रविमाथि मकैको खोयो ! नेतामाथिको आक्रमण फेसन कि आक्रोशको परिणाम !?

लोकसंवाद टिप्पणी

रविमाथि मकैको खोयो ! नेतामाथिको आक्रमण फेसन कि आक्रोशको परिणाम !?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि शनिबार दिउँसो पोखराको अमरसिंह चौरमा सार्वजनिक कार्यक्रममा सन्तोष रानाभाट नाम गरेका व्यक्तिले मकैको खोयो प्रहार गरे ।

त्यसो त एक साता अघिमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी यात्राका क्रममा धनकुटाको लेगुवामा स्थानीय महेश राईले मुक्का प्रहार गर्ने कोशिस गरेका थिए ।

नेतामाथि यसअघि देखि नै विभिन्न ठाउँमा यस्ता सांघातिक हमला भएका छन् । झण्डै १० वर्षअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापानका समयमा हात मिलाउने लाइनमा बसेर पदम कुँवर नाग गरेका एक व्यक्तिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि झापड हानेका थिए भने सुनसरी पुगेका बेला पूर्वप्रधानमन्त्री तथा हाल एकीकृत समाजवादीका सम्मानित नेता रहेका झलनाथ खनाललाई एमाले अध्यक्ष भएको समयमा एक वृद्धले चट्कन हानेका थिए । 

पछिल्लो समयमा आफ्ना आक्रोश व्यक्त गर्न देखि चर्चामा आउन कै लागि पनि यस्ता घटना हुन थालेका हुन् कि भन्ने आशंका बढ्न थालेको छ । देशको अवस्थाको आक्रोश पोख्ने अन्य धेरै माध्यम हुँदाहुँदै सांघातिक हमला गर्नुलाई जायज मान्न सकिदैन । स्मरणीय कुरा के छ भने यसरी नेतामाथि प्रहार गर्ने व्यक्तिहरु सामाजिक, राजनीतिक अगुवा वा कुनै न कुनै योगदान भएका भन्दा सामान्य मानिसहरु बढी देखिन्छन् ।  

पछिल्लो समयमा जीबी राईको सहकारी टाट पल्टिएको घटनामा रविलाई पनि जोडिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । जीबी राई नेतृत्वको समूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको आरोप छ । रवि लामिछाने राजनीतिमा आउनु अघि जीबी राई समूहको लगानी रहेको सहकारीमार्फत सञ्चालित टेलिभिजनमा कार्यरत थिए ।

शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक कार्यक्रममा सम्बोधन गरिरहेका बेला एक व्यक्तिले यसरी नै खोयो प्रहार गरे । उनले देशभरी कलकारखाना बन्द भइरहेको, सटरहरु बन्द भइरहेको, व्यवसायी पीडामा रहेको बताइरहेका बेला लामिछानेमाथि ती व्यक्तिले दर्शक दिर्घाबाट मकैको खोयो प्रहार गरेका थिए । 
खोयो प्रहार गर्ने व्यक्तिलाई प्रहरी र रास्वपाका कार्यकर्ताले नियन्त्रणमा लिए । सम्बोधन गरिरहेका लामिछानेले आफूमाथि खोयो प्रहार गर्नेलाई केही नगर्न अनुरोध गरे । तर प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार पक्राउ परेका व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण रानाभाटका आफन्त भएको पत्ता लागेको छ । पहिला अटो चालक रहेका उनी पछिल्लो समयमा यत्तिकै घुमि हिड्ने आवारा भएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।उनलाई कतिपय मिडियाले सहकारी पीडित भएको बताए पनि यनी कुनै सहकारीबाट ठगिएका पीडित नभएको थापाले बताएका छन् । 

आफूमाथि खोयो प्रहार भएपछि रास्वपा सभापति लामिछानेले भने त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै खान र सहन तयार भएर नै राजनीतिमा आएकाले यस्तो एउटा खोयोले कुनै असर नपार्ने बताए । उनले प्रहरीलाई पनि आफूमाथि आक्रमण गर्नेलाई छाडिदिन आग्रह गरे । 

‘सुरक्षाकर्मीहरुलाई विनम्रतापूर्वक अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने  फूल दिएर उहाँलाई घर पुर्‍याइदिनुहोला । देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएका आधारमा तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पुर्‍याइ दिनुस् । यत्ति अधिकार मलाई दिनुहोला’, उनले भने । 

रवि लामिछानेमाथि सूर्य दर्शन सहकारीको रकम हिनामिनाको आरोप लगाएकोमा पनि उनले आक्रोश पोखेका छन् । उनले आफूले सहकारीबाट नठगेको बरु कीर्ते कागजातको सिकार भएको बताएका छन् । कार्यक्रमका क्रममा पनि उनले आफू कुनै पनि अपचलनमा सहभागी नभएको स्पष्टीकरण दिए ।

पछिल्लो समयमा जीबी राईको सहकारी टाट पल्टिएको घटनामा रविलाई पनि जोडिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । जीबी राई नेतृत्वको समूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको आरोप छ । रवि लामिछाने राजनीतिमा आउनु अघि जीबी राई समूहको लगानी रहेको सहकारीमार्फत सञ्चालित टेलिभिजनमा कार्यरत थिए । रविमाथि खोयो प्रहार गर्ने व्यक्ति सूर्यदर्शनको बचतकर्ता भएको चर्चा गरिएको थियो । तर प्रहरीले त्यसको खण्डन गरेको छ ।