किसन राईले बाँचेको त्यो किस्सा

किसन राईले बाँचेको त्यो किस्सा

देवेन्द्र खेरेस  |  साहित्य  |  मंसिर ९, २०८०

 हङकङका पुराना पत्रकार किसन राईको असामयिक निधनले  हङकङको नेपाली पत्रकारिता अभिभावक विहीन हुन पुगेको छ  ।  हङकङमा नेपालीहरू बिचको सूचना, व्यापार, व्यवसाय र सामाजिक सेवा  विकसित गर्न किसन राईको पत्रकारिता व्यवसायले ठुलो भूमिका निर्वाह गरेको छ  । विशेष गरी ९० का दशकमा हङकङमा नेपालीहरूको आगमन ह्वात्तै बढेपछि बस्ने ठाउँ, कामको खोजी र सामाजिक सेवाका बारेमा अस्तव्यस्त नै थियो  । जहाँ समस्या त्यहाँ उपाय भनेझैँ समस्याहरू उत्पन्न भएसँगै बिस्तारै समाधान पनि हुँदै गयो तर हङकङजस्तो विकसित सहरमा नेपालीहरू स्थापित भइनसकेको अवस्थामा पत्रकारिता व्यवसाय त्यति सजिलो अवश्य थिएन  । किसन राईले व्यावसायिक जोखिम मोलेर बिस वर्षसम्म पत्रकारिता गर्नु हङकङेली नेपाली समाजका लागि गौरवको विषय हो  ।

तत्कालीन समयमा नेपालीहरू औसतमा केही आय आर्जनका लागि विदेश जाने अवस्था थियो (अहिलेसम्म) । अझ हङकङजस्तो कमाइ हुने ठाउँमा छिटो छिटो पैसा कमाएर नेपालमा घरजग्गाहरू जोड्ने प्रतिस्पर्धा नै थियो तर किसन राईले त्यो बाटो अपनाएनन् र पत्रकारिता व्यवसायलाई निरन्तरता दिइरहे । सन् २००० मा किसन र अन्य केही साथीहरू मिलेर  एभरेस्ट दैनिक पत्रिका हङकङबाट प्रकाशन गर्न सुरु गरेका थिए  । एभरेस्ट दैनिक प्रकाशनसँगै किसन राईसँग पत्रिकामार्फत मैले साक्षात्कार हुने अवसर पाएको थिएँ  । उनको पत्रकारिता, साहित्य तथा समाजिक सेवाको संलग्नताले धेरैले किसनलाई राम्ररी चिन्न र बुझ्न सके भन्ने  लाग्दछ  । 

एभरेस्ट दैनिक प्रकाशन भएको सुरुका दिनहरूमा पत्रिका कसले प्रकाशन गर्‍योभन्दा पनि हङकङजस्तो व्यस्त ठाउँमा सूचनामूलक पत्रिका प्रकाशन हुँदा खुसी लागेको थियो  । त्यस समय हङकङमा केही साहित्यिक मासिक पत्रिकाहरू मात्र प्रकाशित हुँदै आएका थिए तर निरन्तरता भने थिएन  । एभरेस्ट दैनिक पत्रिका पनि कहिलेसम्म प्रकाशित हुने हो ? भन्ने पनि जिज्ञासा नभएको होइन  । पत्रिका प्रकाशन भएको केही समयपछि अन्य साथीहरूले उनको साथ छाडे र किसन राई आफैँले पत्रिकालाई (पछि साप्ताहिक, मासिक र त्रैमासिक सम्म) निरन्तरता दिइरहे । 

त्यस समयमा नेपालमा प्रकाशित विभिन्न पत्र पत्रिकाहरू हङकङमा पाइन्थे । हङकङबाट प्रकाशित र नेपालबाट आउने सबै पत्र पत्रिकाहरू भेटेसम्म पढ्ने मेरो बानी थियो  ।

एभरेस्ट दैनिक प्रकाशन सुरु भएदेखि  साप्ताहिक सम्म नियमित पाठकका रूपमा पढेँ । मैले कविता लेख्न थालेपछि मेरा थुप्रै कविताहरू एभरेस्टमा छापिए  । यस कारणले गर्दा किसन राईसँगको चिनजानमा बल मिल्यो  । पत्रिका प्रकाशनको सुरुका दिनहरूमा दिनभर समाचार सङ्कलन र राति छापाको काम सकेर पत्रिका डेलिभरि गर्दा उनको भनाइ यस्तो थियो -'हामी पनि कन्सट्रकसनका (कडा परिश्रम र धुलो–मैलो) साथीहरूभन्दा कम छैनौँ' । विशेष गरी पत्रिकाका लागि दिनरात नभनीकन खट्थे । छाप्दा लिथो (मसी) र कागजको कामले फोहोर हुन्छ भन्दैन थे । सन् २००७ मा देश सुब्वाको आदिवासी उपन्यास प्रकाशनको समयमा हाङयुग  अज्ञात र देश सुब्वासँग उनको अफिस गएका थियौँ । आदिवासी उपन्यास विमोचन कार्यक्रमा नेपालबाट पुस्तक ल्याउन ढिलाइ भइरहेकाले किसनमार्फत ल्याउन लागिएको थियो  ।  

