रुसी सेनामा कार्यरत नेपालीको मृत्यू : न शव, न क्षतिपूर्ति नै !?

रुसी सेनामा कार्यरत नेपालीको मृत्यू : न शव, न क्षतिपूर्ति नै  !?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २, २०८०

रुसी सेनामा गएका थप एक नेपाली युवकको मृत्यु भएको पुष्टि भएको छ । रुस–युक्रेन युद्धका क्रममा कैलाली टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको पुष्टि  भएको हो ।

उनको मंसिर १० गते नै मृत्यु भए पनि परिवारले ढिलागरी जानकारी पाएको हो । गत साउन ३० गते संयुक्त अरब इमिरेट्स (युएई) को दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । तर उतैबाट उनी रुस गएको बताइएको छ । 

केही दिनअघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा नेपालीहरु रुसी र युक्रेनी दुवै देशका सेनाका तर्फबाट युद्धमा सहभागी भएको बताएका थिए । नेपालबाट रुसी सेनामा भर्ती हुने कुनै नियम र आधिकारिक प्रक्रिया छैन । त्यसैले रुसी सेनामा कति नेपाली गएका छन् भन्ने प्रष्ट छैन । तर रुसी सेनामा मात्रै ४–५ सयसम्म नेपाली युवाहरु सहभागी भएको हुनसक्ने अनुमान छ । नेपालबाट भिजिट भिसासहित विभिन्न च्यानल मिलाएर रुसी सेनामा भर्तीका लागि पठाउने समूह नै केही दिनअघि पक्राउ परेको थियो । यसबाटै नेपालबाट अवैध रुपमा रुसी सेनामा नेपालीहरु गइरहेको पुष्टि हुन्छ । 

नेपाल सरकारले यसरी अवैध रुपमा रुसी सेनामा भर्ना हुन पुगेका नेपाली नागरिकलाई फर्काउने प्रयास अघि बढाइरहँदा रुसी राष्ट्रपतिको कार्यालयले भने नेपालीहरू रुसी सेनामा कार्यरत रहेको र उनीहरुको मृत्युबारे कुनै जानकारी नभएको जनाएको छ ।

रुसी राष्ट्रपतिको प्रेस तथा सूचना कार्यालयले बीबीसी नेपालीसँग रुसी सेनामा नेपाली रहेको जानकारी नभएको जवाफ दिएको हो । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०० जना भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको हुनसक्ने बताएका थिए । उनले नेपालीहरु युक्रेनी सेनामा पनि कार्यरत रहेको सूचना पाएको जनाएका थिए । परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको र उनीहरुको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारसँग माग गरेको थियो । त्यसलगत्तै रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको खबर बाहिर आएको हो । 

रुसले आफ्नो सेनामा भर्ना हुन आकर्षण गर्नका लागि रुसी सेनामा भर्ना भएर एक वर्ष सेवा गरेपछि रुसी नागरिक बनाउने निर्णय यसअघि गरेको थियो । करिब दुई साताअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुस युक्रेनबीचको लडाइँका क्रममा रुसको पक्षबाट लड्दा मारिएका ६ जना नेपालीको नाम र ठेगाना समेत उल्लेख गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले क्रेमलिनलाई कूटनीतिक नोट पठाउँदै परम्परागत रूपमा सम्झौता भएका देशहरू बाहेक अन्य देशहरूका सेनामा नेपाली नागरिकहरूलाई भर्ना हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको जानकारी गराएको थियो । कूटनीतिक नोटमा नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुस सरकारसँग माग गरेको थियो । यसको जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले यस बारेमा कुनै जानकारी नभएको र रुसी सेनामा कुनै विदेशीले सेवा गर्न नपाउने उल्लेख गरेको छ । 

त्यसो त नेपाली नागरिक रुसी सेनामा रहेको विषय यसअघि रुसी सेनाले नै स्वीकार गरेको थियो । रुसले आफ्नो सेनामा भर्ना हुन आकर्षण गर्नका लागि रुसी सेनामा भर्ना भएर एक वर्ष सेवा गरेपछि रुसी नागरिक बनाउने निर्णय यसअघि गरेको थियो । करिब दुई साताअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुस युक्रेनबीचको लडाइँका क्रममा रुसको पक्षबाट लड्दा मारिएका ६ जना नेपालीको नाम र ठेगाना समेत उल्लेख गरिएको थियो ।

रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालीहरु रुसी सेनामा गएको र उनीहरुको मृत्यु भएको खबर आफूले पाएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले रुस युक्रेन युद्धमा सहभागी नेपालीको उद्दार गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै रुसी सेनामा रहेका नेपालीहरू घाइते रहेको र केही विपक्षी सेनाको कब्जामा रहेको भन्दै उनीहरुको उद्धार गर्न भनेको छ । प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

सरकारले अध्ययन वा भ्रमण भिसामा गएका व्यक्तिहरू रुसी सेनामा भर्ना भएको पाइएपछि यो नीतिमा सरकारले कडाई गरेको छ । नेपाल प्रहरीले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पठाउन सक्रिय रहेको गिरोहलाई कडा निगरानी गरिरहेको छ । रुसी सेनामा भर्तीका लागि नेपालीहरूलाई अवैध बाटोबाट मस्को पु¥याउने कार्यमा संलग्न भएको आरोपमा शैक्षिक परामर्श दिने कतिपय ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जना पक्राउ परेका थिए । तर रुसी राष्ट्रपति कार्यालयको भनाई हेर्दा त्यहाँ पुगेर ज्यान गुमाएका नेपालीको शव ल्याउन र क्षतिपूर्ति पाउन निकै कठिन हुने देखिएको छ ।