सतिशलालसँग नेताको कनेक्सन: एनसेल प्रकरणमा परिवार जोडेकोमा प्रधानमन्त्रीको आपत्ति !

सतिशलालसँग नेताको कनेक्सन: एनसेल प्रकरणमा परिवार जोडेकोमा  प्रधानमन्त्रीको आपत्ति !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणबारे आफ्ना दुई तर्क पेश गरेका छन् । पहिलो उनले एनसेलको सेयर बिक्री पारदर्शी नभएको र गडबडीको आशंका आफूलाई पनि लागेको बताएका छन् भने दोस्रो एनसेलको स्वामित्व खरिद गर्ने व्यापारीसँग आफूसहित ठूला दलका शीर्ष नेताको चिनजान र सम्बन्ध रहेको बताएका छन् । यद्यपि उनले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा अनुहार हेरेर निर्णय नगर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग आफ्नो मात्रै नभई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रो चिनजान रहेको स्वीकार गरे । एनसेलको स्वामित्व बिक्रीबारे सांसदका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल गर्न आफूले पनि पहल गरेको दाबी गरे । सांसदहरुका प्रश्नका जवाफ दिँदै उनले भने, ‘अहिले जालझेल भएकै छ भन्ने मलाई पनि लागेको छ । मैले हेर्दा पहिलो दृष्टिमै गडबड भएकै छ । कर छल्ले पनि छ, स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ ।’

एनसेलबाट बाहिरिएको आजियाटाले ८० प्रतिशत सेयर सतिशलाल आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई बेचेको थियो । नेपालको नियामक निकायको स्वीकृति नलिई अस्वाभाविक रुपमा सेयर बिक्री भएपछि चौतर्फी प्रश्न उठेको छ ।

‘परिवारमा तीन जना सदस्य छौं । एउटी छोरी भरतपुर महानगरपालिकामा मेयर छ । ऊ उतै बढी इन्गेज हुन्छ । एउटा छोरी छ, बिचरा त्यो कस्ती छ तपाईंहरुले थाहा पाउनु भएकै छ’, उनले भने, ‘उसलाई जोडेर बनाएको छ, उचालेको छ, यो वास्तवमा संविधान र सिष्टम, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो ।’

प्रधानमन्त्री प्रचण्डले बिक्री गरेको सेयरको मूल्यांकन कम गरिएपछि एनसेलको सेयर बिक्री पारदर्शी र प्राकृतिक नभएको देखिएको बताए । समितिमा सांसदहरूले विसं २०८६ पछि एनसेलको विदेशी कम्पनीको नाममा रहेको सेयर नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था छल्न एनसेलको सेयर बिक्री गरिएको आशंका समेत गरेका थिए । 
सांसदहरूले प्रधानमन्त्री लगायत नेपालका शीर्ष नेताहरूको एनसेलको सेयर खरिद गरेका आचार्यसँगको सम्बन्धबारे पनि प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूसहित पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि एनसेलको सेयर किनेका सतिशलाल आचार्यसँग चिनजान भएको र सिंगापुरस्थित निवासमा कुनै समय बास बसेको बताए । ‘म ति मान्छे सबैलाई राम्रो चिन्छु । मेरो श्रीमती बिरामी भएको बेला तीनै साथीहरूकोमा सिंगापुरमा गएको छु । दुईचोटि बसेको छु । शेरबहादुरजी जाँदा पनि बस्नुभाछ । केपी ओली जाँदा पनि बस्नुभाछ’, उनले भने, ‘तर त्यसको अर्थ राष्ट्र र जनताको विरुद्ध, ऐन कानुन र हाम्रो संविधानका विरुद्ध, प्रणालीका विरुद्ध कोही जान्छ भने जोसुकै होस् भन्नेमा हामी त लड्न तयार भएको हो नि त । त्यसकारण मानिँदैन । चिने जानेको नाताले अनुहार हेरेर मानिँदैन ।’

सिंगापुरको नागरिकता भएका सतिशलालले बेलायतमा स्पेक्ट्रलाइट युके लिमिटेड कम्पनी खोलेर आजियाटाको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर किनेका हुन् । आजियाटाले एक अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको सेयर हाल ५० करोड अमेरिकी डलरमा बिक्री गरेको बाहिरिएपछि एकपटक फेरि एनसेल प्रकरण चर्चाको विषय बनेको हो । 

२१ मंसिरको मन्त्रिपरिषद बैठकले एनसेलको सेयर खरिद बिक्रीबारे अध्ययन गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक महिनाको अवधि दिइएको छ । प्रधानमन्त्री प्रचण्डले समितिले एनसेल प्रकरणमा दूरसञ्चारको कार्यक्षेत्रलाई कुनै असर नगर्ने पनि जनाएका छन् । 

 

तर उनले एनसेलको प्रकरणमा आफ्नो परिवारलाई जोडेकोमा भने आपत्ति जनाए । खासगरी यो प्रकरणमा प्रधानमन्त्रीकी स्वकीय सचिव समेत रहेकी उनकी छोरी गंगा दाहाल जोडिएको आरोप लागेपछि प्रचण्डले बचाउ गरेका हुन् । ‘परिवारमा तीन जना सदस्य छौं । एउटी छोरी भरतपुर महानगरपालिकामा मेयर छ । ऊ उतै बढी इन्गेज हुन्छ । एउटा छोरी छ, बिचरा त्यो कस्ती छ तपाईंहरुले थाहा पाउनु भएकै छ’, उनले भने, ‘उसलाई जोडेर बनाएको छ, उचालेको छ, यो वास्तवमा संविधान र सिष्टम, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो ।’

प्रचण्डको एनसेल प्रकरणमा आफूसँगै जोडिएका भए पनि दोषीलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन हेर्न बाँकी छ । तर प्रचण्डको परिवार कुनै काण्डमा जोडिएमा त्यो संलग्नता नरहेको पुष्टि गर्ने वा आरोप लगाउनेले प्रमाणित गर्ने चुनौती हुनसक्छ । तर प्रचण्डको परिवार जोडिएको आरोप लाग्नु गणतन्त्र र संविधान विरुद्धको कदम भने मान्न सकिदैन ।