आमा रक

आमा रक

दाजु गुरुङ  |  साहित्य  |  मंसिर ९, २०८०

समयले बिहानीको ९:३० हानिसकेको थियो मङ्की हिल पुग्दा  । झट्ट हेर्दा चालिस पैतालिस जना जम्मा भइसकेको अनुमान लगाएँ । बसपार्कको यो साँगुरो एरियालाई ढाकिसकेको देख्दा  । सायद बाँदरहरू छक्क परे होलान्, लामो समयपछि यति धेरै मान्छेका हुल देखेर  । किनकि सधैँ मान्छेसँग झ्यामिने बाँदरहरू अलिक वरपर दौडिरहेका थिए; अस्वाभाविक प्रवृत्ति देखाउँदै  । अब अर्को चहलपहल सुरु हुन्छ; त्यो सानो भिडमाझ  । 

अघि जोर्डनमा छुटेका थियौँ; हामी तीन जना  । अलिकति ढिलो मबाट भयो, नचाहँदा नचाहँदै  । बिहान ८ बजे जोर्डनस्थित हिमालय रेस्टुरेन्टमा जम्मा भएर जाने पूर्व सल्लाह अघिल्लो भेटको  । ढिलो भएँ नाइट ड्युटीका कारण  । आठ बजे मात्र घर आइपुगेँ रातभरको अनिँदो बोकेर  । नुहाउने र नित्यकर्म गर्नै पर्‍यो फ्रेस हुनका निम्ति  । टिवी भाइको चारपल्ट कल आएछ नुहाएर निस्कँदा  । हतार हतार तयार भएर रामदाइ र म जोर्डन रोड पुग्दा छोडिसकेछन् साथीहरूले  । अचानक जेपी (जयप्रकाश ) भाइ भेटिन्छन्; केही सामानसहित ट्याक्सी कुरिरहेको अवस्थामा  । ठिकै भयो: बाँकी सामान ट्याक्सीमा राखेर, लाग्यौँ तीन भाइ मङ्की हिलतिर  ।  

भिडमा केही रौनक थपियो कारण हामीसँग थिए- साहित्यिक पदयात्राका लागि तयार गरिएको टि–सर्ट र अन्य सामाग्रीहरूका पोका, पन्त्याराहरू  । ट्याक्सीबाट सामान निकाल्ने बित्तिकै सुरु भयो आआफ्ना साइजका टि–सर्ट रोजाइको काम  । 'मेरो साइजको छैन होला' भन्दै थोरै माहोल तताइदिनुभयो कवि जुनु राना बहिनीले  । यसैमा सही थपिन्  कवि विष्णु मुखियाले  । त्यो भिडमा सबै साइजका टि–सर्ट खोजिए तर सानो खोज्ने कोही थिएनन् ।  सानी छोरी सुुनिस्का र नरेन्द्र गुरुङका दुई बाबुहरू बाहेक  । 

धेरैपछि धेरै साथीहरू जोडिनुभयो, कोभिड कहरपछिको खुलापनमा अनि साहित्यानुरागीहरूले पनि कन्जुस नगरी समय निकालिदिनुभयो पदयात्रा ऐतिहासिक बनाउन  । यसरी  जोडिए साहित्यिक मनहरू एउटा अवसरका रूपमा  ।  अवसर एक ठुलो सुखद अनुभूति  । यता अरुणा शर्मा (सहसंयोजक) खाता बोकेर घुम्न थालिन्, उपस्थितिको हस्ताक्षर सङ्कलनार्थ । काम सकेर सहभागी सङ्ख्या बताइन्- ‘उनान्पचास जना’ र पछि थपिए- नेपाली महावाणिज्य दूत र उनका परिवारसहित केही अन्य परिचित अपरिचित अनुहारहरू  । 

पहिलो चरणको फोटो सेसन यहीबाट सुरु भयो हङकङ साहित्यिक साझा शृङ्खलाको ब्यानर राखेर  । एकछिनको छोटो फोटो सेसन कार्यक्रमपछि  आ–आफ्नो ब्यागमा लन्च बक्स र पानी बोकेर समात्यौँ  आमा रक जाने बाटो  । आहा ! क्या राम्रो सुहाएको  एउटै रङ्ग र ढङ्गको  पहिरन यो यात्रामा  । एकैछिनमा त्यति ठुलो समूह जङ्गलभित्र  ओझेल प¥यो अगाडि पछाडि हुँदै  ।

 मङ्की हिल सधैँ मेरा सम्झनामा बसिरहने प्रिय ठाउँ  । झन्डै चार वर्षपछि भेटिएको  । विगतमा भएको  लामो विद्यार्थी आन्दोलन लगत्तै कोभिड- १९ को विश्वव्यापी भयावह आतङ्क र असरले मानवीय सम्बन्धलाई विच्छेदन गरिदिएसँगै विच्छेदित समयको ओझेलमा पर्‍यो प्रिय मङ्की हिल  । एउटा शृङ्खलाबद्ध कथा नै खण्डित गरिदियो विशेषतः पछिल्लो आतङ्कले  र स्वतः खण्डित भए यता आउने बाटा र साइनाहरू  । अझै सहज रूपमा हिँड्न सकिरहेका छैनन् पूर्ववत् सम्बन्धका आयामहरू  ।

