रोशन यक्सो | साहित्य | मंसिर ९, २०८०
हरेक वर्ष यहाँ (मधेसमा)
हिउँद शीतलहर बनेर आउँछ
चाहर्छ बस्ती बस्ती
डुल्छ सहर–देहात
छिर्छ गरिबको छाप्रोभित्र
र टपक्क टिपेर लान्छ निमुखाको प्राण
विडम्बना...
आजसम्म कुनै प्रमिथस आएन
उनीहरूका लागि आगो बोकेर
नत्र उनीहरूले नि बडो जतनका साथ
जोगाएर राख्नेथे अगेनामा आगोको बिउ
हुर्काउँथे त्यसलाई अनि ताप्थे न्यानो चाहिएको बेला
त्यसो त यतिका वर्ष बर्सादमा
भेल–बाढी घरका चोटा कोठा
खेत खलियानमा मनमौजी रूपमा पसेर
सपनाहरू सिनित्तै बगाइलाँदा पनि
कोही आएका होइनन् उनीहरूसम्म लेप्मुहाङ बनेर ।
हङकङ