पछिल्लो पटक किसन राई नेपाल जाने खबर फेसबुकबाट थाहा भएको थियो र नेपालको पश्चिमी क्षेत्र भ्रमणका फोटाहरू देखेर म उत्साहित भएको थिएँ ।किसनमा नयाँ सोचहरू  आएछ भन्ने लागेको थियो । उनको लामो समय हङकङ बसाइँका क्रममा औँलामा गन्न सकिने बाहेक  हङकङबाहिर गएको जानकारी थिएन । प्रायः हङकङ एअरपोर्टमा कसैलाई लिन र पुर्‍याउन गएका मात्र फोटोहरू देखिँदै आएका थिए

त्यो भेट अनौपचारिक भए पनि हार्दिकता पूर्वक कुराकानीहरू निकै रमाइलो भएको थियो  । एकअर्का बिचमा ‘वरिष्ठ’ सम्बोधन गरेको देखेर सायद यसै समयबाट मैले पनि उहाँहरूलाई वरिष्ठ भन्न सुरु गरेँ  । यसपछिका भेटहरूमा 'वरिष्ठहरूको के छ खबर ?' भनेर किसनले सोध्ने गर्दथे र मलाई सधैँ 'खरेस' भन्ने गर्दथे  । 

२०६३/२०६४ सालमा नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रको शासन विरुद्ध राजनीतिक पार्टीहरूले शान्तिपूर्ण आन्दोलन गरिरहेको थियो  । सरकारले आन्दोलन दबाउन नेताहरूलाई गिरफ्तार  गरिरहेको थियो  ।  सरकारी दमनले गर्दा आन्दोलन झन् बढ्दै गयो  । नेपालको आन्दोलनप्रति हङकङका तत्कालीन नेपालीहरू चिन्तित त थिए नै तर कुनै पनि सङ्घसंस्थाहरू र अझ नेपालको पार्टीहरूका भ्रातृ सङ्गठनहरूले सार्वजानिक विरोधका आवाजहरू निकालेका थिएनन्  ।  यस्तो अवस्थामा  कवि हाङयुग  अज्ञातले हङकङका कवि/लेखकहरूले पनि विरोध कार्यक्रम गर्नुपर्‍यो भन्नुभयो  । केही दिनको चर्चा परिचर्चापछि ‘लोकतान्त्रिक कवि गोष्ठी’ सम्पन्न भयो  ।

उक्त कवि गोष्ठीमा दर्जनजति कविरलेखकहरू सहभागी भएका थिए । सबैले राजा ज्ञानेन्द्रको  शासनका विरुद्धमा कविताहरू सुनाएका थिए  । मैले पनि राजाको शासनको विरोध गरेर कविता सुनाएको थिएँ । उक्त गोष्ठीमा वाचन गरिएको सबै कविताहरू एभरेस्ट साप्ताहिकमा छापिएको थियो  । कार्यक्रममा किसन राईको उपस्थिति त थियो नै विरोध कार्यक्रम गर्नुपर्छ भन्नेमा उनको पनि जोड थियो  । उक्त कार्यक्रममा आउन धेरै जना डराए  । नेपाल जाँदा एयरपोर्टबाटै पुलिसले समात्छ भन्ने डर थियो  । किनकि नेपालको धेरै नेताहरू भारत जाँदै गर्दा एयरपोर्टबाट पुलिसले समातेर सशस्त्र प्रहरी गणको तालिम केन्द्र हलचोकमा राखेको समाचार आइरहेको थियो  । यसबारेमा प्रदीप नेपालले लेख लेखेका थिए । हङकङका केही जिम्मेवार (साहित्यिक संस्थाको अध्यक्ष) व्यक्तिले त नेपाल जाने मन छ/ छैन ? जाने हो भने कार्यक्रममा नजानू भन्ने अभिव्यक्ति दिएको पनि सुन्नमा आएको थियो  । जे होस् तत्कालीन राजा ज्ञानेन्द्रको शासन विरुद्धका आन्दोलनमा हङकङवासी नेपालीले कार्यक्रममार्फत ऐतिहासिक एैक्यबद्धता जनाएका थिए ।

