जात्रै जात्रा ! प्रज्ञा परिषद् सदस्य तथा  विभाग प्रमुख नै अध्यक्ष रहेको संस्थासँग सहकार्य !?

जात्रै जात्रा ! प्रज्ञा परिषद् सदस्य तथा  विभाग प्रमुख नै अध्यक्ष रहेको संस्थासँग सहकार्य !?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २०, २०८०

काठमाडौ । 'काहीँ नभएको जात्रा हाँडी गाउँमा' भने झै   नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि काहीँ नभएको जात्रा देखाउने क्रम जारी छ । 

यस्तै जात्रा २०८० म‌ंसिर १९ गते  नेपाल प्रज्ञा–प्रतिष्ठानमा जात्र देखाइएको हो । प्रसंग हो, 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी’ को । उक्त गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल साहित्य मन्दिरको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । त्यतिसम्म ठिकै मानिएको थियो ।  

त्यतिमात्र  नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य तथा भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख  त्रैलोक्यमान बनेपाली (अगिब) ले  कार्यक्रमको सभाको अध्यक्षता गरे त्यसलाई पनि कार्यक्रमका सहभागीहरुले स्वभाविक रुपमा लिए ।भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुखले   'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग’ बिलकुल सान्दर्भिक थियो। 

जब नेपाल प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य गर्ने साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको अध्यक्ष समेत  त्रैलोक्यमान बनेपाली (अगिब) नै भएको रहस्य खुल्यो तब कार्यक्रमका सहभागीहरुले  नेपाल प्रज्ञा–प्रतिष्ठानले  'काहीँ नभएको जात्रा हाँडी गाउँमा' भने झैँ जात्रा देखाएको रुपमा चर्चा सुरु भयो । नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य तथा भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख आफु हुँदा हुँदै किन आफैँ अध्यक्ष रहेको नेपाल साहित्य मन्दिरसँग सहकार्य किन गर्नु पर्‍यो ?

एक नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा परिषद् सदस्यले भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख रहेका बनेपालीले आफ्नै संस्था ल्याएर आफैँले सहकार्यको सम्झौता गराउने अनि बिना खर्च प्रतिष्ठानको ब्यानरमा नाम झुन्ड्याउनु  राम्रो होइन र ? भनि कार्यक्रममा सहभागी लोकसंवाद डटकमका प्रतिनिधिसँग हाँसो गरे। उनी भन्दै थिए 'नेपाल साहित्य मन्दिर ब्यानरमा नाम झुन्ड्याएको मात्र कहाँ हो र मित्र ! श्रीमती सुमा श्रेष्ठलाई  मञ्चमा राखेर  धन्यवाद मन्तव्य व्यक्त गर्न लगाएको देख्नु भए न र ?'

यसरी आफैँ अध्यक्ष भएको संस्थासँग नामका लागि मात्र सहकार्य गर्ने प्राज्ञ बनेपालीले कार्यक्रमको हलदेखि सम्पूर्ण खर्च प्रतिष्ठानलाई थोपर्ने र आफ्नो संस्थाको नाममा सहकार्य गरेको भनी लोक हँसाउने कार्य गरेका छन् । यस्तो सहकार्यका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले 'नेपाल साहित्य मन्दिर'  मात्र अरु २, ३ वटा संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको र त्यसमा हल, चियापान लगाएतका खर्च प्रज्ञा–प्रतिष्ठानले व्यहोर्ने गरेको जानकारी दिनु भयो । जब  'नेपाल साहित्य मन्दिर' काे अध्यक्ष त्रैलोक्यमान बनेपाली (अगिब)  (नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा परिषद् सदस्यले भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख ) भएको लोकसंवादको जिज्ञासामा भने सदस्य सचिव डा.  सुवेदीले अनभिज्ञता जाहेर गर्नु भयो र उहाँलाई नै सोध्न सुझाउँदै  त्रैलोक्यमान बनेपाली (अगिब)काे मोबाइल नम्बर उपलब्ध गराउनु भयो । तर पटक पटक फोन गर्दा बनेपालीले फोन उठाउनु भएन । 

नेपाल प्रज्ञा–प्रतिष्ठान जस्तो संस्थाले  बनेपालीकाे परिवारले चलाएको संस्थासँग किन सहकार्य गर्नु परेकाे भन्ने बारेमा औचित्य स्थापित हुँदैन तर  परिवार मोहमा लागेका प्राज्ञले थाय्भू पत्रिकाको अंक १८ अर्थात् आफू नियुक्त भएपछिको पहिलो अंकमै श्रीमतीको रचना छापेका छन् । त्यो पनि उही पारिवारिक संस्था नेपाल साहित्य मन्दिरको परिचय लेखाएर । १२२ पृष्ठमा छापिएको २ पृष्ठको लेख लेखाएर प्राज्ञ बनेपालीले पारिश्रमिक समेत श्रीमतीलाई पारिश्रमिक  दिलाउन बाध्य परेकाे बताइएको छ । प्रज्ञा बनेपालीले नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य तथा साहित्य (अनुवाद) हंसावती कुर्मीलाई दबाब दिएर श्रीमती सुमा श्रेष्ठलाई एक अनुसन्धान दिलाउन सफल भएको समेत प्रज्ञा–प्रतिष्ठान स्रोतले जनाएको छ ।