नागरिक स्वीकार्य शासनको अभाव नै व्यवस्थामा प्रश्न उठ्ने कारक

नागरिक स्वीकार्य शासनको अभाव नै व्यवस्थामा प्रश्न उठ्ने कारक

डिल्ली बि.सी.  |  दृष्टिकोण  |  मंसिर २७, २०८०

छिमेकी देश भारतको बहुचर्चित अयोध्यामा साथीहरुसँग एक दिनका लागि जाँदा शासकीय व्यवस्थाको केही अनुभुति गर्ने अवसर मिल्यो । यो स्थान ‘भारतका सात मोक्ष पुरीमध्ये एक, प्राचीन सूर्यवंश राजाहरुको एक प्रसिद्ध राजधानी, साकेत, रामचन्द्रको राजधानी’ भनेर प्रज्ञा नेपाली वृहत् शब्दकोष पनि उल्लेख गरिएको छ । यसको ऐतिहासिकता, पौराणिकता वा धार्मिक मान्यता भन्दा पनि यहाँ पुग्दा शासन संचालनका केही क्रियाकलापको अनुभुति साँच्चिकै उल्लेख्य देखियो । 

हाम्रो देशको सल्यानको शारदा नदी, दाङमा बबई नदीलाई सरयू भनिन्छ । बर्दियाको गुलरियामा पनि बबई नदिको पुरानो बाटोलाई सरयू भनिन्छ । यस्तै कर्णाली सोही बबई नदि मिसिएर भारतकै घाघराघाटमा घाघरा नदि भनिन्छ । विभिन्न स्थानमा विभिन्न नामले परिचित नदी जो अयोध्यामा पुगेर सरयू नामले परिचित नदि किनारमा अवस्थित अयोध्या नगरी साँच्चिकै नागरिकले पालना गरेका केही नियम मन छुने रहेछन् ।

करिब ३ घण्टाको बसाइमा सबै नियमको पालना र त्यसका सकारात्मक र नकारात्मक पक्ष भने केलाउन सकिएन, त्यो संभव पनि थिएन् । तर पनि यो धार्मिक स्थलको अवलोकनका हेतुले मात्रैको यात्रा भएकोले त्यही छोटो समयको अनुभूतिले आफ्नो समाज, राजनीतिक निर्णय, त्यसको पालना, सिक्नु पर्ने केही कौतुहलता मात्रै हो । जनमानसमा शासनका नियमको पालना, त्यसले पारेका प्रभाव र नागरिक स्वीकार्यता भने प्रशंसा योग्य छ । 

अयोध्या नगरमा हामीले नेपालबाट लिएको ‘देव शिला’ देखि निर्माणधिन राममन्दिरको अवलोकन पश्चात खानाका लागि विषयको सुरुवात भयो । हामी सवार सिक्साका चालकलाई राम्रो मासु खाना पाइने ठाउँमा पुर्याउन भन्यौं, तर त्यस नगरभरी मासु, माछा र अण्डा जस्ता परिकार नै पाउँदो रहेन छ । यतिमात्रै हैन रक्सी जन्य कुनै पनि पदार्थ समेत पाउँदो रहेनछ ।

सुन्दा सामान्य तर हाम्रा लागि अचम्म लाग्यो । के यो शहरमा यी सबैको व्यापार हुँदैन भन्ने हाम्रो जिज्ञासामा चालकको छिटो जवाफ थियो, शहरको करिब पाँच किलोमिटर क्षेत्र बाहिर मात्रै उपलब्ध हुन्छ तर यहाँ छैन् । हामीले फेरी जिज्ञासा राख्यौं के यहाँ कसैले खाँदैनन्, उनको जवाफ थियो खान्छन् होला तर आफ्नो घरमा । किन भन्ने हाम्रो प्रतिप्रश्नमा उनको जवाफ थियो,यो पवित्र भुमि हो ।

यसको सबैले पालना गर्नु पर्छ । यसले के फाइदा छ, उनले जवाफ थियो अरु त जान्दिनँ तर यो पनि हाम्रो पहिचान हो । यसका साथै यो शहरमा अर्को एउटा पहिचान छ, जो राम र रामसँग जोडिएका झजन श्रवणका लागि शहरको मुख्य बाटमा साउण्ड सिस्टमनै जडान गरिएको छ । मन्दधुनमा निरन्तर बजिरहन्छ ।