छाडिदेऔँ  यी कुराहरू, धर्म संस्कार आआफ्नै ठाउँमा  । आहा ! कति कलात्मक देखिने चट्टानको बनावट  । कुनै कालिगढको भन्दा सयौँ गुना उत्कृष्ट  । कुनै कवि वा चित्रकारका कल्पनाभन्दा सयौँ गुना अर्गानिक  । प्रकृतिको आफ्नै रचना, आफ्नै कला  । जो सन्तानलाई सदियौँदेखि बोकिरहेछिन् कहिले नथाक्ने आमाको काँधमा  । 

नत्र हप्तान्तका विविक्युदेखि हरेक नेपाली मात्रको विषेश चाडपर्वहरू (दसैँ, तिहार, नयाँवर्ष , ल्होसार, उँधौली, उँभौली, बुद्धपूर्णिमा, मागी आदि जस्ता पर्वहरू ) मा शुभकामना आदान–प्रदान, रमाइलो भेटघाटका लागि  साह्रै सजिलो र पायक परेको ठाउँ  हो— मङ्की हिल  । सहरिया हल्लादेखि केही टाडा शान्त प्रकृतिको काख  । प्राय सन्डे र पब्लिक होलिडेमा कहिल्यै खाली नरहने वन्य क्षेत्र  ।

विशेषतः नेपाली समुदायका मानिसहरूलाई बिदा उत्सव मनाउन रोजाइमा परेको एकान्त ठाउँ  । जहाँ दिनदेखि आधा रातसम्म नाचगान र रमाइलोमा घन्किरहन्थ्यो नेपाली आवजका धुनहरू  अनि नाचगानमा कम्मर मर्कारहने खुसीका बैँसहरू  । सायद कमै होलान् यो ठाउँमा नपुगेका नेपाली समुदायका मानिसहरू  । 

अघि आउनेबित्तिकै एकपल्ट विगतले रन्थन्यायो, सम्झानाको बार्दलीलाई  । त्यही बस स्टपमा उत्रिएर कहिले बाँधपारिको खुल्ला चउरमा कहिले यही मास्तिरको डाँडाहरूमा भेला भइन्थ्यो साथीभाइहरूसँग हातेमालो गर्दै  । कता कता बिरानो भइरहेथे सम्झनाहरू, अझै  सामाजिक दुरी राख्नुपर्ने बाध्यतामा उनिएर  । 

आमा रक मेरो पहिलो यात्रा  । छल्किरहेथ्यो मनभरि केही कुतूहलता केही रोमाञ्चक । साहित्यिक साझा शृङ्खलासँग जोडिएको अवसर  । यसै यसै मन खुसी  । बाटो पनि सजिलो, निर्वाद हिँड्न मिल्ने  । स्वाभाविक हो हिँडाइमा कोही अगाडि कोही पछाडि । पहिले पुगेकाहरू बाटो देखाउँथे अनुभव सुनाउँदै  । जाने दुईओटा बाटामा अलिक सजिलो बाटो रोजियो महिला यात्रीहरू साथै भएका कारण  । फेरि यात्रा मात्र थिएन बाटो काट्नका लागि  । थियो, नियमित साहित्यिक साझा शृङ्खला सञ्चालन र सम्पन्नताको  अभिभारा  । यसरी पनि  छनौटमा पर्‍यो छोटो र सजिलो पदयात्रा  । 

 केही साथीहरू यतैबाट छुटे विविध समस्याहरू केलाउँदै  । कसैको नाइट ड्युटी कसैको घरयासी  समस्या  । हुन्छ नै आ–आफ्नै समस्याहरू  । समस्या नभई कहाँ चल्छ र संसार ? ठिकै लाग्छ उपस्थिति जनाइदिएकोमा  । अँ.. नाइट ड्युटीको कारण म पनि थिएँ एक पीडित यति बेला  । कता कता डर लागिरहेथ्यो, यतिका गर्मी र घामले सेकिरहेका बेला अचानक ढलिने त होइन अनिदो भएर ? र केही महिना भइसक्यो घामले डाम्न नभ्याएको मेरो शरीर  । सुरुमा यसरी हिडिँरहँदा एक प्रकारको स्वाभाविक शङ्का जागिरहेथ्यो मनभित्रको कुनै कुनातिर तर बिस्तारै बिर्सँदै गएँ; साथीहरू माझ रमाइलो र फरक वातावरणमा  ।

तीन हुलमा बाँडिए पदयात्रीहरू हिँडाइमा एकरूपता नहुँदा  । पहिलो  निकै अगाडि, केही बिचका भागमा र ढिलो हिँड्ने अर्को एउटा समूह पछाडितिर  । हुनु  स्वाभाविक पनि थियो । टिवी भाइ, जुनु राना, सुनिता गिरी, रोशन याक्सो , रमन गुरुङ, रामदाइ, नरेन्द्र गुरुङ र तीन जना नानीहरू सामेल थिए पछिलतिरको हुलमा अनि म पनि पछ्याउँदै थिएँ यतैतिर  । साच्चै यात्राको गति कछुवाको जस्तै भएर पछ्याइरह्यौ अगाडि जानेहरूलाई  । 

