त्यो मध्यपहाडी ठिटो

त्यो मध्यपहाडी ठिटो

सुरेश राई  |  साहित्य  |  मंसिर ३, २०८०

ट्याम्के र साल्मे हाराहार
हामी चेली माइती बराबर 
सै सै ला है हुर्रा हा हा।।।
जति गाइए होलान् यी भाका 
जति नाचिए होला साकेला सिली 
त्यति त खै!
कोसीमा पानी बग्यो कि बगेन कुन्नी !
त्यति त खै...!
यो ठिटोले यी पहाडका सुसेली
सुन्यौ कि सुनेन कुन्नी !
ooo         ooo             ooo

......त्यसपछि सुरु भएको हो 
सपनाको शिल शिला 
आएको हो रमितेडाँडाको अक्करे भिरै भिर 
बिजुलीका खाँबोहरू 
र टाँगिएका हुन 
भिरजस्तै अप्ठ्यारा हाम्रा सपना 
र तरेली तरेली तारहरु 
पसेको हो बात्ताले वनको छाती छेडेर सडक 
भत्काइएको हो मन्जुरीमा नै 
सबितेम्पाको बारिको
अढाई सय वर्ष पुरानो पर्खाल

हो ,यसरी 
हो मा हो मिलाइए कै हो 
साथमा साथ दिइए कै हो 
राम्रो दिन आउँछ भनेर 
सुनौलो दिन उदाउँछ भनेर 
आँखा चिम्लेर सबले पत्याए कै हो
त्यसैले त तिम्रो भाषणमा 
ताली पड्काइएको हो
त्यसैले त तिमीसँगै लुखुर लुखुर पछि लागेकै हो
ooo          ooo                ooo

आफ्नै घुर्यानमा आफैले पौरख गरि छरेको
असोजमा पाक्ने मकैलाई
भदौ महिनाको बीचमा
आधा कट्मेरैमा भाँचेर छाक टार्दा 
माइला काकालाई ऊ बेला 
गरिव भन्थ्यो समाजले 

आज माहिला काकाको छोरोले 
अरबबाट दुई पैसा कमाई पठाउँछ 
र उनको परिवार बजारबाट चामल किनी खान्छ
स्तर उक्सियो भन्छ यै समाजले 
माइला काका सम्पन्न कि उनको छोरो रु
बुझेन यो ठिटोले 

तर यति जरुर बुझ्यो कि 
देखेको सपना यो थिएन 
चाहेको परिवर्तन यस्तो थिएन 
ooo   ooo   ooo

अन्ततः 
रोजगारी नभएपछि 
गरि खाऊँ भन्ने वातावरण हराएपछि 
मलाई खुबै काम आएको छ यो सडक
राजधानी झर्नलाई
तब त हातमा भर्खर बनेको 
नयाँ  हरियो पासपोर्ट बोकेर 
यही मध्यपहाडी लोकमार्गको बाटो हुँदै
आज बिहानै
म राजधानी लागेको छु 
मलाई खोज्नुछ त्यहाँ पुगेर 
विदेश उडाइदिने म्यानपावर अफिसहरू 
मलाई खोज्नु छ 
कोही न कोही दलाल मामाहरू

बाम्राङ, खोटाङ