यसैगरी अर्को छिमेकी मुलुक चीनमा करिब चार वर्ष पहिले नेपालबाट नजिकैको छेन्दु प्रान्तको इपीङ्ग नगरपालिकामा पनि ७ दिनसम्म अध्ययन र अवलोकन भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । माथी उल्लेखित गरिएको देश र प्रसंग फरक हो । तर शासनको पालना, जनउत्तरदायी निर्णय र जीवन शैलीमा प्रभाव भने एकै अनुभुति भयो । त्यो पनि चीनकै सबैभन्दा लामो नदि मध्येको याङ्गसी नदिको उद्गम स्थानमा सुन्दर शहरको विकास हुँदै थियो । त्यहाँका नागरिकको अनुशासन हेर्दा साँच्चिकै समाज बनाउने हो भने नागरिक पनि उत्तिकै जिम्मेवार हुनु पर्ने रहेछ भन्ने लागेको छ । त्यो शहर यति सुन्दर थियो की बखान गर्ने शब्द नै थिएन । सफा, चिटिक्क परेको, क्रमबद्ध ट्राफिक र नागरिक मन्त्र थियो हाम्रो राष्ट्रपतिले भन्नु भएको छ ‘निलो आकास, हरियो जमिन’ । यो वाचन मात्रै हैन व्यवहारमै यस्तो थियो । शासन संचालन र नागरिक स्वीकार्यताको अनुपम सम्बन्ध हुँदो रहेछ ।

राजनीति चटकेको डम्फु बजाएर जादु देखाए जस्तो हैन । सिद्धान्त, नीति, कार्यक्रम र सवालमा आधारित हुनु पर्दछ । अनि हामीले अयोध्यामा अनुभुति गरेको होस या इपीङ्गमा सुनेको वचन होस । त्यो हाम्रो समाजमा पनि सुनिन्छ । प्रशंसा हुने छ । किनकी हामीले छिमेकीको नाकाबन्दी र त्यस विरुद्ध सरकारले चालेका कदमको समर्थन, सहयोग र प्रशंसा गरेको हैन र ?

यी दुबै प्रसंग कुनै प्राज्ञिक अध्ययनका निष्कर्ष हैनन् । यो केवल अनुभुति मात्रै हुन । यसका पछाडी कथ्य, तथ्य र प्रमाणका विषयमा हैन तर शासन प्रणालीको जनस्तरमा प्रभावको सानो छनक मात्रै हो । प्रसंग जुन भएपनि नागरिक स्वीकार्यता हाम्रा लागि अनुकरणीय पनि हुन सक्छ ।

राजनीति र समाज

दलगत राजनीति भएपनि गणतन्त्रमा पनि हामीले गैरराजनीतिक विचारधाराका चरित्रका घटना भोगेका छौ । प्रसंग यो दल र त्यो दलको कुरा हैन । पाँच वर्षसम्म आफ्नो पार्टी, संगठित, राजनीतिक दलको बखान गर्नु पर्ने तर शिर्ष नेतृत्वको निर्णयले हिजो जुनदलका नीति, कार्यक्रम र कार्यकर्ताका विरुद्धमा स्थानीय नेता कार्यकर्ता जीवन समेत गुमाउनु परेको थियो तिनै दलका नेता र चुनाव चिन्हमा समेत भोट हाल्नु पर्ने । पक्षमा प्रचारप्रसार गर्नु पर्ने जस्ता विचारधारा विहिन सत्ता मोहोको राजनीतिक संक्रिणताको पक्षपोषण गर्नु पर्ने बाध्यकारी आजको राजनीतिक चक्र रहेको छ । यसले गर्दा सिद्धान्त निष्ठ भन्दा पनि सत्ता निष्ठ नेता र कार्यकर्ता निर्माण भइरहेको छ । त्यसको प्रभावले गर्दा विचार, कार्यक्रम हैन केवल सत्ताका लागि मात्रै राजनीति भएको छ । एजेण्डा विहिन राजनीति, स्वविचारित निर्णय भन्दा अरुबाट लादिएको निर्णय भइरहेका छन् । जीवन र जगतका लागि भन्दा पनि आफु र आफ्नो पेरिफेरीका लागि निर्णय भएका छन् । नेताको वचनको कुनै तुक छैन् । सभापिच्छे एकै सवालमा फरक फरक तर्क छन् । पार्टीहरुको आन्तरिक जीवन क्रूरग्रह जस्तो भएको छ । 

नेपाली समाज विश्वास योग्य, सहयोगी, आत्मीय र अन्तरघुलनको उच्च पहिचान थियो । आज समाज हैन परिवारमै विश्वास छैन। आत्मीयता छैन् । छिन्नभिन्न छ । नाता सम्बन्ध प्राविधिक रुपमा मात्रै छ । घर बसेका लागि परदेशीको विश्वास छैन् । परदेशमा बसेकालाई घर बसेकाको विश्वास छैन् । आज संयुक्त परिवार व्यक्तिको बृद्धि विकासको अफिमको रुपमा चित्रण गरी दिन प्रतिदिन छिन्न भिन्न बनाइँदै छ । परिवारको सम्बन्ध गोत्यारमा परिणत हुँदै छ । पूर्ण व्यक्‍तिवाद र स्वार्थ सिद्धीका लागि एकै छानोको बास छ । यसको एउटै कारण नहुन सक्छ तर प्रमुख कारण भनेको व्यक्तिमा निर्माण भएको अनुशासन हीनता हुनसक्छ ।