रिजर्व ड्यामको किनारै किनारको यात्रा  । त्यहाँ मिसिन आउने एउटा सानो खोलालाई नियन्त्रित गरिएको किनार नै पैदल हिँड्ने बाटो  ।  सजिलो अनि फराकिलो  किनार  । चार पाङ्ग्रे गाडीहरू पनि सजिलै दौडिन सक्ने तर पब्लिक सवारी साधन प्रयोग निषेधित क्षेत्र र त रमाइलो र सहज बनेको थियो पद यात्राका लागि  । एक त सन्डे  । प्रायः धेरै मानिसहरू पदयात्रामा आउने गर्दथे आमा रक हेर्नका लागि  । बाक्लो मानिसहरूको आवत÷जावतको भिड ठोकिरहन्थ्यो यात्राभरिका बाटाहरूमा  । 

सहरदेखि केहिपर माथि अवस्थित मङ्की हिल डाँडा  । नौलो कुरो भएन बाँदर भेटिनु । ठाउँ ठाउँमा बँदेलहरू पनि भेटिए पर्खिएजसरी  । यात्राको रमाइलो संयोग फोटो खिच्नका लागि  । कति सहरको अग्ला महल अनि हतारमा दौडिएका मानिसहरूका एबस्ट्रयाक अनुहारहरू मात्र क्यामरामा कैद गर्ने ? नयाँ भेटिए बाँदर, बँदेल, चरा, पुतली, खोलीखोल्सी, भिर–पहरा अनि वनजङ्गलहरू  । लाग्थ्यो,  क्यामराका लागि नयाँ स्वाद अर्थात् नयाँ कृत्रिमताभन्दा परका  कन्टेनहरू  । 

बाटो कटनीमा जुनु राना बहिनीले बोल्न सुरु गरिन् हङ्कङका स्रष्टाहरूका कृतिहरू बारेमा  । मैले पुरानै कुरा दोहोर्‍याइदिएँ -'कहिले आउने होला कविको नयाँ कृति ?'छिट्टै भनेर टारिन् योपल्ट पनि रेडिमेट उत्तर बाँडेर  । पत्त्याउनै पर्‍यो तयारीमा छिन् जनु बहिनी  । यही प्रश्न टिवीभाइ र रमण गुरुङसँग राखिँदा एउटै उत्तर-काम हुँदै छ ..छिट्टै' आउने छ भन्ने  । यता  कवि टिबी याक्या भाइको एउटा कवितासङ्ग्रह ‘आँधी रोकिएपछि’  करिब एक दशकअगाडि नै आइसकेको छ, नेपाली साहित्यिक बजारमा  । यस्तै प्रश्न उत्तर चल्छ रोशन याक्सो भाइसँग  । निक्कै राम्रो कविता लेख्नेमा नाम दर्जिसकेको छ, पछिल्ला समयमा हङकङका कविहरू माझ  । 

खुलेको आकाशमा केही चर्को घाम  । तथापि गर्मीको खासै अनुभव हुँदैन वरपर हरियाली र रुखका छहारी बिच बाटामा  । यात्रामा एउटा बेग्लै मज्जा  । सबैका फरक फरक अनुभूतिहरू सुन्न पाइने अनि हिँड्दै जाँदा ठाँउ ठाँउबाट तल गहिराइमा चिहाउँदा देखिने एउटा फरक रमाइलो दृष्यावलोकनका पाटाहरू  । कहिले क्यामरा कैद गर्दै  कहिले गफिँदै बाटो काट्नु आफ्नै धुनमा अर्कै मज्जा  । यसरी हिँडिरहँदा कोही अगाडि कोही धेरै पछाडि हुँदा फोन सम्पर्कमार्फत पर्खने अनुरोधसमेत राख्नुपर्‍यो, सँगै जाने बाहानामा  । यता हिँडेको एक घण्टा नहुँदै लन्चको कुरा चल्यो सबै जम्मा भएको दोस्रो  बिसौनीमा  । प्रस्ताव उचित  । किन लन्च बक्सको भारी बोकेर हिँडिरहने ? सहमतिमा साँढे ११ बजेतिर सुरु गर्‍यौँ आधा बाटैमा  । लन्चपछि सुरु भयो दोस्रो चरणको ग्रुप फोटो लिने काम र केही हल्का भयो अघिदेखि बोकिरहेको ब्याग, लन्चसँग पानी र कोल्ड ड्रिङ्कका भार  खर्चिँदा  । 

नेपाली न परियो कामभन्दा हाममा बल गर्ने  । घरबाट हिँडेको तीन घण्टा भएको छैन, दुई बिसौनीका खाना  । पहिले खाना बाँकी तपसिलमा  । सजिलो थेगो छँदै छ-  ‘भइहाल्छ, भइहाल्छ’ भन्दै भ्याइयो लन्ठा  साफ  र  सम्बोधन भयो, कति साथीहरूले हिँडेदेखि ब्याग हल्का बनाउनुपर्‍यो भन्ने मागउपर अनि छोटो चर्चा गरियो बाँकी बाटोउपर  । पहिले जाने साथीहरूले बताए-  ‘अब खासै टाढा छैन आमा रकको दुरी  । बाटो सजिलो छ ,पुग्ने बेलाको अलिकति उकालोबाहेक  । यस्तै पन्ध्रदेखि बिस मिनेटको उकालो  । हिँड्नेका लागि एकै छिन  ।’

