रिलायन्स स्रष्टा सम्मान: प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल र कवि हेम प्रभासलाई प्रदान गर्ने घोषणा

रिलायन्स स्रष्टा सम्मान: प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल र कवि हेम प्रभासलाई प्रदान गर्ने  घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०८०

 काठमाडौँ । रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा.हेमनाथ पौडेल र रिलायन्स  युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गर्ने  घोषणा गरेको छ । 

डा. पौडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ समालोचक, कवि एवं  निबन्धकार व्यक्तित्व हुन् । नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्का पूर्व सदस्य एवं काव्य विभाग प्रमुखसमेत रहेका प्राज्ञ पौडेलका  समालोचना,  सृजना र भाषा व्याकरणका गरी दर्जन जति  कृति प्रकाशित छन् । उनले शब्दकोशलगायतका दुई दर्जनभन्दा बढी महत्त्वपूर्ण कृति र पत्र पत्रिकाको सम्पादन पनि गरेका छन् ।  हेम प्रभास भने प्रखर युवा कवि हुन् । 

उक्त सम्मान / पुरस्कार यही ३० गते शनिबार कपनस्थित रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत रहेको रिलायन्स इन्टरनेसलन एकेमीको प्राङ्गणमा एक भव्य समारोहका बिच प्रदान गरिने साहित्य समाजका अध्यक्ष दामोदर निरौलाले जानकारी दिनु भएको छ  ।

वरिष्ठ कवि एवं पूर्व कुलपति वैरागी काइँलाको प्रमुख आतिथ्य र समाजमा प्रतिष्ठित व्यक्तित्वहरू तथा शिक्षक, विद्यार्थीसमेतको उपस्थितिमा आयोजना हुने सोही समारोहमाअन्तर्माध्यमिक विद्यालय स्तरीय राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगितामा पुरस्कृत हुने विद्यालय र विद्यार्थीलाई पनि  पुरस्कार प्रदान गरिने र सो समारोहमा स्थापित चर्चित कविहरूद्वारा कविता वाचनसमेत हुने अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

पाँचओटा शैक्षिक संस्थाको छाता संस्था रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत २०६६ सालमा स्थापित यस साहित्य समाजले प्रतिवर्ष महाकवि देवकोटाका स्मृतिमा यी पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ ।

यसअघि केही वर्षलाई छाडेर स्रष्टा सम्मान शैलेन्दुप्रकाश नेपाल, डा. कुमारबहादुर जोशी, प्रा. डा. वासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु, प्रा।डा। महादेव अवस्थी, प्रा. राजेन्द्र सुवेदी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, डा। रामप्रसाद ज्ञवाली, कवि मित्रलाल पंज्ञानी र कवि कलानिधि दाहाललाई  र युवा प्रतिभा सम्मान कविहरू बलराम दाहाल र रूपक अलङ्कारलाई प्रदान गरिएको थियो ।

साहित्य स्रष्टा सम्मानको राशि रु २५००० हजार नगद तथा सम्मानपत्र र दोसल्ला तथा  युवा प्रतिभा सम्मान रु १०००० एवं सम्मानपत्र र दोसल्ला तथा वक्तृत्व कलाका विजेता स्कुल र विद्यार्थीलाई नगद पुरस्कारसहित  ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र कविता वाचनका निम्ति आमन्त्रित कविहरूलाई यातायात खर्च दिइने गरेको आयोजक संस्थाका अध्यक्ष निरौलालाले बताउनुभयो ।

रिलायन्स शैक्षिक प्रतिष्ठान कलेज र विद्यालयहरूसमेत गरी पाँचओटा संस्थाको छाता संस्था हो । कुशल व्यवस्थापक रवीन्द्रजंग थापा अध्यक्ष रहेको यस प्रतिष्ठानअन्तर्गतका संस्थाहरूले शैक्षिक क्षेत्रमा मात्र होइन, सामाजिक, साहित्यिक र  प्राज्ञिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको पाइन्छ ।