परसंस्कारको ग्रहणका नाममा अपव्याख्या गर्दै व्यक्ति व्यक्ति बीचको घनिष्टतालाई ध्वस्त पार्नुले हो । अझ भन्दा शासकीय नीति नेपाली संस्कार, सभ्यता, मान्यता, मुल्य र परम्परा भन्दा मुठ्ठी भरका कलुषित मानसिकता स्वार्थसिद्धिको चंगुलमा पर्दा व्यक्ति, परिवार, समाज र वस्तीमा पारेको विग्रहको परिणाम पनि आजको विकसित विश्वासहीन, आत्मकेन्द्रित र व्यक्तिवादी समाज निर्माणको परिणाम पनि हुन सक्छ ।

व्यक्तिको विग्रहले परिवार ध्वस्त । परिवारको विग्रहले समाज र समाजको विग्रहले प्रणाली नै ध्वस्त हुन्छ । अपत्यारिला सवालले आज व्यवस्थामा नै प्रश्न उठेका छन् । सवाल निर्माण हुनु स्वभाविक हो तर त्यसलाई सत्यको कडीबाट छिचोल्ने प्रयास भन्दापनि अझै मलजल गर्नेको संख्या वृद्धि भइरहेको छ । यसको सही निकासको एउटै मात्र उपाय हो शासनकर्ता सिद्धान्त, नीति, कार्यक्रम आधारमा सक्षम हुनु पर्ने । शासनमा कुशलता । शासनमा निस्स्वार्थता । शासनमा रैथाने पन हुनै पर्दछ । अन्यता प्रयोशालामा कयौं प्रयोग हुन्छन् सबै टिकाउ हुँदैनन् । तसर्थ शासन, सिद्धान्त निष्ठ हुनु पर्दछ । शासन जीवन शैलीको विधिमा चल्नु पर्दछ । परिवर्तन खाँचो छ तर बर्षेभेल जस्तो हैन स्थिर ताल जस्तो हुनु पर्दछ । हाम्रो समाजमा अन्तरकुन्तर देखि समग्रमा सकारात्मक प्रभावसहितको परिवर्तन खाँचो छ ।

चतुर्‍याइँ प्रवृतिको मलजल

रुन्चेहरुको हालीमुहाली भएको छ । सक्दा रुवाउने, नसक्दा रुने प्रवृतिको मारमा नेपाली समाज पौँठेजोडी गरिरहेको छ । पारिवारिक कलहदेखि राष्ट्रका उच्चतम सवालमा व्यक्ति रोयरै जितिन्छ भन्ने प्रवृत्तिले मलजल पाएको छ । रोदनले अवसर प्राप्त हुँदैन । आज रोदनको भरमा पाएको अवसर भोली अभिशाप हुन सक्छ । हाम्रो समाजका साना विषय देखि राष्ट्रका विषयमा आफु अनुकुल भए ठिक अरु अनुकुल भए बेठिकको व्याख्याकार उच्च देखि सामान्य व्यक्तिमा प्रयशः पाएको छ ।

नेपाली समाजमा एमसिसि पास हुँदैन, गरिदैन, भएर आफूभन्दा माथिकासम्मलाई कारवाही हुन्छ भन्ने लिखत हैन भिडियो फुटेजसम्म छ्यापछ्याप्ती हेर्न देख्न पाइन्छ । तर तिनै उच्चतम व्यक्तिले करतल ध्वनीका साथ संसदबाट त्यही राष्ट्रघाती भनिएको एमसिसी पास गर्न सबै सहमत भए । विश्वास कसको गर्ने ?  गुरु हर विद्या सर, हाम्रो समाजमा अनावश्यक चतुर्‍याइँले स्थान पाएको छ ।

समाज निर्माणको पहिलो खम्बा विश्वास हो । विश्वास व्यक्तिमा, परिवारमा, समाजमा र शासनमा हुनु पर्छ । तर यहाँ कसैको कसैप्रति विश्वास छैन । आज दिन प्रतिदिन क्याम्पसहरू खालि भइरहेका छन् । विश्वविद्यालय जागिरे प्राध्यापन र कर्मचारीका लागि मात्र भएको छ । अनुसन्धान त परको कुरा अध्ययन गर्ने कक्षागत गणपुरक संख्या छैन । विश्वविद्यालयका र क्याम्पसका कतिपय विभाग विद्यार्थी नहुँदा बन्द गर्नु पर्ने भएका छन् । भएकामा नियमित अध्ययन गर्न आउनेको संख्या एक चौथाई छैन ।

