साहित्यिक पत्रकार सङ्घको कविता यात्रा: दोलखास्थित कालापानीमा 'स्रष्टा घर'को शिलान्यास

साहित्यिक पत्रकार सङ्घको कविता यात्रा: दोलखास्थित कालापानीमा 'स्रष्टा घर'को शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ९, २०८०

दोलखा । साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भएकाे संघले जनाएको छ  । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दिएको जानकारी अनुसार  शैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङ् मा आयोजना गरेको ‘तीनदिने कविता यात्रा– २०८०’ पुस ६ गते शुक्रबार शैलुङ्, भैसेस्थित शारदा मा. वि. मा सम्पन्न भएको  छ । 

काठमाडौबाट गएका स्रष्टा र कलाकारहरूलाई पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु-विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत गरेको थियो । 

सोही दिन जेष्ठ नागरिक सेवा भवन, चरणावती धाममा स्रष्टाहरूलाई विशेष स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जेष्ठ नागरिक सेवा भवन, चरणावतीका अध्यक्ष गुणबहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको थियो । 

दोस्रो दिनको बिहान समाजसेवी एवं गीतकार शोभित उप्रेतीको पहरीखर्क, भैंसेस्थित घरमा स्वागत एवं चियापानको आयोजना गरिएको थियो भने सोही दिन शैलुङ् गाउँपालिका वडा ८ ले गाउँपालिका भवनमा विशेष स्वागत सम्मानको कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष धनबहादुर तामाङ, वरिष्ठ कलाकर मदनदास श्रेष्ठ, सापसका अध्यक्ष राधेश्याम लेकाली सहितले मन्तव्य राख्नु भएको थियो । यसअघि स्रष्टाहरूले चरणावती धामका विभिन्न धार्मिक एवं पर्यटकीय स्थानको अवलोकन गरेका थिए । 

दोस्रो दिन नै कविता यात्राका सहभागी स्रष्टाहरूले ५३४ मिटर उचाई रहेको शैलुङ्को थुम्कामा काव्य वाचन गरेका थिए । काव्य वाचन गर्ने कविहरूमा क्रमशः  कवि नरेन्द्रबहादुर श्रेष्ठ, रामप्रसाद पन्त, प्रा. डा. गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा.बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी र सापसका अध्यक्ष राधेश्याम लेकाली लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो । 

सबै कविले देशको बारे लेखिएका कविता वाचन गर्नु भएको थियो । सोही दिन कलाकार रन्जना थपलियाले सोही स्थानमा नृत्य प्रस्तुत गर्नु भएको थियो ।  दोस्रो दिन स्रष्टाहरू कालापानीमा बास बसेका थिए । 

तेस्रो दिन साहित्यिक पत्रकार संघको विशेष प्रस्तावमा कालापानीमा समाजसेवी शोभित उप्रेतीले उपलब्ध गराउनु भएको ५ आना जग्गामा 'स्रष्टा घर' निर्माणको लागि शिलान्यासको कार्यक्रम सम्पन  भएको थियो । सो शिलान्यासको विधिवत्  कार्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो भने कवि मुरारि सिग्देलले विधि पूरा गराउनु भएको थियो । सो अवसरमा वडा अध्यक्ष धनबहादुर तामाङ, निवर्तमान वडा अध्यक्ष भरतप्रसाद दुलाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, एस। एस। फाउन्डेसन, दोलखाका संयोजक नवराज खड्का राजाबाबु,  समाजसेवी रुद्र थपलियालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

सोही दिन स्रष्टाहरुलाई शैलुङ् गाउँपालिका वडा ८ ले भैंसेमा पन्चेबाजाले स्वागत गर्दै बजार परिक्रमा गराएको थियो । सो अवसरमा अतिथिहरूलाई शारदा मा। वि। का विद्यार्थीहरूले ताली बजाएर, नमस्कार अभिवादन गरेर स्रष्टाहरूको स्वागत गरेको थियो । 

कविता यात्राको अन्तिम दिन र अन्तिम कार्यक्रमको रुपमा शारदा मा। वि। को प्राङ्गणमा विशेष काव्य वाचन र सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । 

शैलुङ् गाउँपालिका ८ का वडा अध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शैलुङ्को महत्वबारे र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यात्राको उद्देश्य  र महत्वबारे आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा शारदा मा। वि।मा अध्ययनरत विद्यार्थीहरू क्रमशः सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी र सविना थापा तथा शिक्षक शिव बुढाथोकीले शैलुङको बारे आआफ्नो कविता वाचन गर्नु भएको थियो । 