नभन्दै ठाडो उकालो रहेछ डाँडामाथि पुग्न  । मास्तिर उक्लन अगाडि बाटाछेउमा केही फराकिलो ठाउँ भेटियो, एउटा बस्ने कटेज सहितको  । घाम पानीमा ओत लाग्न मिल्ने  । यतिका मान्छेहरू सजिलै बसेर सामूहिक कुराकानी गर्न सकिने  । बाटा हिँड्ने यात्रीहरूलाई बाँधा नपुग्ने  । फर्केर अर्को चरणको कार्यक्रम यतै गर्ने निधो गरियो उपयुक्त देखिएपछि  । 

ससाना रुखहरू तर निक्कै बाक्ला  । अलिकति भए पनि सिधा उकालो । साबिकको सानो खोल्सीको किनारै किनार हिँड्ने बाटो छोडेर मास्तिर मोडियौँ आमा रक पुग्न  । दिउँसोको घामले बढी नै सेकेको महसुस हुन्थ्यो, हिँड्ने बानी छुटेकोलाई  । यसै पनि गाह्रो अनुभूति ठाडो उकालोको तर यात्रा न हो कहिले सजिलो कहिले अप्ठ्यारो  । थोरै भए पनि पसिना काढ्नुपर्‍यो  डाँडामा पुग्न  । केही साथीहरूले लौराको  सदुपयोग गरे मेयर बालेनको नाम लिँदै  । राम्रो उपयोग गरियो अघिदेखि ब्यागमा बोकिराखेको पानी  । साह्रै गुन पर्‍यो उकालो र गर्मीमा  । यही साँगुरो उकालो बाटामा नै अधिक हुने गर्छ आहोरदोहोर गर्ने मानिसहरूसँग जम्काभेट  । उकालोमा  अलिक समस्याजस्तो प्रयोग गरिँदै आएको मास्क लगाउने बानी   । यसै पनि श्वास फुल्ने त्यसमाथि मास्क  । पसिनाले शरीरको भित्र भेस्टसम्म भिजेर लपक्क भइरहेको वेला  मास्कको  निरन्तर प्रयोग यसै यसै बोझिलो  लाग्ने   ...तर लागेर के गर्नु र !  मास्क खोलेर हिँड्न  नसकिने  । अहिलेको भिडभाडमा एक बाध्यता अनि थोरै रहरभन्दा कहर ठुलो  ।

ठुला साना चट्टा नै चट्टानको खानी आमा रकको डाँडा  । त्योबिचमा एउटा विशाल चट्टान (ढुङ्गा)  । जुन एक सुन्दर आवृत्ति बोकेर उभिरहेथ्यो, सदियौँदेखि  । कति अद्भुत  । कसले कहिले कसरी निर्माण गर्‍यो  होला यति धेरै शिल्पकारिता खन्याएर ? एउटा सिद्धहस्त कलीगढलाई माथ गर्ने सक्ने कला  । लाग्थ्यो, प्रकृति झन् सिद्धहस्त हुन्छ मान्छेको कलाकारितामाथि  । मानिसले त केवल अनुकरण मात्र गर्न सक्छ ईश्वरीय सिर्जनाका  ।

ससाना रुखले भरिएको जङ्गल काटिए, टुप्पोमा पुग्दा  । साँगुरो तर खुल्ला डाँडा  । चारैतिर देखिने आकाश खुलेको वेला  । मूर्ति आकार ढुङ्गाको पछाडि अग्लो भिर  । रमिता हेर्दा सर्तक हुन जरुरी  । फेरि सुरु हुन्छ अर्को चरणको फोटो सेसन  । ब्यानरसहित सामूहिक र एक्लो फोटो सेसनदेखि सेल्फी सम्म  ।  रमाइलो कुरो, टिवीभाइले कमाल गर्नुहुन्थ्यो हरेक कार्यक्रममा  । ऊ एउटा कुशल फोटो पत्रकार अनि कवि स्रष्टासहितको परिचय बोकेको युवा  । हरेकको रोजाइमा टिवीभाइ कारण घाँटीमा सधैँ  डिजिटल क्यामेरा झुन्डिरहन्छ तयारी  अवस्थामा  । 

छँदै थियो हरेकका हात हातमा मोबाइल क्यामेरा  । सबै सबै सक्रिय व्यस्त अनि रुचि र रोजाइ आआफ्नै  । क्लिक क्लिक मनपरेका दृष्यहरू क्यामेराको कैदमा  तर मलाई भने केही भावुक बनाइरह्यो पर फैलिएको  निलो समुन्द्रले  । ठिङ्ग उभिएको मूर्ति आकार चट्टान पनि त्यतै हेरिरहेथ्यो अधैर्य  प्रतीक्षामा  । लाग्थ्यो, कुनै दरिलो सम्बन्ध हुनुपर्छ यी दुईमा  । एउटा पर हात फैलाइ रहेथ्यो  भने अर्को यता अधैर्य बनेर हेरिरहेथ्यो प्रेमिल मिलनको आसमा  । 

