खोपासीको निःशुल्क स्वास्थ्य शिविरमा बुबाआमाहरुको निकै भिडभाड

खोपासीको निःशुल्क स्वास्थ्य शिविरमा बुबाआमाहरुको निकै भिडभाड

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ८, २०८०

काभ्रे ।  खोपासीको सहारा जेष्ठ नागरिक समाजमा बिहानै देखी धेरै बुबाआमाहरुको निकै भिडभाड भएको थियो ।

लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा १ सय ३ जनाले बाथ तथा नशा रोग सम्बन्धी स्वास्थ्य जाँच गराए । काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सञ्चालन भयो ।

उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरका अध्यक्ष गुरु अधिकारीले उपस्थित सबै जनालाई स्वागत गर्दैं सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद दिनुभयो ।

ग्रामिण भेगमा आएर यसरी वृद्धवृद्धा, दिनदुःखी तथा अशक्त वासिन्दा हरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको लायन्स क्लब जे डिष्ट्रिकका गर्भनर हरि मरहठ्ठाले बताउनुभयो ।

आगामी दिनहरुमा पनि यो भेगमा यस्तो खालको कार्यक्रमहरु गरिने आयोजक लायन्स क्लबका जोन चियरपर्सन तथा काठमाण्डौं युनाइटेड सेन्टरका पुर्व अध्यक्ष रोशन कुमार श्रेष्ठले बताए ।
उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे परामर्श दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् ।

सहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यसरी बिगत ३ वर्ष देखी निरन्तर निःशुल्क स्वास्थ्य शिविरमा टाढा – टाढाको ग्रामिण भेगका धेरै सेवा ग्राहीहरुले सुविधा लिएकोले खुशी हुंदै सबै आयोजकहरूलाई सम्मान गर्दै, उक्त शिविरमा धेरै वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकै सफल भएको बताए ।