सुन तस्करीमा सरकारी छानबिनको नाटक: बारमतले झनै तस्कर उत्साहित भएको भई

सुन तस्करीमा सरकारी छानबिनको नाटक: बारमतले झनै तस्कर उत्साहित भएको भई

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०८०

गत साउन २ गते त्रिभूवन विमानस्थल भन्सार जाँचपास भएर बाहिर निस्किसकेको अवस्थामा राजस्व अनुसन्धानको टोलीले ६० किलो सुन बरामद गर्‍यो । यो सुन तस्करीमा सरकारकै मन्त्री र उच्च अधिकारीको मिलेमतो रहेको भन्दै प्रमुख विपक्षी दल एमालेले झण्डै एक महिना संसद अवरुद्ध पारेको थियो । यो घटनाको अनुसन्धानका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने र त्यसमार्फत छानबिन हुनुपर्ने एमालेको माग थियो । तर समिति गठनपछि यो प्रकरण करिब करिब अब सेलाएको छ । छानबिन कसरी भइरहेको छ र कसको संलग्नता छ आदिबारे कुनै जानकारी बाहिर आएको छैन । ६० किलो सुन तस्करी प्रकरणमा करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

त्यसयता त्रिभूवन विमानस्थलबाट सुन ल्याएको र पक्राउ परेका घटना बाहिर आएका थिएनन् । तर बिहीबार राति त्रिभूवन विमानस्थलबाट १४ किलो सुन बरामत भयो । यो सुन तस्करी हुँदै गरेको र नेपालको विमानस्थलमार्फत बाहिर निकाल्ने योजनाको पूर्वजानकारी पाएपछि राजस्व अनुसन्धानको टोलीले नेपालदेखि दुबईसम्म पुगेर ‘रेकी’ गर्दै सुन पक्राउ गर्न सफल भएको थियो । 

यस लगत्तै फ्लाई दुबईको शनिबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको उडान नं. एफजेड–५७३ विमानमार्फत आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमले ६ किलो सुनका प्याकेट अध्यागमन र भन्सार जाँच सहजै पार गराए । 

विमानस्थलको ‘वाक थ्रु’ छिर्दा त्यसबाट कुनै संकेत मिलेन । उनी त्रिभुवन विमानस्थलबाट पार हुनै लाग्दा विमानस्थल सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुले उनको लुगा लगाई र हिँडाई शंकास्पद लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गरे । सोधपुछका क्रममा उनी अल्मलिए पछि प्रहरीले खानतलासी लिएको थियो । यस क्रममा अर्धठोस प्रकृतिका सुनका डल्ला फेला परे । 

त्रिभुवन विमानस्थलबाट सुन बाहिरिएको यो पहिलो घटना होइन । गत साउनमा ६० किलो सुन पक्राउ पर्नुअघि पनि धेरै सुन विभिन्न माध्यमबाट तस्करी भएको बताइन्छ । गत वर्ष २०७९ पुसमा एक सुडानी नागरिक मोहम्मद अहमद डाफल्लाको साथबाट पनि यस्तै अवस्थामा १९ किलो सुन प्रहरीले समात्न सफल भएको थियो । त्यसलगत्तै गत वर्षको माघमा पनि ९ किलो सुन सुरक्षा जाँच कट्न लाग्दा पक्राउ परेको थियो । 

यी घटनाक्रमले एकातिर विमानस्थल सुन तस्करीका लागि स्वर्ग बन्दै गरेको र अर्कोतिर विमानस्थलको मेशिनले पनि सुन ‘डिटेक्ट’ नगर्ने गरेको देखिन्छ । यसरी आउने सुन साँच्चै मेसिनले डिटेक्ट नगरेका कारण बाहिर निस्किन्छ वा कुनै साँठगाँठमा यस्ता घटना हुन्छन् भन्ने अनुसन्धानकै विषय बनेको छ ।

ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो सुन, विद्युतीय सिगरेट (भेप) देखि दोलखाको लामाबगरमा पक्राउ परेको ११ किलो जस्ता अनेकौं सुनकाण्ड पछिल्लो वर्षमा मात्रै बाहिर आइसकेका छन् । ६० किलो सुनकाण्ड छानबिनका लागि बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको उच्चस्तरीय आयोगले आरोपीहरुसँग छलफल गरिरहेको छ । 

गत बिहीबार राति १४ किलो सुन पक्राउ परेको घटना पनि शंकास्पद मान्नुपर्ने अधिकारीहरु बताउँछन् । सुन लिएर दुबईबाट आएका गोरखाका चन्द्र घलेले अनुसन्धानका क्रममा आफूले सुन शौचालयमा रहेको डस्टबिनमा मात्रै राख्ने जिम्मा पाएको बताएका छन् । यसको अर्थ डस्टबिनदेखि बाहिर निकाल्ने जिम्मा त्यही कार्यरत अरु कसैको हुनसक्ने अनुमान लगाउन सहज छ ।

तर त्यस्तो जिम्मा पाएको व्यक्ति को थियो भन्ने एकिन भएको छैन । घले यो वर्षमा मात्रै पाँच पटक दुबई–काठमाडौं आउजाउ गरेको देखिएको छ । यसको अर्थ उनी पहिल्यैदेखि यो तस्कर समूहसँग निकट रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसरी आउने सुनको केही हिस्सा नेपाली बजारमा र ठूलो हिस्सा भारतमा जाने गरेको विगतका अनुसन्धान र घटनाक्रमले देखाएका छन् ।

गत साता मात्रै प्रहरीले न्युरोडको एक पसलबाट अवैध सुन बिक्री हुने गरेको सूचनाका आधारमा छापा मारी ७ किलो ८ सय ग्राम सुन बरामद गरेको थियो । यस्तै गत शुक्रबारमात्रै नागढुंगाबाट प्रहरीले २ किलो सुन बरामद गरेको थियो । काठमाडौंमा पाँच दिनभित्रै ३० किलोभन्दा बडी अवैध सुन बरामद भएको देखिन्छ । यसरी हुने तस्करीको सरकारले एकपछि अर्को छानबिन गर्दै आएको छ । तर यस्ता घटनामा कारबाही भएका र तस्करहरू निरुत्साहित हुनुको सट्टा झनै उत्साहित भएकाे देखिन्छ । 

ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो सुन, विद्युतीय सिगरेट (भेप) देखि दोलखाको लामाबगरमा पक्राउ परेको ११ किलो जस्ता अनेकौं सुनकाण्ड पछिल्लो वर्षमा मात्रै बाहिर आइसकेका छन् । ६० किलो सुनकाण्ड छानबिनका लागि बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको उच्चस्तरीय आयोगले आरोपीहरुसँग छलफल गरिरहेको छ । 

२०७४ सालमा ३३ किलो सुनकाण्डमा सनम शाक्यको हत्या भएपछि छानबिनका लागि सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । जसले विमानस्थल सुरक्षामा गम्भीर प्रश्न औंल्याएको थियो । तर सरकारले त्यो प्रतिवेदन सार्वजनिक पनि गरेन र सुझाव कार्यान्वयन पनि गरेन । जसको परिणाम अहिले पनि विमानस्थल सुन तस्करीको प्रमुख ट्रान्जिट प्वाइन्ट बनेको देखिएको छ ।