 झन्डै एक घण्टा  बढी नै  बिताइयो थकाइमार्नेदेखि हरेक कोणहरूबाट फोटो खिच्ने बाहानमा  ।

३१ जुलाई २०२२ को ११० औँ साहित्यिक साझा शृङ्खलाताका तय गरिएको थियो दोस्रो शृङ्खला पदयात्रा  । धेरै ठाउँहरू खोजिए रोजिए त्यो बेला  ।  किन किन यो नामले बेस्सरी तान्यो यतातिर र दुई महिनापछि पुगियो योजना बनाएको समयले  । पहिलेदेखि नै  विशेष चर्चा सुनिरहेको ठाँउ तर संयोग नपरेर  समयले पछाडि पछाडि धकेलिरहेथ्यो वर्तमानलाई  । जुर्‍यो यो पटक विशेषतः आमा शब्दले बेस्सरी तानेर  ।

    '...कसलाई तान्दैन होला र !' अपनत्वको अनुभूति हुने यो शव्द सुन्ने बत्तिकै  । तव सर्वसम्मत भयो आमा रक दोस्रो साहित्यिक पदयात्राका लागि  । 

आमा रक त पुगियो तर बाँकी नै थियो आधा काम  । शृङ्खलाको ११२ औँ कार्यक्रम सञ्चालन र समापन गर्नुपर्ने  तर केहीलाई पैदल यात्रा केही लामो भइदिए हुन्थ्यो भन्ने पनि लागेको थियो । केहीलाई यति हिँड्न पनि गाह्रो अनि कतिलाई रात्रि कामले थकाएको र फेरि बेलुकी काममा जानै पर्ने बाध्यताले पिरोली रहेको  । यस्तै यस्तै कारणमा कति साथीहरू छुटिसकेका थिए अधा बाटोदेखि नै  । अलिक हतार लगाए संयोजक रमण गुरुङ भाइलाई र यस्तै अनुरोध राखेँ अन्य साथीहरूमा  ।

केही फरक खेज्दै अर्को बाटो रोजियो तल मूल बाटो झर्न  । रमण भाइले नेतृत्व गरे पहिले आइसकेको अनुभव सुनाउँदै  । थोरै फेरो भए पनि हिँड्नै पर्ने बाटो  । यता अगाडिको भित्तोबाट साह्रै राम्रो देखिने आमा रकको दृश्य  । अघि फेदीबाट टुप्पो राम्ररी देख्न र फोटो खिच्न नपाएको धोको बल्ल मेटियो यो भित्ताबाट  । किलिक्क ..किलिक्ब..हानियो आमा रकका फेटाहरू  ।

यो बाटाले अर्को गज्जबको ठाउँमा पु¥यायो; गाँउघरलाई सम्झाउने  । जङ्गलको माझमा एउटा सानो खोल्सी  । त्यही खोल्सीछेउ जरुवा पानीको धारा  । कुनै फरक सङ्गीतको धुनझैँ लाग्ने पानीको आवज  । दिनभरि यात्राले रापिएको बेला यस्तो भोटिनुको बेग्लै मज्जा  । एक सुखान्त मौका जुरेजस्तो  । अहा ! जरुवा पानीको कति मिठो अर्गानिक स्वाद  । कहाँ पाइन्छ किनेर बोकेको बोतलको पानीमा त्यो स्वाद ? दुईओटा ससाना बोतलहरू थिए मसँग  । खाली गरेर भरेँ जरुवाको पानी  । एक बोतल त्यही रित्याएर गाउँघरको धाराको पानी सम्झँदै  । त्यही स्वाद त्यही तिर्सना  । एकछिन चुपचाप उभिरहेँ अतीत भारी भइदिँदा अनि यात्राको थकाइ र गर्मीलाई सिनित्त पखाली दिए जरुवा पानीको मिठो स्वादले   ।  

दुई बजिसकेको थियो आमा रक डाँडाबाट तल बाटोन जिकको कार्यक्रम स्थलमा भेला हुँदा  । ठिकै लाग्यो  विश्रामस्थल, छहारीसहितको चौतारी र सानो  समतल ठाँउ  । कति साथीहरू त बाटो लागिसके आआफ्नै बाध्यतामा  । समयले हामीलाई पनि हतार लगाइरहँदा  छेउको बारमा ब्यानर टाँगेर सुरु गरियो हङकङ साहित्यिक साझा शृङ्खलाको ११२ औँ साहित्यिक पदयात्रा कार्यक्रम  । शृङ्खलाका वर्तमान संयोजकका सभापतित्वमा सुरु भएको कार्यक्रम टिबी याख्या भाइले सञ्चालन गर्नुभयो एउटै मिठो सम्बोधनबाट  । 

उद्घोषकको पहिलो  निम्त्याइमा म परेँ स्वागत मन्तव्यसहितको वाचनमा  । स्पिकर समाएर उभिएँ तर मसँग कुनै नयाँ सिर्जना थिएन आमा रकबारेमा  । एउटा कुरो  शृङ्खला पदयात्राबारे पूर्ण जानकारी राख्ने म, हरेक  योजनामा सामेल हुने पनि म तर केही गर्न नसकिरेहको मनुवा म  । किन किन जाँगर चलेन सुनाउन लायकको कविता वा रचना लेखनमा  ।  के लेख्ने होला भन्दा–भन्दै बित्यो दुई महिना  । फेरि सोचे जस्तो कहाँ हुनु फुर्सदिलो समय  । तथापि मनमा सोचिरहेँ, यो साहित्यिक पदयात्रामा आमा रकबारे नै सबैले सिर्जना वाचन र चर्चा  गरिदिए हुन्थ्यो भन्ने  । सकिएन समयमा शीर्षक बाँड्न  । खोइ के मिलेन  के मिलेन ?