यसैगरी राजधानीबाट जानु भएका कविहरू क्रमशः कवि मुरारि सिग्देल, नरेन्द्रबहादुर श्रेष्ठ, प्रा. डा. गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा। बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी, रितु कंडेल, राधेश्याम लेकाली लगायतले आआफ्नो कविता वाचन गर्नु भएको 
थियो । 

कार्यक्रमको दोस्रो सत्रमा प्रसिद्ध गायकहरू नवीन पौडेल, रितु कडेल र नरहरि प्रेमीले दमदार गीतहरू गाउनु भएको थियो भने नृत्यकार रन्जना थपलियाले बेजोड नृत्य प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा वाचन गरिएका कविताहरूले सामाजिक रुपान्तरण, देशको वर्तमान अवस्था, विकृति र विसंगति तथा वर्तमान राजनीतिक दुराअवस्थाबारे व्यङ्ग्य गरेका थिए भने गायकहरूले गाएका गीतहरुमा देशमा व्याप्त भ्रष्टाचार विरुद्ध सामाजिक जागरणका गीतहरु गाउनु भएको थियो । गायन भइरहँदा उपस्थित विद्यार्थी, शिक्षक र स्थानीयबासीहरूले स्वतस्फूर्त सामूहिक  नृत्य गर्नु भएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरतप्रसाद दुलाल, शैलुङ गाउँपालिका वडा ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, वडा ६ का अध्यक्ष दीपक  बस्नेत, जेष्ठ नागरिक भवन, चरणावतीका अध्यक्ष गुणबहादुर बुढाथोकी, समाजसेवी केशव चौलागाईं, समाजसेवी नवीन शाही, शारदा मा. वि. का प्र अ। मानबहादुर तामाङ, चण्डीका मा. वि. का प्र. अ. ढालबहादुर थापा, शैलुङ्गेश्वर आदर्श मा. वि. का खेलबहादुर श्रेष्ठ, वडा सदस्यहरू क्षेत्रकुमारी कार्की, सुन्तली  वि। क।, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का, चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष पुरुषोत्तम ठकुरी, पत्रकारहरु गोकर्ण भण्डारी, जीवन लामा, पुष्पा थपलिया, हेम थपलिया, समाजसेवीहरू रुद्र थपलिया, सविना शेरचन, श्रीमती रुद्र थपलिया लगायत दोलखाका पत्रकार, समाजसेवी, स्थानीयबासीको बाक्लो  उपस्थिति रहेको थियो । 

दोस्रो चरणमा सांस्कृतिक कार्यक्रममा बालकलाकार रन्जना थपलियाको नृत्य ,गायिका रितु कडेल,गायक संगीतकार नरहरि प्रेमीको गीत र गायक नवीन पौडेलको गीतले शैलुङ् उचालिएको थियो । 

कार्यक्रममा दायित्वका सम्पादक रामप्रसाद पन्त र  पत्रकार पुष्पा थपलियाको सकृय सहभागीता रहेको थियो । 

सर्जकहरूलाई देश दर्शन गराउन, मोफसल र केन्द्रका सर्जकबीच सम्बन्ध गराउन कविता यात्राको शुरुवातत  सापसले गरेको हो । यसपटकको शैलुङको यात्राको संस्मरण समेटेर किताब  समेत प्रकाशन गरिने भएको छ । सापसका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराउनु भएको थियो । 

कविता यात्रामा सहभागी साहित्यकारहरूले चरिकोट, चरणावती धाम, राम पाइला, सीता चुलो, बौद्ध छ्योर्तेन, मुक्तेश्वर पत्थर, भिमानीथान, फलाम पोखरी, जुरे ढुंगा,  महादेव, ढाड खोस्याउने ठाउँ, गाई ढुङा, घुडा दुख्दा दल्ने ढुङ्गा, बाघ ढुङा, गङ्गटो ढुङा, जोर धारा, बाघखोर, गङटो ढुङा, शैलेश्वर महादेव, धर्मद्वार, गोदावरी फूल्ने ठाउँ, दाईं गर्ने डाँडा, १०० थुम्का, ग्रेटबाल, टावर, भिमसेनको तरबार, विज्ञान पार्क, भिमानीथान आदि ठाउँको जानकारी र भ्रमण गर्नु भएको थियो । 

तामाकोशी, चरणावती, गोपी नदीको त्रिवेणी घाटमा पुगेर सर्जकहरूले जल सेचन गरि पुर्खालाई तर्पण गर्नु भएको थियो ।