नागढुंगा सुरुङमार्गको ठेक्का असारमा

नागढुंगा सुरुङमार्गको ठेक्का असारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७६

काठमाडौं । मुलुकको राजधानीलाई बाँकी नेपालसँग जोड्ने लाइफलाइन सडक मानिने त्रिभुवन राजपथ अन्र्तगतको नागढुंगामा सरकारले निर्माण गर्ने भनेको सुरुङमार्गका लागि असारमा ठेक्का लाग्ने भएको छ। 

सुरुङमार्ग निर्माण गर्न कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी सहभागी थिए। चीनका ५ र जापानको १ निर्माण कम्पनीले बोलपत्रमा प्रस्ताव बुझाएका थिए। महाशाखाले बोलपत्र आह्वान गरेको करिब १ वर्ष पछि बल्ल  ठेक्का लगाउन खोजिएको हो।

सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जनजंग थापाले नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का असारभित्रै लगाउने तयारी भइरहेको जानकारी दिए।  

सुरुङमार्ग निर्माण गर्ने कम्पनी छनोट गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरुको प्राविधिक मूल्यांंकन लगभग पूरा भएको छ। आवेदन पेस गर्ने कम्पनी प्राविधिक रूपमा सवल देखिएका छन्’, उनले भने, ‘आर्थिक रूपमा न्यून रकम कबुल गर्ने कम्पनीले ठेक्का प्राप्त गर्छ।’ असारभित्रैमा निर्माण कम्पनी छनोट गरिनेछ। साउनसम्ममा निर्माण कम्पनी सुरुङमार्ग निर्माणस्थलमा परिचालन भइसक्नेछन्।

सुरुङमार्ग बनाउन काठमाडौं र धादिङतर्फको ३ सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ जसमा काठमाडौंतर्फ २ सय ६७ रोपनी र धादिङतर्फ १ सय ९ रोपनी जग्गा अधिकरण गर्नुपर्ने हुन्छ।