एकछिन अलमलिए स्पिकर समातेर  । तल्लो  छेउमा बसेका बहिनीहरू खित्का छोडेर हाँसे कतै मेरो अलमललाई नै चुनौति दिए जसरी  । बोल्नै प¥यो अब जे जति  । फेरि आमा रकका बारेमा के बोल्ने ? सबैले त्यति नै देखे जाने बुझे जति मैले देखेँ भेटेँ  । दोहो¥याउनु समयकै बर्बादी तर आमा रकबारे  सुनेका  किंवदन्तीहरू सम्झिन चाहेँ उपयुक्त लागेर  ।

यतैतिर पर्छ, आमा रकजस्तै हेर्न र वर्णन गर्नलायक अर्को रहस्यमय पहाडी चट्टान लायन रक  । दुवै प्रकृति प्रदत्त प्रसिद्ध क्षेत्रहरू हुन्, यहाँका सौन्दर्य । दिनहुँ सयौँ मान्छेहरू आउँछन् यी प्राकृतिक सौन्दर्य र रहस्यमय सृजना अवलोकनमा  । साच्चै रहस्यमय नै लाग्थ्यो यसको अकल्पनीय आकृति हेरिरहँदा र त  कति कहवातहरू प्रचलित छन् यी दृष्यहरूबारेमा  । विशेष सम्झन लायक  बनेको थियो आजको दिन  । कतै आमा रक कतै आमाह रक  लेखिनु  बोलिनुमा  उच्चारण गर्दा स्थानीय मातृभाषाको प्रभाव परेजस्तो  । आमाह वा आमा जसरी बोलिए पनि  अपनत्व अनुभूति हुने  । त्यस्तै छ कहवातअनुरूपको आकृति   ।

एउटी आमाले बच्चालाई काँधमा बोकिरहेको आकृति प्रस्ट झल्किने विशाल चट्टान  । आकृतिले कतै टाढाबाट कोही आइरहेको वा आउँदै गरेको लक्षित प्रतीक्षामा बाटो हेरिरहे जस्तो  । यस्तै आकृतिका पत्थर वा ढुङ्गा घरदेशतिर हुँदो हो, पक्कै दिनहुँ धूप बत्ती चल्थ्यो होला, धर्मको बाहानामा  । पुजिन्थ्यो होला  चट्टान साक्षात् देवीका रूपमा  । अलिक अभागी परेछन् यताका चट्टानहरू  । नत्र धूप, बत्ती, ध्वजा, पताका, रङरोगन, मिठाई, लड्डु, पेडा दुध, दही, दान, दक्षिणा र थरीका गरगहना अनि पुस्तौनी पाएका पुजारी धामी झार्की बाबा, साधु, सन्त, महन्त, जोगी, अघोरी हुँदै थप गुठी गुठियारदेखि मुठियारसम्म  । दिनहुँ देवी–देवताले नुहाएको घ्यु, तेल र दुधको खोलो बग्थ्यो होला मान्छेले खान नपाए पनि  । 

छाडिदेऔँ  यी कुराहरू, धर्म संस्कार आआफ्नै ठाउँमा  । आहा ! कति कलात्मक देखिने चट्टानको बनावट  । कुनै कालिगढको भन्दा सयौँ गुना उत्कृष्ट  । कुनै कवि वा चित्रकारका कल्पनाभन्दा सयौँ गुना अर्गानिक  । प्रकृतिको आफ्नै रचना, आफ्नै कला  । जो सन्तानलाई सदियौँदेखि बोकिरहेछिन् कहिले नथाक्ने आमाको काँधमा  । 

कुनै कालखण्डमा एक दिन एक गरिब माँझी (मछुवारा) घरमा श्रीमती र छोरालाई छोडर माछा मार्न  हिँडे नजिकको समुन्द्रमा  । यता घरका श्रीमती र छोरोलाई थाहा भएन, ऊ माछा मार्न जाँदा समुन्द्रमा डुबेर मरेको  । उता माछा मार्न भनी हिँडेका श्रीमान्  बेलुकी घर नफर्किएपछि, 'कति बेला आउने होला !' भन्दै छोरोलाई काँधमा बोकेर पहाडमाथि चढिन् ऊ आउने  बाटो हेर्नलाई  । श्रीमान् फर्किएनन् तर डगमगाएन उनको  प्रेम, आस्था  र विश्वास  । उनको माया, विश्वास र समर्पण देखेर अत्यन्तै मर्माहत भइन् समुद्रदेवी  ।

