संवादहीन शेखर–गगन: एकढिक्का हुनै नसकेको काँग्रेसको इतर समूहकाे बाध्यता !

लोकसंवाद टिप्पणी

संवादहीन शेखर–गगन: एकढिक्का हुनै नसकेको काँग्रेसको इतर समूहकाे बाध्यता !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २८, २०८०

नेपाली काँग्रेसको संस्थापन इतर समूहले करिब एक वर्षपछि काठमाडौंमा भेला गरेको छ । काँग्रेसले मेलमिलाप दिवसको अवसर पारेर सुरु गर्न लागेको महासमिति बैठक अनिश्चित भएका बेला शेखर–गगन समूहले भेला गरी समूहभित्र देखा परेको असमझदारी, महासमिति बैठक, आगामी माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गरेको हो ।

संस्थापन इतर समूहको यो बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापतिसहित तीन दर्जन नेताहरु सहभागी थिए । भेलामा सहभागी सबै नेताहरुले संस्थापन इतर समूहलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका थिए । 

काँग्रेसमा शेखर–गगन समूहको विवाद जान्नुअघि समूहको पृष्ठभूमि हेरौं । सुशील कोइरालाको निधनपछि नेपाली काँग्रेसको तत्कालीन संस्थापन पक्ष छिन्नभिन्न भयो ।

कोइराला हुँदै तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा अघि सारेका थिए । सिटौला सभापतिको उम्मेदवारका रुपमा प्रचारमा रहेकै समयमा कोइरालाको अचानक निधन भयो । कोइरालाको निधनपछि तत्कालीन उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा महाधिवेशन भयो ।

जुन महाधिवेशनमा सिटौला अलग्गै समूह खडा गरेर सभापतिमा प्रतिस्पर्धामा उत्रिए । संस्थापन समूहमा आएको विभाजनको फाइदा शेरबहादुर देउवाले लिए र उनी पौडेललाई हराउँदै पार्टी सभापतिमा निर्वाचित भए । सिटौला नेतृत्वमा सानो तेस्रो समूह बन्यो । सिटौला सभापतिमा उम्मेदवार हुँदा यो समूहबाट गगन थापा महामन्त्रीका उम्मेदवार थिए ।

तर उनी पराजित हुन पुगे । कोइराला भने यो महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए । पार्टीको १४औं महाधिवेशनमा पनि पौडेल सभापतिको आकांक्षी थिए । तर पौडेलको पक्षमा संस्थापन इतर समूह एकजुट भएन । सिटौला ठेउवातिर लागे भने प्रकाशमान सिंह सभापतिका लागि उम्मेदवार बने । शेखर कोइरालाले पनि गगन थापा, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङसहितको प्यानल खडा गरे ।

महामन्त्री थापाले कोइरालालाई नेता मानेर जान आफूलाई कुनै समस्या नभएको बताउँदै संसदीय दलको नेतामा कोइरालालाई अघि सारे । उनले एकताबद्ध भएर संसदीय दलको नेता फेर्न लाग्नुपर्ने र त्यसका लागि आफू शेखर कोइरालालाई सहयोग गर्न तयार रहेको बताए । 

तर यो पटक सभापतिमा शेखर पराजित भए पनि धनराज गुरुङ, गगन थापा महामन्त्रीमा निर्वाचित भए । देउवा समूह छाडेका विश्व प्रकाश शर्मा प्रकाशमान समूहबाट उम्मेदवार बनेर महामन्त्रीमा निर्वाचित भए । शेखर कोइरालाले गत महाधिवेशनमा कोइराला परिवारलाई नै एकजुट बनाउन सकेनन् । शशांक कोइराला देउवा समूहतिर लागे भने सुजाता कोइराला प्रकाशमानको समूहबाट उपसभापतिमा उम्मेदवार बनेकी थिइन् । त्यसयता उनीहरु यो समूहमा अटाएका छैनन् ।

शेखर कोइराला समूहमै रहेका नेताहरु पनि त्यतिधेरै सक्रिय भएनन् । गगन थापा र शेखर कोइरालाबीच गत निर्वाचन पछि निकै ठूलो विवाद, अविश्वास बाहिर आयो । कोइराला र थापाबीच देखिएको संवाद हीनताले उनीहरुको विवाद बढेको झल्को दिइरहेका थिए । 

भेलामा भने महामन्त्री थापाले आफूहरुबीच छलफल नहुँदा समस्या देखिए पनि मूलभूत रुपमा एकै ठाउँमा रहेको बताए । थापाले एकै ठाउँमा रहेको बताउनुअघि शेखर कोइरालासँगको असमझदारी हटाउन मंगलबार अर्जुननरसिंह केसीको निवासमा झण्डै तीन घन्टा छलफल भएको थियो । उनले आफूहरुबीच कार्यशैलीगत सवालमा रहेका असमझदारी संवादबाट हल गर्ने बताए । 

कोइरालाले पनि आफू र महामन्त्री थापाबीच बाहिर आएजस्तो द्वन्द्व नरहेको दाबी गरे । नेता कोइरालाले समूहभित्र अन्तर्द्वन्द्व देखाएर जथाभावी नबोल्न कार्यकर्तालाई निर्देशन पनि दिए । 

महामन्त्री थापाले कोइरालालाई नेता मानेर जान आफूलाई कुनै समस्या नभएको बताउँदै संसदीय दलको नेतामा कोइरालालाई अघि सारे । उनले एकताबद्ध भएर संसदीय दलको नेता फेर्न लाग्नुपर्ने र त्यसका लागि आफू शेखर कोइरालालाई सहयोग गर्न तयार रहेको बताए । 

२०७८ पुसमा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग महामन्त्री थापाले प्रतिस्पर्धा गरेका थिए । जसमा देउवा ६४ मत ल्याएर निर्वाचित हुँदा थापाले २५ मतमात्रै पाएका थिए । त्यसबेला कोइराला र उनको पक्षका कतिपय नेताले थापालाई सहयोग नगरेको गुनासो आएको थियो । संसदीय दलको नेतामा कोइराला समूहमा नरहेका विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसहितका नेताले समेत साथ दिँदा पनि थापाले ठूलो अन्तरले दलको नेताको चुनाव हार्न पुगेका थिए । 

त्यसपछि कोशी प्रदेशमा काँग्रेसको संस्थापन पक्षको निर्णय विपरीत कोइराला समूहका नेता केदार कार्की मुख्यमन्त्री बन्ने अवस्था आउँदासम्म फेरि कोइराला र थापाबीच मनमुटाव देखियो । त्यसपछिको संवादहीन मंगलबारको छलफलले बल्ल टुंग्याएको छ । अब कोइरालाले आफ्नो समूहलाई एकताबद्ध बनाएर गत दुई महाधिवेशनमा छरिएका समूहलाई पनि एक ठाउँमा ल्याएर संस्थापन पक्षलाई हराउने गरी अघि बढ्छन् वा यस्तै साना विवादमा अल्झिएर अर्को पटक पनि इतर समूहकै रुपमा रहन्छन्, त्यो भने अहिल्यै भन्न सकिन्न । तर काँग्रेसको संस्थापन इतर समूह पछिल्ला वर्षमा प्रभावकारी बन्न नसकेको चै प्रष्ट देखिन्छ ।