काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु

काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २६, २०८०

काठमाडौँ ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र जीपी कोइराला फाउण्डेशन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु भएको छ ।

प्रतिष्ठानमा सुरु भएको अन्तरराष्ट्रिय बाल कला मेलाको आज प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गर्नुभयो । नेपाल, भारत र बङ्गलादेशका बालबालिकाका कलाकृति राखिएको प्रदर्शनी यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।

समारोहमा कुलपति हार्तम्छालीले कला राजनीति जस्तो नभई सुषुप्त रूपमा अघि बढेर जाने विषय भएको उल्लेख गर्दै भन्नुभयो, 'जुन रूपमा कलाकृतिको प्रदर्शनी भएको छ, यो सजिलो तबरले भएको पक्कै होइन । यसमा तीन वटा देशका सृजना आएका छन् । यो कला एकताको सन्देश पनि हो ।'

उहाँले प्रदर्शित कला पुस्ता हस्तान्तरणको कामसमेत भएकाले यसको भविष्य पनि सुन्दर रहेको बताउनुभयो । अग्रज कलाकार राधेश्याम मुल्मीले कला संसारभरिको भाषा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले चलेका कलाकारलाई मात्र प्रचारप्रसार नगरेर बालबालिकालाई पनि अघि बढाउने प्रयत्न स्वरूप यस कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यो प्रदर्शनी प्रदर्शनी मात्र नभएर भविष्यमा कसरी मनोज्ञवैज्ञानिक तबरले बालबालिकाको उन्नति गर्न सकिन्छ भन्ने कुराको दीर्घकालीन सोच पनि हो ।'

प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ पाल्साङ्मो लामा, कलाकारहरु प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, प्राज्ञ मिथिलादेवी, रमेश खनाललगायतले तीन देशका बालबालिकाको कला प्रदर्शनीले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने बताउनुभएको थियो ।