उनीहरू प्रति दया जागेर स्वर्गमा परिवारको पुर्नमिलन गराइदिइन्; आफ्नो दैवी शक्तिद्वारा । सो ठाँउमा अकस्मात् गर्जनसहित आएको आँधी, हावाहुरीले यथावत् ठाँउमा चट्टानमा परिवर्तन गरिदिए रे आमा छोरालाई  । भने जस्तै मनमोहक आकृति देख्न सकिन्छ अहिले त्यहाँ पुग्दा  । त्यही प्रेम, आस्था र विश्वासमा अहिले पनि धेरै जोडा–जोडीहरू यतातिर आउने गर्छन्; यस्तै माया त्याग र समर्पणको कामना गर्न  ।

यस्तै अर्को कहावत छ, जसमा थोरै भिन्नता रहेको छ । कुनै अनादि कालमा एक गाँउमा माँझी (मछुवारा ) जातिका दुई दाजुबहिनी बस्दथे रे  । सानैमा आमा बुबा गुमाएका अनाथहरू  । एक दिन कुनै एक सन्त आएर 'तिमीहरू बिच भविष्यमा विवाह हुने !' भविष्यवाणी गरिदिए रे अर्को सास्ती थप्ने गरी  । सन्तको कुरा सुनेपछि दाजुले बहिनीलाई टाउकोमा बन्चरो  हानी मारेर गाँउ छोडेर हिँडेछन् कुनै अनिष्ट घटना हुन अगावै  । त्यो केटो धेरै वर्षपछि गाँउ फर्कियो, पहिलेको घटना गाँउलेले बिर्सिए होलान् भनेर  । जवान भइसकेको थियो, ऊ यति वेला  । गाँउमा उसले एउटी  राम्री जवान युवती देख्यो र विवाहको प्रस्ताव  राख्यो, युवा मन न हो  । परस्पर  मन  परापर भएपछि विवाह गरे एउटा छोरो जन्मियो मायाको प्रतिरूप  । एक दिन उसले श्रीमती नुहाइरहेको वेला टाउकोमा बन्चरोले हानेको चोट देख्यो र झस्कियो सम्झियो सन्तले गरेको भविष्यवाणी  । जुन वेला बहिनीलाई बन्चराले हानी मारेर गाँउ छोडेर हिँडेको थियो तर मरिन उनकी बहिनी  । बचाइदिएका थिए गाँउलेहरूले  । 

जुन नहुनु थियो भएपछि  समुद्रमा डुबेर मरे, घरमा माछा मार्न जान्छु भनी हिँडेका माँझी  । उसका श्रीमती र छोरो पूर्ण अनविज्ञ थिए यी कुराहरूमा  । माछा मार्न भनी हिँडेका श्रीमान् नफर्किएपछि छोरोलाई काँधमा बोकेर पहाडको टुप्पोमा पुगिन्, श्रीमान् आउने बाटो हेर्दै हेर्दै  । श्रीमान् समुन्द्रमा डुबेर मरिसकेको र अब कहिले आउँदैनन् भन्ने के थाहा ती निश्छल निर्दोष प्राणीलाई  । उनको श्रीमान् प्रतिको अत्यन्त विश्वास, माया त्याग र समर्पण देखेर अत्यन्तै मर्माहत भइन् रे समुन्द्रदेवी  । दया जागेर दैवी शक्तिले स्वर्गमा पुनर्मिलन गराइदिइन् बिछोड भएको परिवालाई र यता देवीकै दैवीशक्तिबाट अचानक आएको गड्याङगुडुङसहितको आँधीबेरीले यथास्थानमा आमा छोरालाई चट्टानमा परिवर्तन गरिदिए रे स्वर्र्गमा परिवारको पुनर्मिलनपछि  । आमाको काँधमा छोरो बोकेको आकृति देख्न सकिन्छ सो विशाल चट्टानमा  । जसलाई अहिले पनि अत्यन्त माया, प्रेम,  विश्वास र समर्पणका प्रतिरूपमा हेरिँदो रहेछ, आमा रकलाई र  दिनहुँ धेरै मान्छेहरू घुम्न आउने गर्छन् यस ठाँउमा  ।
      खासै फरक छैन दुई कहावतबिच  । एउटा सङ्क्षिप्त अर्को  थोरै विस्तृत अर्थात् एउटा माछो मार्न जाँदा समुन्द्रमा डुबेर मरेको र अर्काले  माछो मार्न जान्छु भनी समुन्द्रमा डुबेर मरेको  । जति नै पोयो हालेर डोरी बाटे पनि गाँठो एउटै  ।
      छोटो सम्बोधन पछि सुरु गरेँ धेरै पहिले आमासम्बन्धी लेखिएको गीतका  केही पङ्क्तिहरूबाट —  
      ' हिजोआज  मेरी आमा  धेरै टाडा  बस्छिन् 
       घामसँगै झुल्की दिन्छिन् जुनसँगै हाँस्छिन्
       बादलको  विमान चडी  गर्छिन् वरपर 
फर्की कहिल्यै आउँदिनन् बिर्सिन क्यारे घर  ।
...उजाड भयो मेरो संसार कसले देला भर  । ।
      हिजोआज मेरी आमा  सम्झनामा बस्छिन्
      धरती र आकाशको  अमर गीत  गाँउछिन् 
      ममताको मिठो  धुंन  कहाँ सुन्नु  आज ?
      अनाथ  भएँ  धरतीमा  छैन  तिम्रो  साथ  ।
      .....  दैव   फेरि नआइदियोस्  मुटु चुड्ने साँझ   । ।
     हिजोआज  मेरी आमा  क्षितिजपारि बस्छिन् 
     तारा पुञ्ज आँगन हुँदै आकाश –गङ्गा डुल्छिन्  
     फूलसँग मुस्कुराउँदै  शुभ आशिष् बाँड्छिन्  ।
     तिम्रो आशिष् शिरमाथि वर पिपलको छाया
     सारा संसार अटाइदिने धन्य  तिम्रो माया   ।
        ....जन्म  जन्म  भन्न पाऊँ तिमी  मेरी आमा  ।।
यसपछि अलिकति प्रसङ्ग जोड्न खोजे  भरखर यात्रा गरिएको आमा रकको प्रसङ्ग— 
धर्ती हुन् आमा, कहिल्यै टुट्दैन  अटल धीरताको बाँध  
सृष्टि हुन् आमा, कहिल्यै कोरिँदैन  कुनै  किनारा र साँध 
प्रेम  समर्पण र विश्वासको सुन्दर  मायवी संसारमा
सन्तानको भारले कहिल्यै गल्दैन एउटी आमाको काँध  ।
       तब त, 
अटल आस्था र विश्वासको प्रतिमूर्ति हुन् आमा 
असीम त्याग र समर्पणको प्रतिमूर्ति हुन् आमा 
सत्प्रेम र स्वधर्मको प्रर्तिमूर्ति हुन् आमा अर्थात् आमा  रक  ।
        यसपछि धेरै कविमनहरूले आमा कविता वाचन गर्नुभयो आआफ्नै लय  र शिल्पहरूमा  । कवि कमल पौड्यालको  'बा र धुवाँ'  कविताले निक्कै मर्माहत बनायो विषय र प्रस्तुतिबाट । छिनमा चिताको अग्निले पार्थिव शरीरलाई खरानी बनाउन अगाडि धुवाँसँगै माथि माथि उडिरहनुभएको देख्नुहुन्छ कवि बुबालाई र भन्नुहुन्छ -
'...एक एक अन्जुली  खरानी
मेरो हातमा थमाइ दिएर
आपूmहरू चाहिँ
धुवाँको मुस्लो बन्दै
बाबा बादलतिर लागेका थिए 
आमा पनि  बादलतिरै लागेकी थिइन् ।'

