फिलिपिन्स सर्किटमा नेपाली मोटरसाइकल नेपाली राइडर यूकेश थापाले भाग लिँदै

फिलिपिन्स सर्किटमा नेपाली मोटरसाइकल नेपाली राइडर यूकेश थापाले भाग लिँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २५, २०८०

काठमाडौँ ।एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कप अफ रोड रेसिङ्ग (ACRR) फाइनल राउण्डमा भाग लिन दुई सदस्यीय नेपाली टोली आज फिलिपिन्स प्रस्थान गरेको छ । नेपाली राइडर यूकेश थापा तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यसतर्फ प्रस्थान गरेका हुन् । 

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल, उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख अनिल कुमार बराल, मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने, एथलिट  कमिसनका प्रमुख कृष्ण पौडेल, राइडरका मातापिता तथा मोटरस्पोर्टस् नेपाल क्लबका खेलाडीहरुले नेपाली टोलीलाई आज बिदाइ गर्नुभयो । 

टारल्याक सर्किट हिल ट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका दसवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् । १५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा १५ वटा मोडहरु रहने छन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, सिंगापुर, इरान, श्रीलंका, ताईवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।