रिलायन्स साहित्य समाजद्वारा प्रा.डा. हेमनाथ पौडेल र युवाकवि हेम प्रभास सम्मानित

रिलायन्स साहित्य समाजद्वारा प्रा.डा. हेमनाथ पौडेल र युवाकवि हेम प्रभास सम्मानित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १, २०८०

काठमाडौँ  । रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत स्थापित रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स  युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गरेको छ ।

रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर 'राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम' आयोजना गर्दै आएकोमा यस वर्ष मिति २०८०र०८र३० गते शनिबार स्रष्टा सम्मान कार्यक्रमअन्तर्गत नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व वरिष्ठ साहित्यकार र समालोचक एवं प्राज्ञ प्रा.डा. हेमनाथ पौडेललाई रिलायन्स साहित्य स्रष्टा सम्मान तथा युवा कवि हेम प्रभासलाई रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरेको छ ।

बरिष्ठ साहित्यकार एवम् प्राज्ञ तिलविक्रम नेम्बाङ (वैरागी काइँला) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेललाई २५ हजार ५  रुपयाँ राशिको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरियो । सो अवसरमा श्रीमती टीकादेवी पौडेललाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  त्यसैगरी युवा कवि हेम प्रभासलाई ११ हजार ५  रुपयाँ राशिको रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरिएको छ । 

रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री रविन्द्रजंग थापाको अध्यक्षता तथा वरिष्ठ साहित्यकार र समालोचक तिल विक्रम नेम्वाङ (वैरागी काइँला) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ कवि कलानिधि दाहाल, प्रा.डा. देवी नेपाल, प्रा.डा. रुद्रप्रसाद पौडेल, कवि एवं प्राध्यापक रोहित पौडेल, साहित्यकार रमेश शुभेच्छु, रुपक अलंकार, बलराम दाहाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मानबाट विभिन्न  व्यक्तित्वहरु सम्मानित भइसक्नु भएको छ  । काठमाडौँ उत्तरपूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कविहरूले आफ्नो रचना वाचन गर्नुभएको थियो । कविता वाचन गर्नेहरूमा सविता बराल, रूपक अलङ्कार, शिवराज लामिछाने, दिग्विजय लामिछाने, हेमप्रभास, उत्सव ढुङ्गाना, बलराम दाहाल आदि हुनुहुन्थ्यो । 

समारोहमा डा. देवी नेपालले शुभकामना एवं बधाई मजन्तव्य र डा. रमेश शुभेच्छुले सम्मानित स्रष्टा प्रा.डा. हेमनाथ पौडेलको व्यक्तित्व र नेपाली साहित्यमा उहाँको पुर्याउनुभएको  योगदानबारे चर्चा गर्नुभयो । डा. पौडेलले सम्मानपश्चात् कार्यक्रममा बोल्दै रिलायन्स इन्टरनेसनल एकेडेमी र रिया साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको भन्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् प्राज्ञ तिलविक्रम नेम्वाङ (वैरागी काइँला)ले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर बर्सेनि सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटाका साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताउनुभयो । 

रिलायन्स साहित्य समाजद्वारा आयोजित ‘चौधौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता’मा राष्ट्रका २४ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर २९ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट ५ वक्ताहरू छानिएका थिए र ३० गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच ५ प्रतियोगीहरूबिच अन्तिम प्रतिशस्पर्धा गराइयो । 

प्रतियोगितामा महेश संस्कृत गुरुकुलम्, देवघाटका छात्र दिग्विजीय लामिछाने प्रथम, टाइम लाइन स्कुल, जोरपाटीकी छात्रा आर्या कार्की द्वितीय, रिपुमर्दनी सैनिक मा।वि।का छात्र सुतृष्ण पौडेल तृतीय, एवम् संस्कृत मावि रानीपोखरीका, छात्र विजय तिमल्सिना र कन्तिभैरव गुरुकुलम्, उत्तरवाहिनीका छात्र गणेश पराजुलीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरियो । कार्यक्रम रिलायन्स साहित्य समाजका अध्यक्ष दामोदर निरौलाको संयोजनमा सम्पन्न भएको थियो ।