राष्ट्रिय/अन्तर्राष्ट्रिय चासोकाे परिणाम: सोती घटनामा २४ जनालाई जन्मकैद

राष्ट्रिय/अन्तर्राष्ट्रिय चासोकाे परिणाम: सोती घटनामा २४ जनालाई जन्मकैद

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २०, २०८०

जिल्ला अदालत रुकुम पश्चिमले करिब साढे तीन वर्षअघि चौरजहारी नगरपालिकास्थित सोतीगाँउमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । घटनापछि थुनामा रहेका २३ जना र फरार रहेका ११ मध्ये एक जना गरी २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश खडकबहादुर केसीको इजलासले क्रुरता पूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको तथा जातीय भेदभाव र छुवाछुतको आरोपमा नवराज विककी प्रेमिकाका बाबु र तत्कालीन वडाध्यक्षसहित २४ जनालाई जन्मकैद हुने फैसला गरेको हो । जन्मकैदको सजाय पाएकाहरुले २५ वर्ष जेल सजाय काट्नुपर्छ । 

सजाय पाउनेमा नवराजकी प्रेमिकाका बाबु, तत्कालीन वडाध्यक्ष डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगर रहेका छन् । उनीहरु हाल पुर्पक्षका लागि थुनामा नै रहेका छन् । 

अदालतले नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई भने जातीय छुवाछुतको आरोपमा दोषी ठहर गर्दै जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । 

विकसहितको टोली आएको थाहा पाएपछि उनकी प्रेमिकाकी आमाले वडाध्यक्ष मल्ललगायत गाउँलेलाई खबर गरेकी थिइन् । त्यसपछि गाउँले आएको थाहा पाएपछि विकसहितको टोली त्यहाँबाट भाग्ने क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटी लखेटी नवराज विकसहित गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको हत्या गरेका थिए भने अन्य १२ जना घाइते भएका थिए ।

घटनामा संलग्न भएको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जनाले सफाइ पाएका छन् । यो घटनामा जन्मकैदको सजाय पाएका संरक्षकको जिम्मा रहेका नाबालकले भने २५ वर्ष जेल बस्नुपर्ने छैन । बालबालिकासम्बन्धी ऐन अनुसार, बालबालिकालाई नियमित सजायको बढीमा ७५ प्रतिशत मात्रै सजाय गर्न पाइन्छ । यद्यपि उनलाई कति सजाय छुट भयो भन्नेबारे केही उल्लेख गरिएको छैन । 

१० जेठ, २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरु लिएर सोती गाउँ पुगेका थिए ।

विकसहितको टोली आएको थाहा पाएपछि उनकी प्रेमिकाकी आमाले वडाध्यक्ष मल्ललगायत गाउँलेलाई खबर गरेकी थिइन् । त्यसपछि गाउँले आएको थाहा पाएपछि विकसहितको टोली त्यहाँबाट भाग्ने क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको हत्या गरेका थिए भने अन्य १२ जना घाइते भएका थिए । 

यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले २ नाबालकसहित ३४ जनाविरुद्ध जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको थियो । प्रहरीले अनुसन्धानपछि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न रहेको र नवराज विककी प्रेमिका, उनकी आमा र किशोरीका ठूलोबाबु इन्द्रबहादुर मल्ललाई घटनाको षड्यन्त्रमा सामेल भएको निष्कर्ष निकालेको थियो । 

सोती घटना के हो ?

१० जेठ, २०७७ मा भएको यो घटनामा नवराज विक सहित ६ जनाले ज्यान गुमाएका थिए । जसमा मारिएका ६ जनामध्ये चार जना दलित समुदायका थिए । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । यो घटनालगत्तै गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले पठाएको अनुसन्धान टोली र प्रहरीले अनुसन्धान गरेका थिए । आयोगले आफ्नो अनुसन्धानमा घटनाको प्रमुख कारक जातीय विभेद रहेको निष्कर्ष निकालेको थियो । घटनाको अनुसन्धानका लागि बनेको संसदीय विशेष छानबिन समितिले ‘नियोजित रूपमा उक्त घटना घटाएको’ निष्कर्ष निकालेको थियो । यो घटनामा अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले चासो व्यक्त गरेका थिए । नेपालमा जातीय विभेद र हिंसासँग जोडिएका अपराधमा दण्डहीनता उच्च रहेको भन्दै सोती घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । संयुक्त राष्ट्रसंघीय  मानवअधिकार उच्चायुक्तको कार्यालय र ह्ययूमन राइट्स वाचले घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न ध्यानाकर्षण गराएका थिए ।