गाजाको आमबिनाशमा रमिते तथा युद्ध अपराधमा अमेरिका कै मिलीभगत

गाजाको आमबिनाशमा रमिते तथा युद्ध अपराधमा अमेरिका कै मिलीभगत

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २४, २०८०

इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेकै समयमा अमेरिका गाजामा युद्धविरामका लागि राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्ताव अमेरिकी भिटोका कारण असफल भएको छ । 

गाजाको दक्षिणी क्षेत्रमा भीषण आक्रमणका कारण खान युनिसस्थित नासिर अस्पतालका चिकित्सकहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतक ल्याइएपछि त्यहाँको स्वास्थ्य प्रणाली नै ध्वस्त बनेको छ । 

अस्पतालका निर्देशक नाहेद अबु तायमाले भने, ‘सयकडौं संख्यामा घाइते र मृतकहरुलाई अस्पताल ल्याइएको छ । खान युनिसमा इजरायलको लगातार बमबारी बीच हामी खुला आकाशमुनि र अस्पतालको करिडोरमा घाइतेहरुलाई राखेर उपचार गर्न बाध्य भएका छौं । हामीसँग मेडिकल उपकरणहरु पनि थोरै छन् ।’

यसैबीच युएन वल्र्ड प्रोग्रामका उपनिर्देशक कार्ल स्काउले प्यालेस्टिनी क्षेत्रमा १० मध्ये ९ जनाले हरेक दिन खान नपाएको र त्यहाँको आधा जनसंख्या भोकमरीको चपेटामा परेको जनाएका छन् । जबालिया क्याम्पमा बसेकाहरु कयौं दिनदेखि भोकै तिर्खै बस्न बाध्य छन् । 

गाजा क्षेत्रमा जारी मानवीय संकट बीच तत्काल युद्धविराम गर्ने राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । यसले गाजामा तत्काल युद्ध विरामको प्रस्ताव असफल भएको छ । प्रस्तावको पक्षमा १३ देशले मतदान गरेका थिए भने बेलायत मतदानमा सहभागी भएन । यस लगत्तै प्रतिक्रिया दिँदै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकालाई युद्ध अपराधमा मिलीभगत गरेको आरोप लगाएका छन् ।

गाजामा भएको इजरायली आक्रमणमा प्यालेस्टिनी बालबालिका, महिला र वृद्ध वृद्धामाथि भएको रक्तपातका लागि वासिङ्टनलाई जिम्मेवार ठहर्‍याउने पनि उनले बताएका छन् । सुरक्षा परिषद्मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा अमेरिकामात्रै उभिएको हो ।

सुरक्षा परिषद्का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरेमा प्रस्ताव पारित हुन सक्दैन ।

विश्व खाद्य कार्यक्रमका सहायक कार्यकारी निर्देशक कार्ल स्काउले गाजा पुग्नुअघि आफूले त्यस प्रकारको त्रास, भद्रगोल र निराशाको कल्पना नगरेको बताएका छन् । गाजापमा आक्रमण तीव्र भइरहँदा आवश्यकताको सानो अंश मात्र खाद्यान्न पुगिरहेको उनले बताएका छन् । उनले गाजामा जारी भीषण हमला, भद्रगोल र अस्तव्यस्तताका कारण आपूर्तिहरू असम्भवप्रायः रहेको बताएका छन् । 

अमेरिकाले यूएईको प्रस्ताव असन्तुलित र अवास्तविक भएको आरोप लगाएको छ । अमेरिकाले बिनासर्त युद्धविरामका लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा नगरेका कारण प्रस्तावमा समर्थन नगर्ने बताएको छ । ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएको थियो । 

अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्मा यो प्रस्तावले इजरेलले उक्त आक्रमण सहनुपर्ने मर्म बोकेको र यसले आतंकलाई फेरि आफ्नो ठाउँ बनाएर खडा हुने बाटो दिने दाबी गरे । अमेरिकी प्रतिनिधिले आफ्ना सिफारिसहरूलाई प्रस्तावमा बेवास्ता गरिएको समेत बताएका छन्।

प्रस्ताव असफल भएपछि प्यालेस्टाइनले भने अमेरिकी भिटोप्रति खेद व्यक्त गरेर मात्रै नपुग्ने भन्दै यो युद्ध अपराधमा मिलीभगत गरेको टिप्पणी गरेको छ । प्यालेस्टाइनले भनेको छ, ‘लाखौं प्यालेस्टिनीहरू जीवन मरणको दोसाँधमा छन् । ती हरेक जीवन पवित्र छन् र बाँच्नका लागि लायक छन् ।’ गाजामा इजरायलले गरेको अन्धाधुन्ध हमलामा करिब १८ हजारको मृत्यु भइसकेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले नागरिकको सुरक्षाका लागि सावधानी अपनाउन इजरायललाई आग्रह गरे पनि इजरायली सेनाले गाजामा नागरिक बस्तीहरुलाई समेत निशाना बनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको भन्दै ध्यानाकर्षण गराएका छन् । 

विश्व खाद्य कार्यक्रमका सहायक कार्यकारी निर्देशक कार्ल स्काउले गाजा पुग्नुअघि आफूले त्यस प्रकारको त्रास, भद्रगोल र निराशाको कल्पना नगरेको बताएका छन् । गाजापमा आक्रमण तीव्र भइरहँदा आवश्यकताको सानो अंश मात्र खाद्यान्न पुगिरहेको उनले बताएका छन् । उनले गाजामा जारी भीषण हमला, भद्रगोल र अस्तव्यस्तताका कारण आपूर्तिहरू असम्भवप्रायः रहेको बताएका छन् । 

संयुक्त राष्ट्रसंघले सहायता सामग्री लैजानका लागि इजरायलसँग केरम सुलम नाका खोल्न छलफल गरिरहेको छ । अहिले गाजामा सहायता सामग्री पुर्‍याउन इजिप्टतर्फको रफाह नाका मात्र खुला छ । 

दोस्रो विश्वयुद्धपछि आफ्नो भूमि गुमाएको प्यालेस्टाइनले त्यसयता भूमिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । जसमा मोहम्मद अब्बासको फतहले इजरायलसँग सम्झौताको नीति लिएपछि हमासले इजरायलसँग सशस्त्र संघर्ष गरिरहेको छ । सन् १८४८ मा इजरायल बनेपछि निरन्तर प्यालेस्टिनी भूमि कब्जा गर्दै आएको छ । गाजा क्षेत्रमा त्यसपछिका हरेक इजरायली आक्रमणमा मानवीय संकट सिर्जना हुने गरेको छ । पश्चिमाको मौन समर्थन पाएको इजरायलले प्यालेस्टाइन माथि गरिरहेको युद्धको अत्याचारको विश्व नै रमिते बन्ने गरेको छ । इजरायलको रिस शान्त भएपछि यो युद्ध पनि कहिले टुंगिन्छ भन्ने निश्चित छैन ।