एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठ सम्मानित

एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठ सम्मानित

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २४, २०७६

कास्की । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मान गरिएको छ । 

पोखरा महानगरपालिका–७ निवासी श्रेष्ठलाई पोखरा महानगरपालिकाले आज सम्मान गरेको हो । विगत २५ वर्षदेखि एचआइभीबाट पीडित पूर्व ए डिभिजन फुटबल खेलाडी ५६ वर्षीय श्रेष्ठले यही जेठ ८ गते सर्वेेच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 

महानगरप्रमुख मानबहादुर जिसीले श्रेष्ठलाई दोसल्ला तथा मायाको चिनोसहित सम्मान गर्दै श्रेष्ठ पोखराको शान र गौरव रहेको तथा महानगरको झण्डा सगरमाथाको चुचुरोमा फर्फराएकामा आभार व्यक्त गर्नुभयो । महानगरप्रमुख जिसीले भन्नुभयो, ‘श्रेष्ठजी प्रेरणाको स्रोत हुनुभएको छ , कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उहाँले गरेको सगरमाथा आरोहणले दिएको छ’ । श्रेष्ठको सगरमाथा आरोहणबाट एचआइभी सङ्क्रमितले पनि समाजमा केही सकारात्मक सन्देश दिन सक्दछन् भन्ने पुष्टि भएको प्रमुख जिसीले उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्व श्रेष्ठले एचआइभी भएको भनेर सार्वजनिक नगर्न दबाब आए पनि आफूले सङ्क्रमित व्यक्ति समाजमा लुकेर बस्नु हुँदैन केही न केही गर्नुपर्दछ भनेर खुलेर प्रस्तुत भएको बताउनुभयो । सगरमाथा आरोहण गर्नुभन्दा कतिपयले हाँसोका रुपमा लिएको र कतिले सोच राम्रो हो तर खै भन्ने गरेको स्मरण गर्दै श्रेष्ठले पहिलो पटक विसं २०७२ मा आरोहणको तयारी गरे पनि भूकम्पका कारणले आधार शिविरबाटै फिर्ता हुनुपरेको बताउनुभयो ।

 अनेक चुनौतीको सामना गर्दै सगरमाथाको चुचुरोमा पुगेको बताउँदै उहाँले एचआइभी सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले श्रेष्ठ पोखराको शान र गौरव भएको बताउँदै उहाँको नाम विश्व रेकर्डमा दर्ज हुने बताउनुभयो । कार्यक्रममा श्रेष्ठको आरोहणमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई समेत पनि सम्मान गरिएको थियो ।