देउमाई नगरपालिका: साठी वर्षका २०७ एकल पुरुष तथा ४५ वर्षका अविवाहित महिला र तेस्रो लिङ्गीलाई भत्ता

देउमाई नगरपालिका: साठी वर्षका २०७ एकल पुरुष तथा ४५ वर्षका अविवाहित महिला र तेस्रो लिङ्गीलाई भत्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २, २०८०

इलाम ।  एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । 

देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ । 

देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिनुभयो । 

चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले रु पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि रु २८ लाख विनियोजन गरेको छ । 

एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताउनुभयो । “सङ्घीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले एकल पुरुषलाई पनि भत्ता दिन थाल्यौँ”, नगरप्रमुख पोख्रेलले भन्नुभयो, 'यसले एकल महिला र एकल पुरुष दुवैलाई जीवन सहज बनाउन थोरै भए पनि सहयोग मिलेको छ ।'

अविवाहित महिला र तेस्रो लिङ्गीलाई भत्ता

त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक रु एक हजार र तेस्रोलिङ्गीलाई मासिक रु पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले १० लाख ५६ हजार पाएका छन् । 

चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताउनुभयो ।