सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रणमा पूर्व महानिरीक्षकहरूको अर्ती

सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रणमा पूर्व महानिरीक्षकहरूको अर्ती

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३०, २०८०

 काठमाडौँ ।    सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षा अवस्था बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्नुहुँदै अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्ति विकासका लागि मार्गदर्शक समेत हुने बताउनुभयो ।

सो अवसरमा सीमा सुरक्षा, मानवश्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमश नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा बंशीराज दाहालले आ–आफ्नो विभागीय गतिबिधि प्रस्तुत गर्नुभएको थियो ।

खासगरी सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिकाका सन्दर्भमा यस सँग सम्बन्धित कानूनी प्रावधान, सीमा सुरक्षार्थ प्रविधिकरणका सम्भावना र चुनौती, सीमा व्यवस्थापनमा भएका प्रयासका विषयमा छलफल भएको थियो । 

यसैगरी सुरक्षा निकाय र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक बिचको सम्बन्ध विकास, सीमा सुरक्षामा अन्तरनिकाय समन्वय र सहयोग, राजश्व चुहावट नियन्त्रणका लागि गर्नुपर्ने प्रयासका बिषयमा समेत छलफल केन्द्रित थियो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, कोषराज वन्त, सिहँ बहादुर श्रेष्ठ र पुष्पराम के.सीले समयानुकुल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकोले त्यसै अनुरुप लाग्नुपर्ने बताउनुभयो । सीमा सुरक्षामा स्थानीय जनता सँगको सहकार्य महत्वपूर्ण हुने भएकोले संगठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । 

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकहरु, नायव महानिरीक्षकहरुले पनि सीमा सुरक्षा र संगठनको बृहतर हितको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।