभूत तहको कक्षा सक्दै माध्यमिक तहको कक्षा सुरु हुने बेलाको पढाइ उच्च शिक्षामा कुन देशतर्फ जाने भन्ने कुराले पछिल्ला केही वर्षहरु प्रभावित भईरहेका छन् । माध्यमिक तहको शिक्षादेखि नै बालबालिकामा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने कुराले मानसिक छाप पारिरहेको हुन्छ। नेपालमा उच्च शिक्षाको व्यावहारिकता अभावका कारण बढेको शैक्षिक बेरोजगारी र अव्यवहारिक डिग्रीहरूको अन्योलले गर्दा पनि विद्यार्थीहरूमा शिक्षाबाट भाग्ने खालको अवस्था देखिन्छ ।

कक्षा १ मा ९६ दशमलव ३ प्रतिशत खुद भर्ना दर रहेकोमा आधारभूत तहको शिक्षा पुरा गर्दा ७६ दशमलव २ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ। शैक्षिक २००८ को तथ्याङ्कले कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर ८५ दशमलव १. कक्षा १० सम्मको टिकाउ दर ६६ दशमलव १ प्रतिशत र कक्षा १२ सम्मको दर ३ दशमलव १ प्रतिशत रहेको छ । यसले पनि विद्यार्थीहरु शिक्षादेखि भागिरहेका छन् । राज्यले विद्यार्थीहरुलाई शिक्षाको आवश्यकता बुझाएर अड्याउन सकेको छैन ।

हाल नेपालको उच्च शिक्षाको विकासलाई संस्थागत रुपमा हेर्ने हो भने १२ वटा विश्वविद्यालय र ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छन् । विश्वविद्यालय र प्रतिष्ठान अन्तर्गत १५० वटा आंगिक र १ हजार २७७ वटा सम्बन्धन प्राप्त क्याम्पसहरू सञ्चालनमा छन् । यसमा ५२ दशमलव १२ प्रतिशत निजी, ३७ दशमलव ३ प्रतिशत सामुदायिक र १० दशमलव ५८ प्रतिशत आंगिक छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत हालसम्म ४५ बहु÷प्राविधिक शिक्षालय, ३९७ वटा प्राविधिक शिक्षा प्रदायक सामुदायिक विद्यालय र ४२९ वटा निजी लगानीका प्राविधिक शिक्षालय सञ्चालनमा रहेका छन् ।

उच्च शिक्षामा प्राविधिक तर्फ विद्यार्थी भर्ना दर २२ दशमलव ७१ प्रतिशत  मात्रै छ । त्यसैगरी माध्यमिक शिक्षा (कक्षा ९–१२) का ४३४ वटा सार्वजनिक विद्यालयहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। अहिले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदायक संस्थाहरूको सङ्ख्या १३०५ पुगेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये ६५५ स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ । व्यावसायिक तथा प्राविधिक शिक्षाले बाहेक औपचारिक शिक्षाले विद्यार्थीलाई शैक्षिक संस्थाबाट टाढा र परिवारबाट झन् टाढा पठाउने गरेको देखिएको छ ।

औपचारिक भनिने पुस्तक केन्द्रित शिक्षाले विद्यार्थीलाई परिवार समाज व्यावहारिक जीवनबाट टाढा लखेटिरहेको महसुस गर्दै नेपालमा अध्यापन मोडललाई प्रविधि बनाउने र पाठ्यक्रम वा शैक्षिक प्रणालीलाई जीवनोपयोगी र व्यावहारिक बनाउने  प्रयास भएको छ । ४० प्रतिशत पाठ्यक्रम प्रविधिको माध्यमबाट कार्यान्वयन गर्ने नेपाल सरकारको सोच पनि सार्वजनिक भएको छ। जुन सकारात्मक हो । सार्वजनिक र निजी विद्यालय गरी ३५ हजार ५५विद्याल अत्यन्तै कम विद्यालयहरु र शैक्षिक जिम्मेवारी पाएका स्थानीय तह अत्यन्त कमले मात्रै स्थानीय आवश्यकतामा आधारित मौलिक पाठ्यक्रमहरू निर्माण गर्दै, व्यावहारिक र जीवनोपयोगी शिक्षा दिने अभ्यास गरेका छन् ।

समयमा हाम्रो पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक सिकाइ विधि र विद्यार्थीहरूमा विकास गराइएको शैक्षिक गन्तव्यले बालबालिकाहरुलाई अभिभावक र समाजबाट टाढा लगिरहेको छ । यथार्थ र व्यावहारिकताभन्दा आधुनिकता, आविष्कार अलगावतर्फ उत्प्रेरित गरिरहेको छ । विकासलाई मापन गर्ने आधारहरु भन्दा अनुभव आधारहरूबाट पनि हेर्ने हो भने हाम्रो शिक्षा प्रणालीलाई सच्याउन जरुरी । मानिसको जैविक विकासलाई प्रतिकुल नहुने गरी सिकाइ क्रियाकलापको व्यवस्थापन गर्न जरुरी छ ।

अमृतनाथ तिमल्सिनाको हालै सार्वजनिक पुस्तक 'समृद्धि सरोकार' बाट