कहाँ हुन्छ सबै समय सोचेजस्तै  । कहाँ हुन्छ  सबैका भावनाको प्रवाह एउटै एउटै  । आमा सम्झिनुभयो टिबी याख्खा, रमण गुरुङ, सुनिता गिरी, जुनु राना कविहरूले आआफ्ना कविताहरूमा  । कवि रोसन याक्सो, मोती चामलिङ, अरुण शर्मा, प्रीति चामलिङ, नारायण भण्डारी, नरेन्द्र गुरुङ, डोम राना र बालकवि सुनिस्का याख्याले अन्य विधाका कविताहरू वाचन गर्नुभयो सो अवसरमा  । कार्यक्रमबारे महावाणिज्य दूत उदयबहादुर रानालगायतले टिप्पणी राख्नुभयो आआफ्ना धारणाहरूसहित  ।  

मनै फुरुङ्ग भयो एउटा फरक स्वाद र परिवेशमा सम्पन्न कार्यक्रम र राम्रो सहभागिताले  । रमाइलो गर्ने  चाहाना र रहरमा एकछिन सुरु गरियो  नाच्ने गाउने कार्यक्रम तर रोक्न सकिएन घर जाने हतार मनहरूलाई  ।  समयले अबेर  भएको सङ्केत दिइसकेको थियो किनकि घाम ओरालिँदै थियो पल्लो किनारतिर  । एउटा सिङ्गो दिन नै खर्ची सकिएको अवस्था  शृङ्खलाका लागि  । एकछिन भए पनि घन्काइयो साउन्ड बक्स  । बज्यो- 'सालको पात टपरी हुनलाई  नहुने सल्लैको ... ।'

तीन चार फन्का घुम्न भ्याएँ मैले  पनि  । हतारले छोयो यहाँ पनि  ।  सधैँको हतार अनि सबै कार्यक्रम बिट मार्दै हिँडियो जङ्गलको बाटो साउन्ड बक्समा लोक गीत घन्काउँदै  । 
  पहिलो टोलीले कुइनेटो काटिसकेको थियो यताको लहनतहन मिलाउन अगावै तर अब दौडिहाल्न पर्दैन  समय भेट्न  र साउन्ड बक्स घन्किरह्यो जङ्गल  बाटो नकाटुन्जेल- ‘सालको पात टपरी हुनलाई ... ।’ यता मेरो आँखाभरि आमा रक उभिरहेकी थिइन् काँधमा छोरो बोकेर  ।

सङ्खुवासभा, हाल–हङकङ