चीनको युनान प्रदेश र बागमती प्रदेशबीच भगिनी सम्बन्ध स्थापितका लागि छलफल

चीनको युनान प्रदेश र बागमती प्रदेशबीच भगिनी सम्बन्ध स्थापितका लागि छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०८०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश र चीनको युनान प्रदेशबीच भगिनी सम्बन्ध स्थापित गराई आपसी सहयोगको वातावरण निर्माणका लागि प्रस्ताव गर्नुभएको छ ।

मङ्सिर १६–२१ सम्मको भ्रमणका क्रममा प्रदेश प्रमुख शर्माले चीनको युनान प्रदेशका भाइस गभर्नरलाई बागमती प्रदेश र युनान प्रदेशबीच मित्रवत सम्बन्ध स्थापनाका लागि प्रस्ताव गर्नुभएको हो । यस खालको सम्बन्ध स्थापित भएमा दुई देशका प्रदेशबीच आपसमा कृषि, पर्यटन लगायतका क्षेत्रमा सहयोगको वातावरण सृजना हुने अपेक्षा गरिएको छ ।
यस्तै, भ्रमणका क्रममा चीनको स्थानीय तह र नेपालको स्थानीय तहबीच मित्रवत् सम्बन्ध स्थापित गरी आपसी सहकार्यमा अगाडी बढ्ने विषयमा पनि प्रदेश प्रमुख शर्माले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रदेश प्रमुख शर्माको नेतृत्वको पाँच सदस्यीय भ्रमण टोलीले चीनको युनान प्रदेशको कृषि पर्यटनका विभिन्न क्षेत्रको अवलोकन गरेको थियो ।

भ्रमण टोलीमा प्रमुख शर्मा पत्नी उर्मिला चौलागाईँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र प्रदेश प्रमुुखको कार्यालय बागमती प्रदेशका उप सचिव गोविन्द प्रसाद पौडेल रहनुु भएको थियो । जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट प्रदेश प्रमुख शर्माको नेतृत्वमा पाँच सदस्य भ्रमण टोलीलाई भ्रमणको लागि निमन्त्रण भई आएकाले टोली त्यता गएको थियो ।