विश्वविद्यालय र क्याम्पसहरुमा परीक्षामा मात्रै सहभागि भएर प्रमाणपत्र आर्जन गर्न पाउने सुखद अवसर लिन आउनेको संख्या तिर्वगतिमा न्यून छ । कारण यहाँको बसेर के पाइन्छ । कक्षा १२ पास विदेश टापको सोच हरेक विद्यार्थीमा छ । जसको सन्तान विदेशमा छैन । त्यो अपमानित हुने अवस्था । सके पढ्ने वहाना, नसके कामदारको रुपमा, त्यसले पनि भएन भने ६० देखि ७० लाख खर्च गरेर आफै विक्रि भएर अमेरिका भाग्ने यो आजको ज्वलन्त समस्या हो । यहाँ बसेर के हुन्छ भन्ने मात्रै निरासावादी अभिव्यक्ति सुनिन्छ । अझ भन्दा शासनमा बसेकाले यो थाहा नपाएका भन्ने हैन, थाहा छ । एकाध बाहेक स्थायी शासक(कर्मचारीतन्त्र) जुन तन्त्र आएपनि जागिर पकाउन व्यस्त छ । फेरबदल हुने राजनीति शासक सके सत्ता टिकाउने नसके आजै हो कमाउने नीतिमा छ । 

नेपालीको प्रमुख पेशा कृषि हो । तर हरियो धनियाँ विदेशबाट आयात हुन्छ । नेपालको वन हरियो धन भनियो तर दाँत कोटर्‍याउने सन्का विदेशबाट आयात हुन्छ । करिब ९७ वटा राष्ट्रिय रणनीति छन् । त्यसमध्ये एकचौथाइ पनि २०७२ पछिका छैनन् । संविधान जारी हुनुभन्दा पहिलेका रणनीति छन् अनि कसरी नीति बने, कसरी नियम बने, के कार्यक्रम बने, कस्तो कार्यान्वय भयो र प्रतिफल के भयो । यसको लेखाजोखा शुन्य छ । उत्तरदाताको पहिचान छैन । प्रश्न गर्ने कसैको सोच छैन, भएको पहुँच छैन ।

अन्तमा,

 यहाँ निराशाको कुरा हैन । यो गन्तव्य हीनताको चर्चा हो । सिंहदरबार विकासको बाधक थियो । एकतन्त्री भयो । शक्ति पृथकीकरण गरियो । तर समग्र हैन अत्यधिक मात्रमा शासक जहाँको भएपनि, जुन तहको भएपनि उही सान, मान र अभिमानको भयो । के अब परिवर्तन संभव छैन । सहज छ । सम्भव छ । त्यो सामान्य कार्य हो । बनेको नीतिको ५० प्रतिशतमात्रै कार्यान्वयन भयो भने परिवर्तन संभव छ । अनि व्यक्ति, परिवार र समाज विश्वासिलो र बलियो बन्छ । मौसमी नारा हैन, व्यवहारिक कार्यान्वयन मात्रै गर्ने हो भने ठूलो पड्को अगाडी बढ्ने छ । दलका नेता, कार्यकर्ताहरु दलीय हुनु पर्‍यो । राजनीतिक नैतिकता हुनु पर्‍यो । अझ भन्दा स्थानीय सरकार सञ्चालन ऐनको स्रोत विभाजनले निर्धारण गरेका ३२ बुँदहरू पहिलो प्राथमिकताका आधारमा कामको सुरुवात भयो भने नेपालको ग्रामीण क्षेत्र साँच्चिकै विश्वको हिमालय देशको मुल देश हुने छ । ग्रामिण नागरिक ४० प्रतिशत खरिद गर्दा ६० प्रतिशत विक्रि गर्ने छन् । यी सबै गर्नका लागि फेरी पनि आवश्यक छ शासन स्वीकार्य हुनु पर्छ । राजनीति चटकेको डम्फु बजाएर जादु देखाए जस्तो हैन । सिद्धान्त, नीति, कार्यक्रम र सवालमा आधारित हुनु पर्दछ । अनि हामीले अयोध्यामा अनुभुति गरेको होस या इपीङ्गमा सुनेको वचन होस । त्यो हाम्रो समाजमा पनि सुनिन्छ । प्रशंसा हुने छ । किनकी हामीले छिमेकीको नाकाबन्दी र त्यस विरुद्ध सरकारले चालेका कदमको समर्थन, सहयोग र प्रशंसा गरेको हैन र ?