पछिल्लो पटक २०१७ मा म हङकङ आएको अवसरमा केही साहित्यिक स्रष्टाहरूसँग काव्यिक भलाकुसरी गरौ भनेर नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र बगैँचा पब्लिकेसन हङकङको संयुक्त आयोजनामा कविता चौतारी कार्यक्रम गर्ने पब्लिकेसनका अध्यक्ष कवि नरेश सुनुवारसँग कुरा भयो  । कार्यक्रममा उपस्थितिका लागि साहित्यिक सङ्घसंस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने सवालमा किसन राईलाई फोनबाट निमन्त्रणा गरेँ । उहाँले पनि  आदिवासी चलचित्र प्रदर्शनको मलाई निमन्त्रणा दिनुभयो  । हामीले एकअर्काको निमन्त्रणा स्वीकार गर्‍यौ । कविता चौतारी कार्यक्रमको अघिल्लो दिन आदिवासी चलचित्र प्रदर्शन हुने भएकाले किरात राई यायोक्खा हङकङका तत्कालीन महासचिव विमल राईसँग यामाते कम्युनिटी हलमा गएर चलचित्र हेरियो  । भोलिपल्टको कार्यक्रममा  किसन आउनुभयो  । कार्यक्रम सुरु भइसेको र म आफैँ कार्यक्रम सञ्चालक भएकाले हामी बिच हेलो हाइभन्दा बढी कुराकानी हुन सकेन  । साहित्य विकास परिषद् हङकङको अध्यक्षका हैसियतले उहाँलाई मायाको चिनो ‘टोकन’ ले सम्मान गरिएको थियो  । मलाई सम्झना भएअनुसार किसन कार्यक्रमहरूमा प्रायः मध्य वा अन्ततिर उपस्थित हुने गर्दथे तर धेरैजसो कार्यक्रमहरूमा उपस्थिति जनाउँथे ।

केही वर्ष पहिले किसनकी श्रीमती युके आएको जानकारी भयो  । किसन पनि आएछ कि कहिले आउँछ भन्ने जिज्ञासा भयो र सर तपाईँको मिसेस युके हुनुहुन्छ भन्ने थाहा भयो, तपाईँ कहिले आउने हो ? भेटौँ है भनेर म्यासेन्जरमा लेखेँ  । तत्कालै 'हङकङ फर्किसक्यो' एक हरफको उत्तर आयो  । यसपछि हाम्रो संवाद अघि बढेन  । 
किसनसँग चिनजान भएदेखि कहिल्यै पनि लामो कुराकानी भएन र आत्मीयता नजिक भएको महसुस गर्न सकिनँ । उनको बोली सधैँ खस्रो लाग्ने तर खस्रो बोलीमा सत्यता भने महसुस हुन्थ्यो  । यिनै स्वभावले उनलाई धारेहात लगाउनेहरू पनि थिए  । कसैको रबाफ र प्रभावमा पर्न नरुचाउने र आफूलाई लागेको कुराहरू निर्धक्क राख्न सक्ने निडर व्यक्ति थिए ।

सन् २००८ मा बेलायत बसाइँ सरेपछि म उनको फेसबुक फलोवर थिएँ  । उनको हरेक स्टाटसहरू हेर्ने र कहिलेकाहीँ मन छोएका विषहरूमा लाइक र कमेन्ट गर्ने गरेको थिएँ तर उनले कहिल्यै पनि मेरो कमेन्टलाई लाइक वा प्रतिक्रिया दिएनन्  । पछिल्लो पटक किसन राई नेपाल जाने खबर फेसबुकबाट थाहा भएको थियो र नेपालको पश्चिमी क्षेत्र भ्रमणका फोटाहरू देखेर म उत्साहित भएको थिएँ ।किसनमा नयाँ सोचहरू  आएछ भन्ने लागेको थियो । उनको लामो समय हङकङ बसाइँका क्रममा औँलामा गन्न सकिने बाहेक  हङकङबाहिर गएको जानकारी थिएन । प्रायः हङकङ एअरपोर्टमा कसैलाई लिन र पुर्‍याउन गएका मात्र फोटोहरू देखिँदै आएका थिए । पछिल्लो पटक ( सायद यही अन्तिम पनि हुन सक्छ) २३ अक्टोबर २०२१ मा ओखलढुङ्गा प्रवेशद्वारको फोटो अपलोड गरेको थियो  । किसनको घर ओखलढुङ्गा हो भन्ने पहिले सुनेको थिएँ, पहाड घर गएछ भन्ने लाग्यो  । अब कता कता जाने हो ? भन्ने थप जिज्ञासाहरू मनमा उब्जेको थियो तर खोटाङ–भोजपुर  जान्छ होला भन्ने पटकै लागेको थिएन  । 

किसन राईले यस धर्ती छाडेको वर्ष दिन बितिसकेको छ  । पाँच वर्षअघि हङकङको एक साहित्यिक कार्यक्रमको भेट नै हाम्रो अन्तिम हुन गयो  तर अझ पनि कुनै कार्यक्रम वा भिडहरूमा देख्छु/भेट्छु झैँ लागिरहेछ  । घटना सत्य हुँदाहुँदै पनि मनले स्विकार्न गाह्रो हुँदो रहेछ  । अलबिदा किसन राई  ।
 

बेलायत